• २०८१ बैशाख १२ बुधबार

बागलुङको विद्यालयमा पहिरोले क्षति

kharibot

बागलुङ / गएराति खसेको पहिरोले जैमिनी नगरपालिका–१० राङ्खानीस्थित जनता माविका चार वटा कक्षा कोठामा क्षति पुगेका छन् । 

चारकोठे पक्की भवनको तीन कोठा र अर्को ‘ट्रष्ट’ भवनको एक कोठा पहिरोले पुरिएको विद्यालयले जनाएको छ । कोठासँगै प्रवेशद्वार र पर्खालमा पनि पूर्णरुपमा क्षति पुगेको प्रधानाध्यापक शंकर थापाले बताए । 

पहिरोका कारण करीब रु ५० लाखबराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । पढाइ प्रभावित हुने गरी कक्षा कोठा नै पुरिएपछि विद्यालयले दुई दिनका लागि विद्यार्थीलाई बिदा दिएको छ । “प्रहरी मुचुल्का र क्षतिको प्रारम्भिक विवरण संकलन गर्ने काम भएको छ”, प्रअ थापाले भन्नुभयो, “विद्यालयलाई ठूलो क्षति पुगेपनि पठनपाठनका लागि वैकल्पिक व्यवस्था गरिने छ । ” 

क्षति पुगेका कक्षा कोठामा कक्षा ११ को विज्ञान र व्यवस्थापन विषयको पढाइ हुँदै आएको थियो । दुईकोठे ‘ट्रष्ट’ भवनमा रहेको स्रोत केन्द्रको कार्यालयमा पनि पूर्ण क्षति भएको छ । शनिबार दिनभरको वर्षापछि राति साढे १० बजे आएको पहिरोले विद्यालय पुरेको सोही विद्यालयका शिक्षक नवीनप्रताप जिसीले बताए । विद्यालयमाथिको पाखो धस्सिएर पहिरो खसेको उनको भनाइ थियो । 

पहिरोले विद्यालय भवनसँगै स्थानीय प्रेमबहादुर थापाको गोठमा पनि क्षति पु¥याएको छ । पहिरोबाटै पशुचौपायाको जीवितै उद्धार गरिएको थियो । वर्षाले जिल्लाका अन्य ठाउँमा पनि क्षति पु¥याएको छ । गलकोट नगरपालिका–१ दुदिलाभाटीका भीमबहादुर श्रीसको परिवार पहिरोका कारण विस्थापित हुने अवस्थामा छ । वर्षाले कतिपय ग्रामीण सडक पनि अवरुद्ध भएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै