• २०८१ बैशाख ७ शुक्रबार

विश्वकप क्वाटरफाइनलमा उरुग्वे र फ्रान्सको भिडन्त : युरोप भर्सेज दक्षिण अमेरिका

kharibot

काठमाडौँ । विश्वकप फुटबलको क्वाटरफाइनल खेल आजदेखि सुरु हुदै छ । क्वाटरफाइनलको पहिलो खेल दक्षिण अमेरिकी देश उरुग्वे र युरोपेली देश फ्रान्सबीच हुदै छ । दुवैबीचको खेल नेपाली समय अनुसार राति ७:४५ बजे हुदै छ ।

उरुग्वेले यस विश्वकपमा खेलेका चारै खेल जितेर अपराजित हुदै क्वाटरफाइनलसम्मको यात्रा तय गरेको छ भने फ्रान्सले समुह चरणमा दुई जित र एक बराबरी खेलेको फ्रान्सले अन्तिम १६ को खेलमा अर्जेन्टिनालाई पराजित गरेर क्वाटरफाइनलसम्मको यात्रा तय गरेको छ ।



उरुग्वे : 

फिफा वरियतामा १६औ स्थानमा रहेको उरुग्वे यसअघिको विश्वकपमा दोस्रो चरणमा पुगेर बाहिरिएको थियो । पछिल्लो १२ बर्षदेखि उरुग्वेको राष्ट्रिय टिमलाई कोचिंग गरिरहेका अनुभवी ओस्कार ताबारेज उरुग्वेका म्यानेजर रहेकाछन् । राष्ट्रिय टिमका लागि १४५ खेलमा म्यानेजर बनि सकेका ओस्कारको अनुभवले पनि उरुग्वेलाई धेरै फाइदा हुने विस्वास गरिएको छ ।

विश्वकपमा उरुग्वे :

सन् १९३० र १९५० को विश्वकप विजेता उरुग्वे पहिलो विश्वकपको आयोजक समेत हो । यो विश्वकप सहित उरुग्वेले १३औ पटक विश्वकप खेलिरहेको छ । २ पटक विश्वकप जितेको उरुग्वे सन् १९५४, सन् १९७० र सन् २०१० मा सेमिफाइनलसम्म पुगेको थियो । त्यस्तै सन् १९६६ मा क्वाटरफाइनलमा पुगेर बाहिरिएको थियो भने १९८६, १९९० र २०१४ मा अन्तिम १६ मा पुगेर बाहिरिएको थियो ।

यस टिममा बार्सिलोनाबाट खेल्ने लुइस स्वरेज, पिएसजीबाट खेल्ने एडिसन कभानी जस्ता स्टार खेलाडी रहेका छन् । स्वरेज यस टिमका प्रमुख खेलाडी हुन् । आक्रामक फुटबल खेल्ने टिम भनेर चिनिएको उरुग्वेका लागि स्वरेजले १०२ खेलमा ५३ गोल गरेका छन् । बार्सिलोनामा उत्कृष्ट फर्ममा रहेका स्वरेजले ला लिगा र कोपा डेल रेको उपाधि जिताउन महत्वपूर्ण भुमिका खेलेका थिए । स्वरेजले यस विश्वकपका ३ खेलमा २ गोल गरेका छन् त्यस्तै विश्वकपमा भने अहिलेसम्म ७ गोल गरेका छन् । 

यस टिममा स्वरेज बाहेक एडिनसन कभानी, कप्तान डिएगो गोडीन प्रमुख खेलाडीका रुपमा रहेका छन् । पोर्चुगलविरुद्ध भएको खेलमा २ गोल गरेका कभानी घाइते भएकाले यस खेलमा खेल्ने नखेल्ने विषयमा अन्योल रहेको छ । कभानीले विहिबार एक्लै अभ्यास गरेपनि उनी खेल्ने नखेल्ने विषयमा उरुग्वेले केहि खुलाएको छैन । कभानीले यस विश्वकपमा अहिलेसम्म ३ गोल गरेका छन् । 

फ्रान्स :

फ्रान्स फिफा वरियतामा सातौ स्थानमा रहेको सन १९९८ मा विश्वकप फुटबल जितेको टिम हो । फ्रान्सका पुर्वखेलाडी डीडीयर डेसच्याम्प्सले कोचिंग गरिरहेका छन् ।

विश्वकपमा फ्रान्स :

सन् १९९८ को विश्वकप विजेता फ्रान्स यस विश्वकपसहित १५औ पटक विश्वकप खेलिरहेको छ । फ्रान्सले सन् १९९८ मा आयोजकको रुपमा विश्वकप जितेको थियो । त्यस बाहेक फ्रान्स २००६ मा फाइनलमा पुगेको थियो । त्यस्तै सन् १९५८, १९८२, १९८६ मा सेमिफाइनलसम्म पुगेको थियो । त्यस्तै सन् १९३८ र २०१४ मा क्वाटरफाइनलमा पुगेर बाहिरिएको थियो ।

२०१६ को युरोकपको फाइनलमा पोर्चुगलसँग पराजित भएको फ्रान्सलाई यस विश्वकपको एउटा दाबेदार देशको रुपमा हेरिएको छ । एन्टोनी ग्रिजम्यान, किलीयन एमबाप्पे, पाउल पोग्वाजस्ता खेलाडी रहेको फ्रान्स टिम यस विश्वकपमा बलियो टिमको रुपमा रहेको छ ।

यस टिमका प्रमुख खेलाडी एथलेटिको म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्ने एन्टोनी ग्रिजम्यान हुन् । उनको क्षमता अनुसार यस विश्वकपमा भने उनको प्रदर्शन देखिएको छैन । यस विश्वकपका ३ खेलमा ग्रिजम्यानले २ गोल मात्र गरेका छन् । 

त्यस्तै फ्रान्सका उदाउदा खेलाडीको रुपमा पिएसजीबाट खेल्ने १९ बर्षिय किलियन एम्बाप्पे रहेका छन् । पहिलो पटक विश्वकप खेल्न लागेका एम्बाप्पे फ्रान्सले १९९८ को विश्वकप जितेपछि जन्मिएका खेलाडी हुन् । अर्जेन्टिनाविरुद्धको खेलमा २ गोल गरेर एम्बाप्पेले अर्जेन्टिनालाई घर पठाउन ठुलो भूमिका खेलेका छन् । उनको यो प्रदर्शनबाट उनलाई अब विश्वको उदाउदो खेलाडीको उपाधि दिइएको छ । उनले यस विश्वकपमा अहिलेसम्म ३ गोल गरेका छन् । 

त्यस्तै यस टिममा म्यानचेस्टर युनाइटेडबाट खेल्ने पाउल पोग्वा, बार्सिलोनाबाट खेल्ने ओउसमान डेम्बेले र साम्युल उमटिटि, चेल्सीका एनगोलो कान्टे जस्ता उत्कृष्ट खेलाडी रहेका छन् । 

हेड टु हेड :

उरुग्वे र फ्रान्सबीच अहिलेसम्म ७ खेल भएका छन् । जसमा उरुग्वेले २ खेल जितेको छ भने फ्रान्सले एक खेलमा जित हासिल गरेको छ । त्यस्तै ४ खेल बराबरीमा सकिएका छन् । त्यस्तै विश्वकपमा भने यी दुई देशबीच तीन पटक भेट भएको छ जसमा २ खेल बराबरी भएका छन् भने एक खेल उरुग्वेले जितेको छ ।

निष्कर्ष :

उरुग्वे र फ्रान्सबीचको यो खेल क्वाटरफाइनलको एक उत्कृष्ट खेल हुदै छ । अर्जेन्टिनाविरुद्धको फ्रान्सको खेल हेर्दा फ्रान्सको आक्रमण बलियो र चुस्त देखिन्छ । कभानी खेलेनन् भने उरुग्वेले आफ्नो आक्रमणमा ठुलो क्षति बेहोर्नुपर्ने देखिन्छ । पोर्चुगलविरुद्ध रोनाल्डोको आक्रमणलाई निस्तेज पारेको उरुग्वेको डिफेन्सले फ्रान्सविरुद्ध पनि सोहि प्रदर्शन जारि राख्ने चुनौती रहेको छ । फ्रान्सका लागि भने ग्रिजम्यानको प्रदर्शन सुध्रिनु आवश्यक रहेको छ । एम्बाप्पे फर्ममा रहेपनि ग्रिजम्यान फर्ममा आए फ्रान्सको आक्रमण अझ बलियो हुने देखिन्छ । निष्कर्षमा भन्दा यो खेलमा फ्रान्स हावी हुने छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै