• २०८१ बैशाख १२ बुधबार

बौद्ध स्तुपअघिको सडक धान रोप्न मिल्ने जस्तो, कहिले बन्छ सरकार ? (फोटो फिचर) 

kharibot

काठमाडौँ । असारको महिना चुच्चेपाटी–बौद्ध–जोरपाटी सडक पेटीबाट हिँड्दा लाग्छ धान रोप्न तयार पारिएको यो एउटा लामो गरो हो । 

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप क्षेत्रमा महिनामा हजारौँ विदेशी पर्यटक आउँछन् । सम्पदा अघिको सडकको यो अवस्था हुँदा पर्यटकमार्फत् विश्वव्यापी रुपमा के सन्देश जाला ? त्यसको हेक्का सरोकार भएका निकायले राखेको देखिँदैन । 

चाबहिल–चुच्चेपाटी सडकको अवस्था पनि यस्तै थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला रातारात यो सडक तयार भएको थियो । त्यो गतिमा काम भएको भए यो सडकको अवस्था पनि यस्तो हबिगतको नहुने स्थानीय पार्वती तामाङ सुनाउछिन् । 

‘साइड क्लियर’ भएका स्थानमा पनि काम भएको छैन, निर्माण व्यवसायी काम गर्न साइड नै नभएको रटान लगाइरहेका छन्, खाली भएको स्थान जति बनाइदिए पनि सवारी र पैदल यात्रुका लागि सहज हुने थियो”–उनले भनिन् । 

सडकको दायाँबायाँ केही घर भत्काउने काम पनि भइरहेको छ । तर सकिएको छैन । भत्काउन शुरु नभएका घर कहिले भत्कने हो टुंगो छैन । चाबहिलबाट जोरपाटीसम्मको ३.६ किमी सडक विस्तारका लागि २०७२ असोज १३ गते युनाइटेड बिल्डर्स एण्ड इन्जिनियर्स प्रालिसँग सम्झौता भएको थियो । 

अदालतको अन्तरिम आदेश, विभिन्न स्थानमा सडकको अधिकार क्षेत्रको विवाद र बजेट अभावले विस्तारको काम अवरुद्ध भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । 

बौद्ध पीपपलबोट सडक किनारमा कपडा सिलाउने व्यवसाय गर्दै आएका दैलेखका टेकबहादुर नेपाली एक हप्ता अघि गिट्टी मिसिएको माटो हालेपनि पहिलेकै अवस्थामा सडक पुगेको बताउछन् । सडकमा जमेको पानी सवारी साधनले छचल्काउँदा निथ्रुक्क भएर भिजिने उनको गुनासो छ । 

‘पानी नपरेका बेला मास्क लगाएर काम गर्नुपर्छ, कहिले त धुलो उडेर सडक नै नदेखिने गरी फैलन्छ”–नेपालीले सडकको अवस्था सुनाउँदै भने । जोरपाटीसम्मको क्षेत्रमा सडक अधिकार क्षेत्रकै विवाद छ । दायाँ भागमा सडक बन्नु अघिको राजकुलो मिचेर व्यक्तिले जग्गा धनी प्रमाण पूर्जा बनाएको बायाँ किनारका स्थानीयवासीको भनाइ छ । 

आयोजनाका सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठ पुरानो र नयाँ नापीका बारेमा विवाद भएर घर नभत्केको बताउछन् । जोरपाटी ओरालोसम्म यो विवाद छ । बौद्ध र जोरपाटी क्षेत्रमा खानेपानी तथा ढल चुहावट भएर सडकमा दह नै जम्ने गरेको छ । वर्षाद्का समयमा बाढीले बौद्ध क्षेत्रमा सवारी चल्दैन । खानेपानी र ढल चुहिँदा यो क्षेत्रको सडकमा धेरै खाल्डाखुल्डी छन् । अझ दायाँबायाँ भत्काउँदै गरिएका घरको धुलो र हिलोले सडकमा निस्कन नसकिने अवस्था रहेको स्थानीयवासी बताउँछन् । 

 

(राससका लागि पूर्णप्रसाद मिश्रको रिपोर्ट/ तस्बीर : कविता घिमिरे/खरीबोट)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै