• २०८१ बैशाख ४ मंगलबार

वरिष्ठ डा. उपेन्द्र देवकोटाको निधन

kharibot

काठमाडौं । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको हो ।

बेलायतमा उपचार सम्भव नभएपछि डा.देवकोटाकै आग्रहमा वैशाख १५ गते नेपाल ल्याइएका डा देवकोटाको न्युरो अस्पतालको उपचार भइरहेको थियो ।

विसं २०१० पुस ४ गते गोरखाको पण्डितगाउँ लिगलिगमा जन्मनुभएका डा देवकोटाका श्रीमती र तीन छोरी छन् । श्रीमती डा मधु दीक्षित तथा छोरीहरु मेघा, वसुधा र मञ्जरीले उनको काजक्रिया सात दिनमा सक्ने अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पूर्व स्वास्थ्यमन्त्री डा देवकोटाको पार्थिव शरीर मंगलबार बिहान ८ बजेदेखि अपराह्न १ बजेसम्म श्रद्धाञ्जलिका अस्पताल परिसरमा राखिनेछ भने त्यसपछि नारायणगोपाल चोकबाट शवयात्रासहित पशुपति आर्यघाटमा विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिनेछ । 

के भएको थियो डा.देवकोटालाई ? 

वरिष्ठ न्युरोसर्जन देवकोटालाई पित्त्तथैलीसम्बन्धी क्यान्सर भएको थियो । पित्तथैली र पित्तनली वरिपरिको भागमा हुने यो क्यान्सरलाई मेडिकलको भाषामा 'कोलान्जिओकार्सिनोमा' भन्ने गरिन्छ। 

बिरामी भएपछि डा. देवकोटा बेलायत पुगेर त्यहाँको लण्डनस्थित किङ्ग्स कलेज अस्पतालमा भर्ना भएका थिए । उनको पित्तथैली र नली वरिपरि क्यान्सर फैलिएपछि शल्यक्रिया गर्न नसक्ने अवस्था रहेको त्यहाँका चिकित्सकले बताएका थिए । शल्यक्रिया गरेर उपचार सम्भव नभएपछि देवकोटाकै इच्छा अनुसार नेपाल फर्काइएको थियो । 

नेपालमै रहँदा जन्डिसको लक्षण देखिएपछि उनले यहीँ स्वास्थ्य परीक्षण गरेका थिए । नेपालको परीक्षणमा क्यान्सर पाइएपछि उनी श्रीमती डा. मधु दीक्षित देवकोटासहित लन्डन गएका थिए ।

कलेजोभन्दा तल र सानो आन्द्रासँग जोडिएर पित्तथैली रहेको हुन्छ । पित्त थैलीको काम भनेको कलेजोले उत्पादन गर्ने पित्तलाई पित्तनलीको बाटोबाट जम्मा गर्नु हो । पित्तकै कारण मानिसले खाने खाना र खानामा हुने चिल्लो पदार्थ सजिलै पचाउन सम्भव हुन्छ । पित्तथैलीको क्यान्सर भएमा शल्यक्रियाबाटै उपचार गरिने गरिन्छ । शल्यक्रिया सम्भव नभएमा केमोथेरापी पनि गरिन्छ ।
 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै