• २०८१ बैशाख १३ बिहीबार

विश्वकपको पहिलो सेमिफाइनल आज : फ्रान्स र बेल्जियमबीच भिडन्त 

kharibot

काठमाडौँ । विश्वकप फुटबलका सेमिफाइनलका खेल आज र भोलि हुदैछन् । विश्वकपको पहिलो सेमिफाइनल खेल आज फ्रान्स र बेल्जियमबीच हुदै छ । नेपाली समय अनुसार राति ११:४५ बजे हुने यस खेल फ्रान्स छैठौ पटक विश्वकपमा सेमिफाइनल खेल खेल्दै छ भने बेल्जियम ३० बर्षपछि विश्वकपको इतिहासमा दोस्रो पटक विश्वकपमा सेमिफाइनल खेलिरहेको छ ।

विश्वकपमा फ्रान्स :

सन् १९९८ को विश्वकप विजेता फ्रान्स यस विश्वकपसहित १५औ पटक विश्वकप खेलिरहेको छ । फ्रान्सले सन् १९९८ मा आयोजकको रुपमा विश्वकप जितेको थियो । त्यस बाहेक फ्रान्स २००६ मा फाइनलमा पुगेको थियो । त्यस्तै सन् १९५८, १९८२, १९८६ मा सेमिफाइनलसम्म पुगेको थियो । त्यस्तै सन् १९३८ र २०१४ मा क्वाटरफाइनलमा पुगेर बाहिरिएको थियो ।

फ्रान्सले यस विश्वकपमा समुह चरणका तीन खेलमा २ मा जित र एक बराबरी गरेर नकआउट चरणमा पुगेको थियो । समुह चरणमा फ्रान्सले अस्ट्रेलियालाई २-१ ले र पेरुलाई १-० गोल अन्तरले पराजित गरेको थियो भने डेनमार्कसँग बिना कुनै गोल बराबरी खेलेको थियो । नकआउट चरणको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै क्वाटरफाइनलमा फ्रान्सले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । 

विश्वकपमा बेल्जियम : 

विश्वकपमा बेल्जियम यस पटकसहित १३औ पटक खेलिरहेको छ । बेल्जियम सन् १९८६ विश्वकपमा सेमिफाइनलसम्म पुग्नु नै अहिलेसम्मको विश्वकपको उत्कृष्ट प्रदर्शन हो । त्यो बाहेक बेल्जियम सन् २०१४ को विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो ।

यस विश्वकपमा बेल्जियम अपराजित हुदै सेमिफाइनलसम्म पुगेको छ । समुह चरणमा बेल्जियमले पानामालाई ३-० ले, ट्युनिसियालाई ५-२ ले र इङल्याण्डलाई १-० ले पराजित गरेको थियो । 

त्यस्तै नकआउट चरणमा जापानलाई ३-२ गोल अन्तरले पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा पुगेको थियो भने क्वाटरफाइनलमा ब्राजिललाई २-१ गोल अन्तरले पराजित गर्दै यस विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

प्रमुख खेलाडी : 

फ्रान्सका लागि यस विश्वकपमा प्रमुख खेलाडी १९ बर्षी किलियन एम्बाप्पे बनेका छन् । विशवकप् सुरु हुनु अघिसम्म फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानको नाम आएपनि विश्वकपमा एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सलाई सेमिफाइनलसम्म पुर्याएका छन् । एम्बाप्पेले अर्जेन्टिनाविरुद्ध गरेको २ गोल धेरै पछिसम्म याद गरिने छ । त्यस्तै फ्रान्सका लागि ग्रिजम्यान र पाउल पोग्वाको भूमिकालाई कमजोर मान्न सकिन्न । फ्रान्सको मिडफिल्डलाई पोग्वा, बेन्जामिन पाभार्डले बलियो बनाएका छन् । त्यस्तै चेल्सीबाट खेल्ने एन्गोलो कान्टेले डिफेन्सिभ मिडफिल्डको भूमिकामा आफुलाई उत्कृष्ट साबित गरेका छन् ।

फ्रान्सको टिममा विश्वस्तरका डिफेन्डर रहेका छन् । बार्सिलोनाबाट खेल्ने साम्युयल उमटिटि र रियल म्याड्रिडबाट खेल्ने राफेल भेरानले फ्रान्सको डिफेन्सलाई निकै बलियो बनाएका छन् । भेरानले त  क्वाटरफाइनलमा उरुग्वेविरुद्ध गोल समेत गरेका थिए ।

त्यस्तै बेल्जियममा पनि विश्वस्तरका खेलाडीको भरमार रहेको छ । प्रिमियर लिगको म्यानचेस्टर युनाइटेडमा खेल्ने रोमेलु लुकाकु, माउरिने फेलानी, म्यान्चेस्टर सिटीबाट खेल्ने केभिन डी ब्रुने, भिकेंट कम्पनी त्यस्तै चेल्सीबाट खेल्ने इडेन हजार्ड र गोल किपर थिबाउट कोर्टियसले बेल्जियमलाई बलियो बनाएको छ ।

बेल्जियमको मिडफिल्डलाई ब्रुने र धेरै समय हजार्डले सम्हालेका छन् भने बेल्जियमको आक्रमणलाई लुकाकुले यस विश्वकपमा राम्ररी सम्हालेका छन् । यस विश्वकपमा ४ गोल समेत गरेका लुकाकु गोल्डेन बुटको दौडमा समेत रहेका छन् भने हजार्डले पनि यस विश्वकपमा ३ गोल गरेका छन् । त्यस्तै बेल्जियमको डिफेन्सको नेतृत्व कम्पनीले गरेका छन् । ब्राजिलविरुद्ध क्वाटरफाइनलको खेलमा बेल्जियमले उत्कृष्ट डिफेन्सका साथै आक्रामक खेल खेलेको थियो । 

हेड टु हेड : 

फ्रान्स र बेल्जियमको अहिलेसम्मको इतिहास हेर्ने हो भने यो ७४औ खेल हो । यसअघि भएका ७३ खेलमा बेल्जियमले ३० र फ्रान्सले २४ खेलमा जित हासिल गरेको छ । त्यस्तै १९ खेल बराबरीमा सकिएका छन् । त्यस्तै विश्वकपमा भने यी दुई देशबीच अहिलेसम्म दुई पटक मात्र भेट भएको छ, जसमा दुवै पटक फ्रान्सले जित हासिल गरेको छ । अन्तिम पटक विश्वकपमा १९८६ मा तेस्रो स्थानका लागि यी दुवै देश खेलेका थिए जसमा फ्रान्स ४-२ गोल अन्तरले विजयी भएको थियो ।

निष्कर्ष : 

ब्राजिलको विश्वकपबाट बहिर्गमन पछि अब यस विश्वकपको विजेताको रुपमा फ्रान्सलाई हेरिएको छ । तर बेल्जियमको अहिलेसम्मको यस विश्वकपको अपराजित यात्रालाई रोक्न फ्रान्सलाई त्यति सजिलो भने हुने छैन । दुवै टिमको प्रोफाइल र प्रदर्शन हेर्दा यो टिमले जित्छ भनेर भन्न सकिदैन । दुवै टिमको डिफेन्स, मिडफिल्ड र आक्रमण गर्ने शैली लगभग उस्तै उस्तै रहेको छ । दुवै टिममा अनुभव र युवा खेलाडीको समिश्रण रहेको छ । त्यसैले यस खेललाई खेलको हिसाबले यस विश्वकपको फाइनल खेलको रुपमा पनि हेरिएको छ । अर्जेन्टिनालाई पराजित गरेको फ्रान्स र ब्राजिललाई पराजित गरेको बेल्जियममा को उत्कृष्ट छ या कसले जित्छ भनेर भन्न सकिने अवस्था छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै