• २०८१ बैशाख ८ शनिबार

मेलम्ची आयोजनाको ठेकेदारको म्याद तीनमहिना थप

kharibot

फाइल तस्बीर

काठमाडौँ ।आगामी असोज मसान्तभित्र मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजलमा उपलब्ध गराउने शर्तसहित सरकारले इटालियन निर्माण व्यवसायी सिएमसी दि रेभेनाको म्याद तीन महिनाका लागि थप गरेको छ । 

खानेपानी तथा सरसफाइ मन्त्रालय मातहतको मेलम्ची खानेपानी आयोजना विकास समिति र निर्माण व्यवसायीका उच्च प्रतिनिधिको छलफलपछि निर्माण व्यवसायीको म्याद थप गरिएको हो । 

मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद कँडेलकाअनुसार आगामी दशैँ अगावै मेलम्ची आयोजनाको पानी सुन्दरीजलमा पथान्तरण (पानी खसाल्ने) गर्ने शर्तसहित निर्माण व्यवसायीसँग सहमति भएको हो । 

निर्माण व्यवसायीको रुपमा सिएमसीले तोकिएबमोजिमको काम नगरेपछि खानेपानी मन्त्रालयले परराष्ट्र मन्त्रालयको समन्वयमा इटालीमा रहेको उच्च व्यवस्थापनलाई पत्राचार गरेको थियो । गत जेठ १८ गते १५ दिनको म्याद राखेर मन्त्रालयले आयोजनामा किन ढिलाई भएको हो ? भन्ने प्रश्नको उत्तर दिन भनेको थियो । 

मन्त्रालयको पत्रलगत्तै सिएमसीको केन्द्रीय कार्यालय इटालीबाट निर्माण व्यवसायीको उच्च प्रतिनिधि नेपाल आएको थियो । पटकपटक काम गर्छु भनेर प्रतिबद्धता व्यक्त गर्ने तर कुनै पनि जिम्मेवारी पूरा नगर्ने देखिएपछि सरकारले ठेक्का तोड्नेसम्मको चेतावनी दिएको थियो । 

“लगातारको छलफलपछि निर्माण व्यवसायी असोज मसान्तसम्म सुन्दरीजलमा पानी पथान्तरण गराउन सहमत भएको छ”–कार्यकारी निर्देशक कँडेलले भने । 

गत चैत २७ गते नै आयोजनाको कूल २७ किलोमिटर लामो सुरुङको ‘ब्रेक थ्रू’ भएपछि निर्माण व्यवसायीले काम गर्न आलटाल गर्दै आएको थियो । उसले ‘गोरखा भूकम्प’ र भारतको अघोषित नाकाबन्दीपछि आफूहरुले बढी काम गर्नुपरेको र बाँधस्थल रहेको सिन्धुपाल्चोकको अम्बाथानमा तोकिएभन्दा बढी काम गरेको भन्दै रु एक अर्ब ६५ करोड थप रकम माग गर्दै आएको थियो । 

निर्माण व्यवसायीको मागमध्ये परामर्शदाता स्फ्टेशाको सिफारिशमा रु २८ करोड थप रकम दिइसकेको छ । तर उसले थप रकम पाउनुपर्ने भन्दै शर्त राखेर सुरुङ मर्मतको काम रोक्दै आएको थियो । निर्माण व्यवसायीलाई सरकारले हालसम्म रु सात अर्ब ८० करोड भुक्तानी गरिसकेको छ । 

निर्माण व्यवसायीको दाबीमाथि विवाद समाधान समितिको बैठकमा छलफल भएको छ । त्यसको निर्णय भने सार्वजनिक भइसकेको छैन । “सुरुङ ब्रेकथ्रु पछि त सुरुङ मर्मतलगायतको काम नै हुन सकेन, करीबकरीब नगण्य रुपमा मात्रै काम भएको थियो, पछिल्लो सहमतिपछि आयोजना अगाडि बढ्छ भन्ने आश पलाएको छ”–कार्यकारी निर्देशक कँडेलले भने । 

पूर्वसहमतिअनुसार निर्माण व्यवसायीले आगामी साउन मसान्तसम्म सुन्दरीजलमा पानी ल्याउनुपर्ने थियो । तर लामो समय काम रोकिँदा त्यो म्याद अब सरेर असोज मसान्त पुगेको छ । कार्यकारी निर्देशक कँडेलले यही असार ८ गते आयोजना विकास समिति र निर्माण व्यवसायीबीच निर्माणकार्यलाई तीव्रता दिने विषयमा सहमति भएको जानकारी दिए । 

खानेपानी मन्त्री बीना मगरले निर्माण व्यवसायीले काम नगरेको र शर्तअनुसार सुरुङ मर्मतमा ध्यान नदिएको भन्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटी कूटनीतिक पहल गरिदिन आग्रह गर्नुभएको थियो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजना गत वैशाखमा नै सम्पन्न गर्ने लक्ष्य राखिएपनि धकेलिँदै आएको छ । सरकारले आयोजनाका लागि सबै प्रकारको साधन स्रोत उपलब्ध गराएपनि निर्धारित लक्ष्यमा काम हुन सकेको थिएन । 

पछिल्लो शर्तसहितको सहमतिपछि भने आगामी दशैँ अगावै काठमाडौँमा पानी आइपुग्ने सम्भावना बढेर गएको बताइन्छ । कूल २७ किलोमिटर लामो सुरुङमध्ये हालसम्म करीब सात किलोमिटर सुरुङ मर्मत भइसकेको छ । अब बाँकी रहेको २० किलोमिटर सुरुङ मर्मत गर्ने, बाँधस्थलको निर्माण तथा अन्य प्राविधिक काम सम्पन्न गरेर आयोजना सम्पन्न गर्ने विषयमा आयोजना र निर्माण व्यवसायीबीच सहमति भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै