• २०८१ बैशाख ७ शुक्रबार

विश्वकप प्रिभ्यु : २० खेलमा अपराजित स्पेनलाई पोर्चुगलले कसरी रोक्ला ?

kharibot

काठमाडौँ । विश्वकप फुटबलको दोस्रो दिन आज समुह चरणकै सबै भन्दा ठुलो खेल हुदै छ । २०१६ को युरो कप विजेता पोर्चुगल र २०१० को विश्वकप विजेता स्पेनबीच आज नेपाली समय अनुसार राति ११:४५ मिनेटमा यी दुई देश यस विश्वकपको आ- आफ्नो पहिलो खेल खेल्दै छन् ।

समुह बि मा रहेका यी दुई देशको खेल यस विश्वकपको समुह चरणकै सबै भन्दा ठुलो खेलको रुपमा हेरिएको छ । विश्वकै उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डो रहेको टिम पोर्चुगल र उनकै रियल म्याड्रिडका सहकर्मी सर्जियो रामोसले नेतृत्व गरेको स्पेनबीचको यो खेल निकै रोचक हुने अनुमान सजिलै गर्न सकिन्छ । 

हेड टु हेड :

स्पेन र पोर्चुगल अहिलेसम्म ३५ पटक खेलेका छन् भने स्पेनले १७ पटक जितेको छ भने पोर्चुगलले केबल ६ पटक जितेको छ । त्यस्तै १२ खेल बराबरीमा सकिएका छन् । स्पेन र पोर्चुगलबीच पछिल्लो पटक २०१२ को युरोपियन च्याम्पियन्सिपमा भेट भएको थियो जसमा पेनाल्टी सुटआउटमा स्पेन विजयी भएको थियो ।

पछिल्ला खेलहरुमा पोर्चुगलको प्रदर्शन मिश्रीत रहेको छ । पछिल्ला ६ खेलमा पोर्चुगलले स्विटजरल्याण्ड, इजिप्ट र अल्जेरियालाई पराजित गरेको छ भने नेदरल्याण्डससँग पराजित भएको थियो । त्यस्तै बेल्जियम र ट्युनिसियासँग बराबरी खेलेको थियो ।

त्यस्तै स्पेन भने आफ्ना पछिल्ला २० खेलमा अपराजित रहेको छ । स्पेन २०१६ जुन २७ मा इटालीसँग युरो कपमा २-० ले पराजित भएपछि खेलेका २० खेलमा अपराजित रहेको छ । जसमा १४ जित र ६ खेल बराबरी रहेका छन् ।

स्पेन :

यस समुहमा स्पेनलाई बलियो टिमको रुपमा हेरिएको छ । फिफा वरियतामा १०औ स्थानमा रहेको स्पेन २०१० को विश्वकप विजेता भएपनि गत विश्वकपमा समुह चरणबाटै बाहिरिएको थियो । विश्वकप सुरु हुनु अघि म्यानेजर जुलियन लोपेटेगुइलाई बर्खास्त गरेर स्पेनको टिम अलिकति दबाबमा आएको छ । जुलियनको ठाउमा स्पेनका फुटबल निर्देशकको रुपमा कार्यरत फर्नान्डो हेइरोलाई विश्वकप भरिका लागि नियुक्त गरेको छ । जुलियनले विश्वकपको मुखैमा स्पेनकै रियल म्याड्रिडसँग सम्झौता गरेपछि स्पेनिस फेडेरेसनले आफुहरुसँग कुनै सल्लाह नगरिएको भन्दै जुलियनलाई हटाएको थियो ।

स्पेन ला लिगाको टिम बार्सिलोना स्टाइलको फुटबल खेल्नमा प्रसिद्ध छ । समुह चरण मै पोर्चुगलको सामना गर्नुपर्ने भएकाले स्पेनको समुह चरणबाट यात्रा कसरी अगाडी बढ्छ अहिले नै अनुमान गर्न मुस्किल देखिएको छ ।

स्पेनका लागि डिफेन्डर सर्जियो रामोस प्रमुख खेलाडी रहेका छन् । स्पेनका लागि १५१ खेल खेलिसकेका अनुभवी रामोसले यस सिजनमा रियल म्याड्रिडलाई च्याम्पियन्स लिग जिताउन पनि महत्वपूर्ण भुमिका खेलेका थिए । त्यस्तै रियल म्याड्रिडका मार्को असेन्सियो स्पेनका उदाउदा खेलाडी हुन् । स्पेनबाट विश्वकपमा डेभ्यु गर्न लागेका उनले रियल म्याड्रिडका लागि राम्रो योगदान दिएका छन् । उनले राष्ट्रिय टिमका लागि १२ खेल खेलिसकेका छन् । त्यस्तै २०१० को फाइनलमा निर्णायक गोल गरेका आन्द्रे इनेस्टा, डेभिड सिल्भा, डिएगो कोष्टा जस्ता खेलाडीले स्पेनलाई बलियो टिमको रुपमा प्रस्तुत गरेका छन् ।

पोर्चुगल :

यस समुहमा स्पेनकै हाराहारीमा रहेपनि स्पेन जतिको फेभरेट टिम पोर्चुगल देखिदैन । फिफा वरियतामा चौथो स्थानमा रहेको पोर्चुगलले २०१६ मा युरोकप जितेर आफ्नो शक्ति प्रदर्शन गरेको थियो । विश्वकपमा पनि पोर्चुगलले त्यस्तै दमदार प्रदर्शन दोहोराउने विश्वास गरिएको छ । २०१४ देखि लगातार राष्ट्रिय टिमको म्यानेजरको रुपमा फर्नानडो सान्तोस रहेका छन् । उनकै नेतृत्वमा युरोकप जितेको यस टिमले विश्वकपमा कँहा सम्म जान्छ भन्ने कुरा पहिलो खेल स्पेनविरुद्धको खेलबाट नै निर्धारण हुने देखिन्छ ।

यस टिममा रियल म्याड्रिडबाट खेल्ने स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो नै प्रमुख खेलाडी हुन् । रोनाल्डो सहितको पोर्चुगल टिम बलियो नै रहेको छ । रोनाल्डोले विश्वकप छनौटमा आफु खेलेका हरेक खेलमा एक गोलका हिसाबले १५ गोल गरेका थिए ।

त्यस्तै यस टिममा आन्द्रे सिल्भ उदाउदा खेलाडीको रुपमा रहेका छन् । सिल्भाले एसी मिलानमा त्यति राम्रो प्रदर्शन नगरेपनि पोर्चुगलका लागि विश्वकप छनौटमा रोनाल्डोसँग मिलेर १० गोल गरेका थिए । साथै पोर्चुगलमा अनुभवी डिफेन्डर पेपेको भूमिका पनि महत्वपूर्ण हुने देखिन्छ । २०१६ को युरोकपको फाइनलमा फ्रान्सको आक्रमणलाई रोक्न पेपेले निकै ठुलो भूमिका निभाएका थिए । त्यस्तै म्यान्चेस्टर सिटीबाट खेल्ने बेनार्ड सिल्भा पनि पोर्चुगलको आक्रमण धारका प्रमुख खेलाडी हुने छन् ।

यस खेलका प्रमुख ५ खेलाडी :

स्पेन र पोर्चुगलको खेलका प्रमुख ५ खेलाडीमा स्पेनका सर्जियो रामोस, डिएगो कोष्टा र आन्द्रे इनेष्टा छन् भने पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र पेपे रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै