• २०८१ बैशाख ४ मंगलबार

असी प्रतिशत सवारी दुर्घटना मानवीय कारणले

kharibot

काठमाडौँ / चालु आर्थिक वर्षको जेठ मसान्तसम्म देशभर दुई हजार ३१८ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । 

नेपालमा साँघुरा सडक र सवारी साधनको संख्या बढी हुँदा ज्यान गुमाउनेको संख्यामा वृद्धि भएको हो । जसमध्ये काठमाडौँ उपत्यकामा मात्र ज्यान गुमाउनेको संख्या १६८ रहेको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाको आयोजनामा ‘सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी एकदिने सम्मेलन’मा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले कानूनको पालना र अनुशासनका साथ यात्रा गरे सवारी दुर्घटनामा कमी आउने बताए । “प्रतिस्पर्धाका कारण सवारी चलाउँदा दुर्घटनामा वृद्धि भएको छ”, उनले भने । 

ट्राफिक व्यवस्थापनका लागि ट्राफिक बत्ती, आकाशे पुल निर्माण, बसस्टपको व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले काम गरिरहेको उनको भनाइ छ । 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले जानेका कुरालाई व्यवहारमा उतार्न सकेमात्र सवारी दुर्घटनामा कमी आउने बताए । यातायात व्यवस्था विभागका निमित्त महानिर्देशक प्रेमकुमार सिंहले चालककै कारण धेरैै दुर्घटना हुने भएकाले यसलाई रोक्न सकेमात्र पनि सवारी दुर्घटना कम हुने बताए । 

नागरिक अगुवा कनकमणि दीक्षित, हाँस्य कलाकार किरण केसीलगायतले धेरै सवारी साधन र साँघुरो बाटोका कारण सवारी दुर्घटना बढेको भन्दै सार्वजनिक सवारी साधनको विकास गरी साना सवारी साधनलाई विस्थापित गर्ने बाटोमा सरकार लाग्नुपर्नेमा जोड दिए । 

महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मनोज नेउपानेले सार्वजनिक सवारी साधनमा हुने महिला हिंसा रोक्न महानगरीय प्रहरी कार्यालयले विशेष योजना बनाएर लागू गर्न लागेको बताए । 

मुलुकमा हुने कूल दुर्घटनाको आधा दुर्घटना काठमाडौँमा हुने गरेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तभित्र उपत्यकामा पाँच हजार ७८१ दुर्घटनामा परी १६८ जनाको मृत्यु र चार हजार ९९ जना घाइते भएको महाशाखाका प्रमुख वसन्तकुमार पन्तले जानकारी दिए । “कूल दुर्घटनाको ८० प्रतिशत दुर्घटना मानवीय कारणबाट हुने गरेको छ”, उनले भने । 

सवारी दुर्घटनाबाट मुलुकभर प्रत्येक दिन औशतमा सात जनाको मृत्यु हुने गरेको छ । हाल नेपालभर ३० लाख ५२ हजार ३९७ र काठमाडौँ उपत्यकामा मात्र झण्डै ११ लाख सवारी साधन रहेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै