• २०८१ बैशाख ७ शुक्रबार

...यसपालि कुनाइखेतमा रोपाइँ हुने छाँटकाँट नै छैन ! (ब्लग)

kharibot

असार सकिन लागिसकेको छ । मानो रोपेर मुरी फलाउने दिन भनेर दही, चिउरा खाएर १५ असार पनि मनाइसकियो तर आँखामा झलझली कुनाइखेत र कटहरकित्ताको सम्झना आइरहेको छ यतिबेला ।  

असार १५ मा दहीचिउरा खाएर असार १५ मनाइसके पनि हाम्रा गाउँघरमा असारको कुनै रौनक देखिएको छैन । दाजुभाइ सबै परदेश अनि दिदीबहिनीको बिहेबारी भइसक्यो । बाँकि छुटफुट आफ्नो काम र अध्ययनको लागि सहर पसेका छन् । घरमा जम्मा बुढा, बाआमा र सानाभाइ बहिनीमात्र छन् जो काम गर्र्नै सक्दैनन् ।

जुन समय थियो । दाजुभाइ दिदीबहिनी सबै सँगै थियौँ, पारिवारिक माहोल रमाइलो थियो । आँप, कटहर (भुइँकटहर, रुखकटहर) लिच्ची लगायतका फलफूल पाक्ने समय साह्रै रमाइलो हुन्थ्यो ।

असारको झरीमा पानीमा झमझम भिज्दै गरेको त्यो रोपाइँ, रोपाइँमा विशेष मिठो मानेर खाने त्यो चाम्रे, आलुको तरकारी र गुन्द्रुकको अचार आज यो मनमा झल्झली याद बनेर आएको छ । लाग्छ यो असारे झरीमा खहरे खोला उर्लेर आएजस्तो भइरहेको छ यो मन । 

हामी तीन दाजु, बहिनी (दुई दाइ र म बहिनी) दाइहरु पानी लाउने, कुलो बनाउने र हली र बाउँसे बनेको समय म मेरा साथीहरुसँग छुपुछुपु धान रोपिरहेको हुन्थे । र बेलाबेला ढाड दुःखेर मेलोमा नै थचक्क बसिदिन्थे  ।

अहिले सम्झिँदा सपना हो कि जस्तो लाग्छ, कुनै एक वर्षको रोपाइँमा हाम्रो कटहर कित्ता र कुनाइबारीको धान रोप्न मैले एक्लैले पर्म लाएर रोपाइँ गरेको थिए । सानी मान्छे (उचाइ है) यत्रो खेत पर्मले रोप्न सकिँदैन नानी भन्ने मेरा दाइहरुलाई चकित नै पारेको थिए मैले, सक्दिनस् भन्ने कामलाई मैले सक्छु भनेर देखाउने त्यो मेरो चुनौती मैले साँच्चै पूरा गरेको थिए । अहिले म यो काठमाडौँको हिले मरुभूमिबाट यो सबै सम्झिरहेको छु । 

संगीता, बिन्दा, इन्दिरालगायतका मेरा साथीहरु र सीता, शोभा, सम्झना, दुर्गा, उमादिदीहरु र अरु धेरै छिमेकी भाउजूहरुसँग हिलो छ्याप्दै गरेको त्यो रोपाइँ म कहिल्यै भुल्न सक्दिन । मेरा साथी र दिदीहरु सबैको बिहेबारी भएर अर्के ठाउँ पुग्नुभएको छ ।

तर आज असारको २४ बितिसक्दा पनि हाम्रा कटहरकित्ता र कुनाइखेतमा असार लागेको छैन ।

उहाँहरु पनि मैले जस्तै गरी माइतीगाउँको असार र त्यो रोपाइँ सम्झिरहनुभएको होला । एक अर्काकोमा पर्म गरी गरी धान रोप्ने हाम्रो त्यो कदम साँच्चै सम्झिनलायक छ । आफ्नो रोपाइँ गर्ने समय नहुञ्जेल अरु साथीहरुको धान रोप्न जाने र पर्म लाउने त्यो समय यो मानसपटलमा अझै ताजै छ  ।

तर आज असारको २४ बितिसक्दा पनि हाम्रा कटहरकित्ता र कुनाइखेतमा असार लागेको छैन । ती सयौँ मुरी धान फल्ने फाँट आज बाँझै छन् । रोजगारीको लागि दाइहरुमध्ये ठूलो विदेश त सानो बुटवल छन् भने म अध्ययनको सिलसिलामा काठमाडौं खाल्टोमा छु  ।

दुःख त त्यति बेला लाग्छ जब घरमा बा, आमा मलीन स्वरमा भन्नुहुन्छ, ‘नानी सबैको रोपाइँ सकिसक्यो हाम्रो मात्र बाँकी छ अब । खेताला नै कोही पाइँदैनन्, कसरी रोपाइँ गर्ने होला ?’

खेताला पनि कसरी पाइनु दाजुभाइ युवाजति सबै वैदेशिक रोजगारीमा गएका छन् । बाँकी पढाइ र पेशाको लागि कुनै न कुनै सहर पसेका छन्  । बाँकी बूढा, बाआमाले बसी खाने समयमा कसरी असारे हिलोमा पसेर काम गर्न सकून् र !

बाआमाले काम गर्नै सक्नुहुन्न भन्न खोजेको हैन तर उहाँहरुको यो काम गर्ने समय होइन । हाम्रो रोपाइँ भएको छैन भनेर चिन्ता गर्ने उमेर पनि होइन । तर यथार्थ उल्टो भएको छ  ।

हाम्रा विदेश गएका दाजुभाइ कहिले स्वदेश फर्किने हुन् र समयमै धान फल्ने हुन् हाम्रा कुनाइखेत र कटहरकित्ताहरुमा ? कृषिप्रधान देशको रुपमा चिनिले हाम्रो देशमा वार्षिक २५ अर्बको धान, चामल आयात गर्नुको कारण पनि यही हो ।

जब हामी हाम्रा खोरिया र खेत बाँझो राखेर कोरिया धाउँछौ भने धान कसरी फल्छ हाम्रो कुनाइखेत र कटहर कित्ताहरुमा । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै