• २०८१ बैशाख १२ बुधबार

जथाभावी तार टाग्ने इन्टरनेट कम्पनीका कर्मचारी वडा कार्यालयको पहलमा पक्राउ 

kharibot

काठमाडौं । आफ्नो तार जडान गरेर अरुको तार काटिदिएको, जथाभावी तार टाँगेर सहरलाई कुरुप र जोखिमपूर्ण बनाएको जनाउँदै महानगरको वडा नं. १६ ले ३ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीका कर्मचारीलाई बुधबार प्रहरीमा बुझाएको छ । 

बालाजु वाइपास क्षेत्रमा तारको काम गरिरहेको बेला प्रतिनिधिमुलक ३ जना कर्मचारी र २ वटा  सवारी प्रहरीले नियन्त्रण लिएको थियो । यसरी नियन्त्रणमा लिइएका कर्मचारीहरु, वल्र्ड लिङ्क, भायोनेट र नेट म्याक्सका कर्मचारी थिए । उनीहरु दिनको २ बजे पक्राउ परेर आज (विहीबार) ११ बजे हाजिर हुने शर्तमा वुधबारै साँझ ५ बजे छोडिएका थिए ।

यही शर्तबमोजिम विहीबार विहान ११ बजे, इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसन अफ नेपालका कोअर्डिनेटर विनोद जोशीको नेतृत्वमा कम्पनीका प्रतिनिधि वडा कार्यालय पुगेर वडाध्यक्षसँग आफ्ना समस्या बुझिदिन आग्रह गरेका थिए । यस क्रममा जोशीको भनाइ थियो — व्यवस्था गर्न हामी पनि प्रतिवद्ध छौं, तर के गर्ने भन्ने उपाय नहुँदा अलमल्ल छौं । यो अवस्था छ भनेर, सेवा रोक्नु पनि भएन । अव के गर्ने बाटो देखाइदिनुपर्यो । 

आफूकहाँ आएका इन्टरनेट सेवा प्रदायकको कुरा सुनेपछि वडाध्यक्ष मुकुन्द रिजालले भने — पोलमा जेलिएका तार सहरबासीका लागि धराप भएका छन् । यी पासोमा को कहिले पर्छ? र कस्तो खालको जोखिम व्यहोर्छ । अनुमान गर्न कठिन छ । सहरी सुरक्षाका लागि हामीले राखेको सिसिटिभि क्यामराको तार छुटेको छ, यसको जिम्मेवारी लिनु पर्छ कि पर्दैन? यो अवस्थाबाट सहरी अवस्थालाई मुक्त गर्न इन्टरनेट सेवा प्रदायक जिम्मेबार हुनै पर्छ । 

छलफलका क्रममा सहरी जोखिम व्यवस्थापनमा दुवै पक्ष जिम्मेवार हुनुपर्ने कुरा केन्द्रीय विषय थियो । यस क्रममा अहिले परेको समस्या समाधानका लागि सरोवारवालावीचको छलफल तत्काल डाक्ने सहमति भयो । यस क्रममा वडाध्यक्ष रिजालले भने — एउटै खम्बामा धेरै तार जेलिँदा, आगलागीका घटना बारम्बार दोहोरिए । यसबाट भएको क्षति कसले व्यहोर्छ? वडाध्यक्षको प्रश्नमा प्रतिरक्षा गर्दै इन्टरनेट सेवा प्रदायक भन्दै थिए — हामीले दिने सेवाका लागि टाँगिएका तारमा करेन्ट हुँदैन । यसैकारण यस प्रकारका तारबाट आगलागीको सम्भावना छैन । 

यो अवस्था सहरभरि नै छ । यसै कारण सहरी व्यवस्थापनमा प्रयोग भएका सार्वजनिक सम्पत्ति र जीवन सुरक्षाको सवाल जोडिएको छ । यो अवस्थामा सुधार गर्ने क्रममा धेरै पटक वैठक पनि चलेका छन्, तर अवस्थामा देखिने सुधार आएको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै