• २०८१ बैशाख ४ मंगलबार

जापानमा बाढीले १०० को मृत्यु, टर्कीमा रेल दुर्घटनामा २४ को मृत्यु, सयौं घाइते 

kharibot

टोकियो / जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण सोमबार बिहानसम्ममा १०० जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् । 

सोमबार बिहानसम्म मृत्यु हुनेको सङ्ख्या १०० पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रशारण संस्था, एनएचकेले जनाएको छ । 

उक्त टेलिभिजनका अनुसार अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी छ । पहिरोमा परी धेरैको ज्यान गएको छ । केही दिन यताको अविरल बाढी र पहिरोका कारण दर्जनौँ व्यक्ति हराइरहेका छन् । 

सोमबार अधिकारीले दिएको जानकारीअनुसार पहिरोको जोखिममा रहेका स्थानबाट २५ लाखभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको बताएका छन् । 

हराएकाको खोजी तथा उद्धारकार्यमा हजारौँ सेना तथा प्रहरी परिचालन गरिएको छ । जापानको क्योडो समाचार संस्थाले मृत्यु हुने धेरैजसो पहिरोमा पुरिएका जनाएको छ । 

जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको बताइएको छ । हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप जारी छ । 

प्रधानमन्त्रीको भ्रमण स्थगित 

यसैबीच सोमबार टोकियोबाट प्राप्त एक समाचारमा जापानी प्रधानमन्त्री सिन्जो आबेले वर्षा र बाढीबाट भएको क्षतिको कारण देखाउँदै बुधबारबाट हुने तय भएको आफ्नो विदेश भ्रमण रोकेका छन् । 

उनले बुधबारदेखि विभिन्न चार देशको भ्रमण गर्ने भएको थिए । ती देशमा बेल्जियम, फ्रान्स, साउदी अरेबिया र इजिप्ट रहेका थिए । 

जापानमा बाढी र पहिरोको प्रकोप जारी नै रहेको र यसका कारण देशका विभिन्न भू–भागमा ठूलो क्षति भएको भन्दै प्रधानमन्त्री आबेले सो भ्रमण स्थगित गरिएको जानकारी दिएका हुन् । 

प्रधानमन्त्री आबेले सोमबार पनि जापानी अधिकारीहरुलाई बाढी र पहिरोको प्रकोप न्युनिकरण गर्न तथा खोजी र उद्धारकार्य कुशलतापूर्वक सञ्चालन गर्न सुरक्षा निकाय र सबै उद्धारकर्मीहरुलाई आदेश दिएका छन् । 

टर्कीमा रेल दुर्घटना २४ को मृत्यु, सयौं घाइते 
यसैबीच, उत्तरपश्चिमी टर्कीमा आइतबार बिहान एक यात्रुवाहक रेल दुर्घटना हुदा कम्तीमा २४ व्यक्तिको मृत्यु भएको समाचार छ । 

यात्रुवाहक रेलका डिब्बाहरु पटरीबाट छुट्टिएपछि भएको यस दुर्घटनामा अन्य रेलमा रहेका सयौँ यात्रु घाइते भएका छन् । भारी वर्षाको कारण दुर्घटना भएको अनुमान गरिएको छ । 

सो रेलमा ३६० भन्दा बढी यात्रु सवार रहेका बताइएको छ । सो रेल आइतबार इस्तानबुलको हालकाली स्टेसनबाट ग्रीस र बुल्ग्रेरीयाको सीमा नजिकको एदिरर्ने क्ष्ोत्रमा यात्रा गरिरहेको अवस्थामा दुर्घटनाग्रस्त भएको थियो । 

प्रारम्भिक समाचारमा यस दुर्घटनामा परी १० को मृत्यु भएको बताइएको थियो भने पछि सो सङ्ख्या बढेर २४ पुगेको उपप्रधानमन्त्री रेसेप आक्दाङ्ले पुष्टि गर्नुभएको छ । 

टर्कीका सञ्चारमाध्यमले यहाँका स्वास्थ्यमन्त्री अहमत देमिक्र्यानलाई उद्धृत गर्दै यस दुर्घटनामा घाइते भएका ३३८ व्यक्तिलाई उपचारको लागि अस्पताल भर्ना गरिएको बताएका छन् । 

भारी वर्षाको कारण चिप्लिएर रेलका डिब्बाहरु पटरीबाट बाहिर खस्न पुगेकोले यो दुर्घटना भएको यातायात मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै