• २०८१ बैशाख ११ मंगलबार

काठमाडौँ महानगरको तेश्रो अधिवेशनमा मेयर शाक्यबाट १९१ बुँदामा नीति तथा कार्यक्रम प्रस्तुत

kharibot

काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शनिबार राष्ट्रिय सभा गृहमा आयोजित काठमाडौं महानगरको तेश्रो अभिवेशनमा आर्थिक बर्ष २०७५-०७६ का लागि १६ बुँदे विषयगत नीतिमा १९१ बुँदे कार्यक्रम प्रस्ताव गरेका छन् ।

सभाका कुल सदस्यको ९३ प्रतिशत सदस्य सहभागी, उक्त अवसरमा प्रमुख शाक्यले प्रस्तुत गर्नुभएको नीतिमा समुदायको सीप तथा क्षमता विकास देखि सहरी समृद्धि, सहरी सेवा सुविधा वितरणमा सन्तुलन, शुशासन, पारदर्शिता, पहुँचयुक्ततादेखि प्रदेश सरकार, संघ सरकारसँग मिलेर सम्पादन गर्ने काम तथा अन्तरराष्ट्रिय सम्बन्धबाट महानगरीय गौरव बढाउने काम समेटिएका छन् ।

महानगरलाई जीवन्त सांस्कृतिक सहरका रुपमा विकास गर्न तथा यसको गौरवलाई उच्च बनाउन लोककल्याणकारी अवधारणा र संविधानले परिकल्पना गरेको शासनमा नागरिकको पहुँचजस्ता सूचकका आधारमा नीति तथा कार्यक्रम तयार पारिएको जनाउँदै सभामा प्रमुख शाक्यले सामाजिक न्यायको सिद्धान्त र भ्रष्टाचारमुक्त विधिको शासन प्रवर्धन गर्ने गरी कार्यक्रम प्रस्ताव गरिएको बताए ।

स्थानीय नागरिकको जीवन स्तर उकास्न परम्परागत ज्ञान, सीप र क्षमतालाई प्रश्रय दिने, भौतिक तथा सामाजिक उत्थानको योजना बनाउँदा वातावरणीय पक्षलाई विशेष ध्यान दिने, महानगरको निर्माणमा समुदाय, सहकारी, गैर सरकारी तथा निजी क्षेत्रको सहभागिता र साझेदारितालाई प्रश्रय दिने वहु लगानीका सम्भावना बढाउने नीति तथा कार्यक्रमका प्राथमिकतामा समेटिएका छन् ।

महानगरबासीका चाहनालाई आत्मसात् गर्दै हरेक बर्ष कुनै न कुनै विकासका नयाँ अवधारणा अघि सार्ने नीतिमा उल्लेख छ । त्यस्तै आउँदो बर्षलाई पूर्वाधार विकास बर्ष मानेर काम गर्ने, रानी पोखरी, धरहरा, काष्ठमण्डपलगायत सांस्कृतिक सम्पदाको पुननिर्माण महानगरको केन्द्रीय भवन (हरि भवन — बागदरबारका नामले चिनिने) पुननिर्माण कार्य, सार्वजनिक पूर्वाधार निर्माणमा गुणस्तरीयता अभिवृद्धि तथा प्रदुषण नियन्त्रण कार्यलाई नीतिले विशेष कार्यक्रमका रुपमा अघि सारेको छ ।

प्रमुख शाक्यले सभामा प्रस्तुत गर्नुभएका विषयगत नीतिहरुमा शुशासन, आर्थिक तथा वित्त, सहरी विकास, सहरी यातायात, सामाजिक विकास तथा सहकारी शिक्षा व्यवस्थापन नीति रहेका छन् । त्यस्तै स्वास्थ्य, संस्कृति, सम्पदन तथा पर्यटन, सूचना तथा सञ्चार, वातावरण, विपद् व्यवस्थापन, अन्तरराष्ट्रिय सम्बन्ध, कृषि तथा खाद्य, भवन मापदण्ड, सहरी योजना आयोग नीति रहेका छन् ।

यी नीतिले सहरबासीको समृद्धिको चाहना पूरा गर्ने, जीवन यापन पद्धतिमा सहजता ल्याउने, सुरक्षा र व्यवस्थामा नागरिकलाई विश्वस्त बनाउने, काठमाडौंलाई जीवन्त सांस्कृतिक सहरका रुपमा प्रवर्धन गर्ने, खाद्य सुरक्षा, युवा परिचालन, साहित्य, सृजना र राजनीतिक सन्तुलनका आधारमा समृद्धिको जग बसाउने, कलाकार, पत्रकार र साहित्यकारलाई सम्मान गर्दै महानगरको समृद्धिमा सहभागी गराउने कार्यक्रम प्रस्ताव गरेको छ ।

अहिले प्रमुख शाक्यले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि नगर कार्यपालिकाका सदस्यहरुले धारणा राख्ने क्रम चलिरहेको छ । छलफलमा उठेका विषय समेटेर प्रस्तावित नीति तथा कार्यक्रम स्वीकृत हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै