• २०८१ बैशाख ८ शनिबार

आइसल्याण्डले अर्जेन्टिनालाई बराबरीमा रोक्यो, मेसीले गरे पेनाल्टी मिस 

kharibot

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत अर्जेन्टिनालाई आइसल्याण्डले बराबरीमा रोकेको छ । 

शनिबार भएको खेलमा अर्जेन्टिना र आइसल्याण्ड १-१ गोलको बराबरीमा रोकिएका हुन् । अर्जेन्टिनाका लागि स्टार खेलाडी लियोनेल मेसीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिनाले बराबरीमा चित्त बुझाउन बाध्य भएको हो ।

यसअघि खेलको १९औ मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए पनि त्यसको चार मिनेटपछि आइसल्याण्डका अल्फ्रेओ फिन्बोगासनले गोल गर्दै खेल बराबरी गरेका थिए । सर्जियो अग्युरोले विश्वकपमा आफ्नो पहिलो गोल गरेका छन् ।

त्यसपछि खेलको ६४औ मिनेटमा अर्जेन्टिनाले पाएको पेनाल्टी लियोनेल मेसीले गोलमा परिणत गर्न असफल भएका थिए । मेसीले अर्जेन्टिना र बार्सिलोनाका लागि पछिल्ला ७ पेनाल्टीमा ४ पेनाल्टी मिस गरेका छन् । मेसीले हानेको पेनाल्टीलाई आइसल्याण्डका गोलकिपर हनेस पोर हालडोरसनले बचाएका थिए । आइसल्याण्डले अर्जेन्टिनाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनाका कैयौ गोल गर्ने प्रयासलाई असफल बनाइदिएको थियो ।

यस विश्वकपको ग्रुप अफ डेथ भनिएको यस समुहमा यो बराबरीपछि अर्जेन्टिना र आइसल्याण्डले एक एक अंक बाडेका छन् । यसै समुहको अर्को खेल क्रोसिया र नाइजेरियाबीच आजै राति १२:४५ बजे हुदै छ ।


    
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै