• २०८१ बैशाख १३ बिहीबार

भरतपुर आँखा अस्पतालमा तीसजनाको आँखाको नानी प्रत्यारोपण

kharibot

फाइल तस्विर । 

चितवन / भरतपुर आँखा अस्पतालले ३० जनाको आँखाको नानी प्रत्यारोपण गरेको छ । 

गत वर्षबाट अस्पतालले तिलगंगा आँखा अस्पतालबाट आँखाको नानी ल्याएर प्रत्यारोपण गर्न शुरु गरेको हो । अस्पताल सञ्चालक समितिका अध्यक्ष चिजकुमार मास्केका अनुसार यस अवधिमा १५ देखि ७५ वर्ष उमेरसम्मका व्यक्तिको आँखाको नानी प्रत्यारोपण गरिएको छ । 

अस्पतालले संकलन गरेको ६ जनाको आँखाको नानी झिकेर तिलगंगाको आँखा बैंकमा पठाएको उनले बताए  । तिलगंगाले प्रशोधनको शुल्क रु छ हजार लिएर नानी पठाउने गर्छ । अस्पतालले आँखाको प्रकृतिअनुसार १० हजारदेखि ११ हजारसम्म शुल्क लिएर आँखाको नानी प्रत्यारोपण गर्दै आएको मास्केले बताए । 

अस्पतालले आँखाको नानी प्रत्यारोपणका लागि डा पुष्पा गिरी श्रेष्ठलाई भारतको तामिलनाडु अध्ययन गर्न पठाएको थियो । उनी र्किएपछि गतवर्षदेखि आँखाको नानी प्रत्यारोपण गर्न थालिएको हो । 

डा श्रेष्ठका अनुसार आँखाको नानीमा चोटपटक लागेर नदेख्ने भएको तर नसा एवं पर्दा ठीक भएका बिरामीको आँखा प्रत्यारोपण गर्न सकिन्छ । यससँगै लामो समयदेखि फुलो परेर आँखामा समस्या आएकाकोसमेत प्रत्यारोपण गरिँदै आएको छ । अस्पतालमा हाल चारजनाले आँखाको नानी प्रत्यारोपणका लागि पालो कुरिरहेका छन् । तिलगंगामा दाताभन्दा प्रत्यारोपण गर्ने बढेपछि पालो कुर्नुपर्ने अवस्था छ । 

भरतपुर आँखा अस्पताल नेपाल नेत्रज्योति संघ चितवनले सञ्चालन गरेको हो । संघका कार्यबाहक अध्यक्ष कृष्णराज धरेलले आँखा दानका विषयमा जिल्ला तहमा पनि प्रचारप्रसारको काम भइरहेको बताए  । आँखा दान पुण्य काम हो भन्ने जनमानसमा बुझाउन सकेमा प्रत्यारोपणका लागि पालो कुर्ने अवस्था नआउने उनी बताउछन् । चितवन र छिमेकी जिल्लाका बासिन्दालाई सहज होस् भन्नका लागि आँखाको नानी प्रत्यारोपण गर्न थालिएको र सफल हुँदैगएको उनले बताए  । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै