• २०८१ बैशाख ७ शुक्रबार

आज इद उल फित्र : दान, आशीर्वाद र नमाज गरेर मनाइदै

kharibot

फाइल तस्बीर

काठमाडौँ  ।  अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन शनिबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन् । 

शनिबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक गरीबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । 

शनिबार बिहान नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठ गरिनेछ । त्यसपछि ठूलाबडाकहाँ आशीर्वाद लिने क्रम शुरु हुन्छ । सो पर्वको अर्को उल्लेखनीय पक्ष गरीबलाई दान दिनु हो । यसैगरी घण्टाघरमै रहेको काश्मिी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा पनि विशेष कार्यक्रमका साथ नमाज पाठ गरिन्छ । 

पर्वमा इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ ‘कुरान’मा उल्लेख गरिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिनुभयो । यसरी दान गरिएको नगद वा जिन्सी गरीबलाई बाँडिन्छ जसलाई जकात भनिन्छ । 

इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ । सो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । सोे दान पनि गरीबलाई नै दिइन्छ । गत जेठ ३ गते शुक्रबारदेखि मुसलमान समुदायको एक महिना लामो व्रत (रोजा) शुरु भएको थियो । एक वर्षभित्र गरिएका पाप कटाउन रोजा गरिने उनले बताए । एक महिनासम्म दिनभर व्रत गरेर साँझ त्राविको पूजा गरिएको थियो । पर्वका अवसरमा मुसलमान समुदायले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै