काठमाडौं । नेपालमा अर्को टि-२० क्रिकेट हुने भएको छ । सुन्दर नगरी पोखरामा पोखरा प्रिमियर लिग क्रिकेट पीपीएल–२०१८, को आयोजना हुने भएको छ । आज एक कार्यक्रमका बीच पिपिएल-२०१८ को घोषणा गरिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कासहित आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टले पत्रकार सम्मेलन गरी प्रतियोगिताको मिति र लोगो पनि सार्वजनिक गरेको हो ।
प्रतियोगिता पोखरा रंगशालामा आगामी कार्तिक ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ ।
टी–२० फर्म्याटमा आयोजना हुने प्रतियोगितामा देशका विभिन्न शहरको नामबाट फ्रेन्चाइज बेसमा आधारित ६ टोलीहरु हुनेछन् ।
प्रतियोगिता अक्सनमा आधारित हुनेछ । क्वीन्सका प्रवन्ध निर्देशक छुम्बी लामाले डीपीएल र ईपीएलमा समावेश भएका भन्दा कम्तिमा तीनवटा नयाँ फ्रेन्चाइज टोली समावेश गरिने जानकारी दिएका छन् ।
पहिलो पटक फ्रेन्चाइजी टोलीले यू–१६ टिम बनाउनुपर्नेछ । सबै टोलीलाई समावेश गरी जुनियर पीपीएल प्रतियोगिता पनि सञ्चालन गरिनेछ । जुनियर प्रतियोगिताका खेलहरु काठमाडौंमा हुनेछन् । फाइनल खेल भने पीपीएलका क्रममा पोखरा रंगशालामा खेलाइने आयोजक क्वीन्स इभेन्ट म्यानजेमेन्टका प्रवन्ध निर्देशक लामाले जानकारी दिए ।
प्रतियोगिताका लागि पीच निर्माण गर्न भारतीय क्युरेटर बोलाइएको र उनी जुलाई दोस्रो साता नेपाल आउने आयोजकले जानकारी दिएका छन् ।