• २०८१ बैशाख ७ शुक्रबार

रोल्पामा बालविवाह न्यूनीकरण गर्न अभिभावकलाई तालीम

kharibot

रोल्पा / जिल्लामा अत्यधिक मात्रामा रहेको बालविवाह न्यूनीकरण गर्न भन्दै रोल्पामा अभिभावकका लागि तीनदिने तालीम सम्पन्न भएको छ । 

परिवर्तन गाउँपालिकाको राङसी, पोखरामा यही असार १ गतेदेखि चलेको तालीम असार ३ गते सम्पन्न भएको हो । तालीममा अभिभावकले बडो रुचीका साथ सहभागिता जनाएका थिए । 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको आयोजनामा सम्पन्न कार्यक्रममा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष ९युएनएफपीए०, रोल्पाको आर्थिक सहयोग रहेको थियो । स्थानीय सहकारी संस्थाका अध्यक्ष पूर्णा रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति नौलसिंह पुनमगरको प्रमुख आतिथ्यता रहेको थियो । 

देशकै तुलनामा रोल्पा जिल्लामा बालविवाह दर अधिक रहेको हुँदा यस्को रोकथाम तथा न्यूनीकरणका लागि अभिभावकलाई तालीम दिइएको ९युएनएफपीए० रोल्पाका खगेन्द्र भट्टले जानकारी दिए । 

उनका अनुसार रोल्पामा बालबालिकाको इच्छाअनुसार होस् वा अभिभावकको मञ्जुरीमा होस् मागी विवाहभन्दा भागी विवाह बढी हुने प्रचलन छ । त्यो पनि १४÷१५ वर्षदेखि नै बालविवाह हुने गरेको हुँदा अभिभावकलाई तालीमको आवश्यकता महसुस गरिएको भट्टले जानकारी दिए । यसबाहेक जिल्लामा विभिन्न समय समयमा किशोरकिशोरीका लागि पनि यस किसिमको तालीम सञ्चालन हुँदै आएको छ । 

तीन दिनसम्म चलेको तालीमको सहजीकरण महिला मानवअधिकार रक्षक जिल्ला सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्य र समाजसेवी तथा अधिकारकर्मी गीता वलीले गरेकी थिइन् । 

कार्यक्रमका सहभागी भएका अभिभावकले अज्ञानता तथा चेतना अभाकका कारण आजका दिनसम्म आइपुग्दा बाल विवाहमा परिवारले स्वीकृति दिएको भए पनि अबका दिनमा बालविवाह न्यूनीकरणमा सबै साथ सहयोग र ऐक्यबद्धता हुने प्रतिबद्धता जनाएका थिए । 

बालविवाह न्यूनीकरणका लागि कुनै व्यक्ति वा संस्थाको एकल प्रयासमात्र पर्याप्त नहुने भएको हुँदा सबैले एकजुट भई जिल्लामा सञ्चालनमा रहेको अभियान सफल पार्नुपर्नेमा रेडक्रस रोल्पाका अध्यक्ष पुनले जोड दिए । 

उनका अनुसार असम्भव भन्ने कुरा केही पनि नहुने भएको हुँदा यो अभियानमा बालबालिका स्वयं तथा तिनका अभिभावक र सरोकारवाला अझ सक्रियरुपमा अघि बढे जिल्लामा बालविवाह न्यूनीकरण हुन सक्छ । 

यस्तै, स्थानीय समाजसेवी पविता सुवेदीका अनुसार उमेर नपुगी भएका अधिकांश विवाह अन्तमा सम्बन्धबिच्छेदमा परिणत हुने गरेको हुँदा उच्च शिक्षा हासिलपश्चात आफू सक्षम भएर मात्र विवाह गर्न जरुरी देखिन्छ । अन्यथा बालविवाहका कारण अन्य विभिन्न समस्या थपिँदै जाने भएको हुँदा यस्ले बालविवाह गर्ने जोडीलाई मात्र नभई तिनका अभिभावकलाई समेत जिन्दगीभरि पीडा दिनेगर्छ । यस विषयमा अभिभावक पनि सचेत र सजग हुनुपर्ने उनको सुझाव छ । 

जिल्ला अदालत रोल्पाको तथ्यांकअनुसार रोल्पामा सबैभन्दा बढी सम्बन्धबिच्छेदका घटना दर्ता हुनेगरेका छन् । यसरी सम्बन्धबिच्छेद गर्ने जोडीमा आधाभन्दा बढी बालविवाह गर्ने जोडी नै सम्बन्धबिच्छेदमा पुग्ने गरेको पाइन्छ । त्यसैले, बालबालिका मात्र नभई तिनका अभिभावकसमेत सचेत बन्नुपर्नेमा अधिकारकर्मीको जोड छ । 
तालीम निकै सान्दर्भिक भएको हुँदा जिल्लाका सबै गाउँपालिकामा यस किसिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने सरोकारवालाको माग छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै