• २०८१ बैशाख ४ मंगलबार

विश्वकप प्रिभ्यु : जाइन्ट किलर आइसल्याण्ड र अर्जेन्टिनाको भिडन्त आज, डेभ्यु गरेकै दिन खेल्दैछन् मेसी  

kharibot

काठमाडौँ । विश्वकप फुटबलमा समुह डी मा रहेका अर्जेन्टिना र आइसल्याण्डबीच आज खेल हुदै छ । यी दुई टीमबीच नेपाली समय अनुसार ६:४५ बजे खेल हुदै छ । यस विश्वकपको ग्रुप अफ डेथ भनेर भन्न सकिने यस ग्रुपको यो खेल दुवै देशका लागि महत्वपूर्ण हुने छ । 

गत विश्वकपको फाइनलसम्म पुगेर पनि उपाधि जित्न नसकेको अर्जेन्टिना र पहिलो पटक विश्वकपमा छनौट भएको युरोपको सानो देश आइसल्याण्डको यो खेल यस कारण पनि चर्चामा छ की २०१६ को युरो कपमा अन्तिम १६ को खेलमा इङल्याण्ड जस्तो बलियो टिमलाई पराजित गरेर आइसल्याण्ड क्वाटरफाइनलमा पुगेको थियो ।

छनौट चरणमा पनि उत्कृष्ट प्रदर्शन गरेको आइसल्याण्डले पहिलो पटक विश्वकप खेल्दै गर्दै ठुलो टिमलाई हराउने टिमका रुपमा आफ्नो छबी बनाएको छ । यता अर्जेन्टिना भने यस विश्वकपको सम्भाव्य विजेता टिमको रुपमा हेरिएको टिम भएकाले आफ्नो विश्वकप यात्रा कसरी सुरु गर्छ भन्ने सबै फुटबल प्रेमीबीच कौतुहलता रहेको छ ।

छनौट चरणमा निकै संघर्ष गरेको अर्जेन्टिनाले अन्तिम खेलमा इक्वेडरविरुद्ध लियोनेल मेसीको ह्याट्रिकको मद्धतले विश्वकपमा छनौट भएको थियो । छनौट चरणमै तेस्रो म्यानेजरको रुपमा टिमको म्यानेजर बनेका जोर्ज साम्पोलीको नेतृत्वमा अर्जेन्टिना विश्वकप खेल्दै छ । उनले २०१५ मा चिलीलाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए ।

अर्जेन्टिना बलियो टिम देखिए पनि टिमको नतिजा मेसीको प्रदर्शनमा निर्भर गरेको पछिल्ला खेलहरुमा देखिएको छ । मेसी फर्ममा रहे भने यो टिम जति बलियो कुनै टिम छैन तर मेसीको प्रदर्शन फितलो भयो भने यो टिम कम्जोर देखिएको छ । हालै मात्र स्पेनसँगको मैत्रीपूर्ण खेलमा मेसी बिना ६-० को हार पनि यसको उदाहरण हो ।

आज जुन १६ मेसीको नाममा ऐतिहासिक दिन रहेको छ । मेसीले आज कै दिन २००६ को विश्वकपमा डेभ्यु गरेका थिए । सर्बियाविरुद्धको सो खेल अर्जेन्टिनाले ६-० ले जितेको थियो । जसमा मेसीले चौथो गोल असिस्ट गरेका थिए भने छैठौ गोल आफैले गरेका थिए । 

अर्जेन्टिनाका लागि मेसी नै महत्वपूर्ण खेलाडी हुन् । मेसीका आलावा सर्जियो अग्युरो, गोन्जालो हुगैन एन्जल डी मारिया जस्ता खेलाडीले अर्जेन्टिनालाई बल्यो बनाउछन् । पिएसजीबाट खेल्ने २२ बर्षिय मिडफिल्डर गिओभानी लो केल्सो अर्जेन्टिनाका उदाउदा खेलाडीको रुपमा हेरिएको छ । अर्जेन्टिनाको लागि केल्सोले केबल ४ खेल खेलेका छन् ।

त्यस्तै आइसल्याण्डले २०१६ को युरोकप पछि आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिदै युरोकपमा क्वाटरफाइनल सम्मको यात्रा पछि आफुलाई विश्वकपमा छनौट गराउन सफल बन्यो । फिफा वरियतामा २२औ स्थानमा रहेको आइसल्याण्डको म्यानेजर हेइमिर हल्ग्रीमसन रहेका छन् । युरो कपमा सहायक म्यानेजर रहेका हेइमिरलाई प्रमोशन गरेर म्यानेजर बनेपछि उनले आइसल्याण्डलाई विश्वकपमा छनौट गराउन सफल भएका थिए । 

आइसल्याण्डको प्रमुख खेलाडीमा गिल्फी सिगुर्सन रहेका छन् । प्रिमियर लिगमा इन्जुरिका कारण एभर्टनमा खासै राम्रो प्रदर्शन गर्न नसकेका सिगुर्सन आइसल्याण्डका लागि प्रमुख खेलाडी नै हुन् । आइसल्याण्डका उदाउदा खेलाडीको रुपमा स्भेरीर इंगि इन्गासन रहेका छन् । २४ बर्षिय इन्गासनले आइसल्याण्डका लागि २० खेलमा ३ गोल गरेका छन् । इन्गासनको प्रदर्शन यस विश्वकपमा उत्कृष्ट हुने अनुमान गरिएको छ ।   

अर्जेन्टिना र आइसल्याण्ड अहिलेसम्म खेलेका छैनन् । पहिलो पटक खेल्न लागेका यी दुई टिममा अर्जेन्टिना बलियो देखिन्छ । आइसल्याण्डले दुईबर्ष अगाडीको चमत्कार दोहोराउने सम्भावना कम भएपनि अर्जेन्टिनाको जित मेसीको प्रदर्शनमा निर्भर रहने देखिन्छ ।  

आइसल्याण्ड फुटबल टिममा ‘सन’ र ‘राम’ को अनौठो संयोग 

काठमाडौँ । पहिलो पटक विश्वकपमा भाग लिन लागेको आइसल्याण्डले आज अर्जेन्टिनाको सामना गर्दै छ । 

यस विश्वकपको ‘ग्रुप अफ डेथ’ भनेर भनिएको समुह बि मा रहेको आइसल्याण्डको टिममा अनौठो संयोग देखिएको छ । यस टिमका खेलाडीको नामको अन्त्यमा आउने सन र रामको संयोगले सबैलाई अचम्मित तुल्याएको छ । 

यस टिममा रहेका २३ मध्ये २२ खेलाडीको नामको अन्त्यमा अंग्रेजीको SON अक्षर रहेको छ । त्यति मात्र होइन म्यानेजरको सुरुको नामको अन्तिम तीन अक्षर पनि SON नै रहेको छ । एक खेलाडीको नामको अन्त्यमा भने अंग्रेजी अक्षर RAM रहेको छ ।

सन २०१६ मा भएको युरो कपमा शानदार प्रदर्शन गरेको आई ल्याण्डलाई ‘जाइन्ट किलर’ टिमको रुपमा हेरिएको छ । २०१६ युरोकपको अन्तिम १६ को खेलमा इङल्याण्डलाई पराजित गरेर क्वाटरफाइनलसम्म पुगेको यो टिमले विश्वकपमा पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।   

फिफा वरियतामा २२औ स्थानमा रहेको आइसल्याण्डको जनसंख्या गत मार्चको आँकडा अनुसार ३ लाख ५० हजार ७ सय १० मात्र रहेको छ । त्यस्तै यस देशको प्रति व्यक्ति आय ५४ हजार २ सय ८८ अमेरिकी डलर रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै