• २०८१ बैशाख ११ मंगलबार

भारतीय सडकका कारण भएको डुबानको चर्चा प्रदेश सभामा 

kharibot

बुटवल । बाँके र बर्दिया जिल्लाका सिमानामा भारतीय पक्षबाट निर्माण भइरहेका सडकले त्यहाँको दक्षिण क्षेत्र डुबानमा पर्ने खतराप्रति प्रदेश सरकारको ध्यानाकर्षण गराए । 

प्रदेश नं ५ प्रदेशसभाको आजको बैठकको विशेष समयमा प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले भारतीय पक्षले दशगजासँग जोडेर निर्माण गरेको सडकका कारण हुलाकी सडकदेखि दक्षिण क्षेत्र डुबानमा पर्ने खतराप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । 

‘यो विषय संघीय सरकारको भए पनि प्रदेश सरकारले पहलकदमी लिनुपर्छ र यस्तो कार्यमा दुई पक्षीय समझदारी हुनुपर्छ,” उनले भने, “उक्त निर्माण कार्यका कारण स्थानीय त्रसित भएका छन्, यो राष्ट्रियतासंग जोडिएको विषय पनि हो ।” 

विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीले सीमामा निर्माणसम्बन्धी काम दुई पक्षीय समन्वयमा हुनुपर्नेमा जोड दिए ।  यो संघीय सरकारसँग जोडिएको विषय भएकाले आवश्यक तथ्यांक संकलन गरी पत्राचार गरिने जानकारी सदनलाई दिए । 

यस्तै बैठकले प्रदेशसभा नियमावली, २०७४ लाई संशोधन गर्न बनेको विद्येयक तथा प्रदेश नं ५ को प्रदेशसभा (पहिलो संशोधन) नियमावली, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । 

प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गर्दा सो नियमावली पारित भएको हो । 

यस्तै प्रदेश आर्थिक विधेयक २०७५ माथि सैद्धान्तिक छलफल गर्दै प्रदेशसभा सदस्यले प्रगतिशील करको अवधारणाका रुपमा विधेयक आएको बताए । 

प्रदेशसभा सदस्य रेवतीरमण शर्माले करको दर तथा राजश्व संकलनका विषयमा विधेयकले सम्बोधन गरेको र प्रगतिशील कर अवधारणा ल्याएको बताए । 

अर्का सदस्य रमा अर्यालले करलाई जनताले स्वीकार गर्ने र समय सान्दर्भिक हुनुपर्नेमा जोडदिँदै निवेदन दस्तुरका आधारमा जग्गा रजिष्ट्रेसनमा कर लगाउनुपर्ने बताइन् । 

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रक्रियामा हामी सिक्दै जाने चरणमा भएको हुँदा काम गर्ने विधि कार्यान्वयन हुँदै जाने बताए । 

उनले आर्थिक वर्ष २०७५-७६ को सेवा र कार्यका लागि प्रदेश नं ५ प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रदेश नं ५ प्रदेश विनियोजन विधेयक, २०७५) माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । 

त्यस्तै लुम्बिनीको पृष्ठभूमिमा रुकुमको पूथा हिमालदेखि मर्चवारसम्म धानको बाला, विभिन्न वेशभूषा देखिने आकृतिको लोगो सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सदस्यहरुलाई वितरण गरेका थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै