• २०८१ बैशाख ८ शनिबार

प्रदीप खड्का स्टारर फिल्म ‘रोजी’  को छायांकन रोकियो 

kharibot

काठमाडौँ । अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘रोजी’ को छायांकन रोकिएको छ । 

फिल्म रोजी महर्जनको हत्यासँग सम्बन्धित रहेको भन्दै उनका परिवारले चलचित्र विकास बोर्डलाई गुहारेपछी फिल्मको सुटिंग रोकिएको हो । सुरुमा मौखिक दबाब दिएका परिवारले पछि विकास बोर्डलाई जानकारी गराउदै सुटिंग नरोके प्रहरीमा जाने भनेपछि अहिले सुटिंग रोकिएको हो ।  

विकास बोर्डले बिहीवार फिल्मको सम्पूर्ण छायांकन तत्काल रोक्न निर्देशन दिएको छ । बिहीवार सुटिङ नै रोकेर ‘रोजी’ टिम महर्जनको परिवारसँग छलफल गर्न चलचित्र विकास बोर्ड पुगेको थियो । 

निर्देशक निरक पौडेलले भने रोजी महर्जनको परिवारले फिल्मको सुटिङ रोक्न पटक-पटक दवाव दिएपछि चलचित्र विकास बोर्डबाट हामीलाई फोन आएकाले सुटिङ रोकेर हामीले महर्जनको आमा-बुबासँग छलफल जुटेको बताए । 

रोजी महर्जनको परिवारले फिल्मको नाम परिवर्तन गर्न आग्रह गरेका छन् भने अहिलेसम्म भएका छलफल निष्कर्षमा पुग्न नसकेकाले अब छलफल निश्कर्षमा नपुगेसम्म ‘रोजी’ छायांकन रोकिने भएको छ । 

२०६८ साल साउन २० गते आफ्नै प्रेमी सुबास उप्रेतीको योजनामा राजु लोहारले रोजी महर्जनको हत्या गरेको कथामा यो फिल्म बनाइन लागेको चर्चा चलेको छ । निर्देशक पौडेलले भने फिल्मको कथा रोजीको हत्या प्रकरणसँग नमिल्ने दाबि गर्दछन् ।  

निर्देशक पौडेलकी दिदी समेत रहेकी विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले भने रोजीको परिवारलाई कथा देखाएर, सहमती जुटाएर मात्र छायांकन सुरु गर्न ‘रोजी’ टिमलाई निर्देशन दिएको बताइएको छ । 

फिल्म ‘रोजी’ मा प्रदीपका अलावा परमिता आरएल राणा, मिरुना मगर, कर्मा शाक्यलगायतका कलाकारहरुको अभिनय छ । फिल्मको धेरै जसो सुटिंग सकिसकेको छ भने  एउटा गीतसहित २० दिनको छायांकन बाँकी रहेको निर्माण युनिटले जानकारी दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै