• २०८१ बैशाख १२ बुधबार

सरकारको प्राथमिकता क्षेत्रमा लगानी गर्न अध्यक्ष दाहालको विश्व बैंकलाई आग्रह

kharibot

फाइल तस्विर । 

काठमाडौँ  / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले आर्थिक समृद्धिको यात्रा तय गरेकाले थप लगानीका लागि विश्व बैंकलाई आग्रह गरेका छन । 

शिष्टाचार भेटका लागि आज उनकै निवास पुगेको विश्व बैंकका प्रतिनिधिलाई सो आग्रह गरेका हुन् । 

बैंकका प्रतिनिधि तथा देशीय निर्देशक हदाद–जर्वोसलाई आर्थिक समृद्धिका लागि सहयोग गर्न अध्यक्ष दाहालले आग्रह गरेका उनको सचिवालयले जनाएको छ । 

अध्यक्ष दाहालले नेपालको इतिहासमा ७० वर्षपछि राजनीतिक स्थिरता कायम भएको उल्लेख गर्दै आर्थिक विकासका लागि सुवर्ण अवसर भएको बताए  । 

उनले नेपालको समृद्धिको अभियानमा आफूहरुले विश्व बैंकबाट सल्लाह, सहयोग र सहकार्य चाहेको उल्लेख गरे । 

अध्यक्ष दाहालले भने , “हामीसँग तीन वटा (स्थानीय, प्रादेशिक र संघीय) सरकार रहेका छन् । हामी हाम्रा प्राथमिकता निर्धारण गर्छौं । जनताले प्रत्यक्ष अनुभूत गर्ने विकास योजना नै हाम्रा प्राथमिकतामा रहनेछन् ।” 

उनले नेपालको विकासका प्राथमिकतामा ठूला जलविद्युत् परियोजना र पर्यटनका साथै मुख्यरुपमा कृषिमा आधारित उद्योग नै रहेको बताए । 

सो अवसरमा देशीय निर्देशक जर्वोसले नेपालमा राजनीतिक स्थिरता कायम भएको भन्दै प्रशन्नता व्यक्त गरे । उनले आफूहरुसँग विभिन्न देशका आर्थिक विकासका अनुभव रहेको बताउदै ती अनुभव नेपालको विकासमा उपयोगी हुने बताए । 

जर्वोसले भने , “हामी पूर्वाधार विकासमा केन्द्रित हुन्छौँ र सरकारको मातहत बसेर काम गर्छौं । तपाईहरुको प्रगति नै हाम्रो प्रगति हो ।” नेपालको विकास उच्च प्राथमिकतामा रहेको भन्दै उनले कृषिमा आधारित उद्योगको पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै