जनतासँग सधैँ नजिकिन चाहने डीएसपी अनुपम श्रेष्ठ 

खरीबोट

काठमाडौं । २०३६ सालमा आमा ईश्वरी श्रेष्ठ र बाबु कृष्ण कुमार श्रेष्ठको जेठो  सन्तानको रुपमा काठमाडौँमा जन्मिएका हुन् अनुपम श्रेष्ठ । उनका दुई भाइ छन् । उनका दुई भाइमध्ये माइला भाइ लुम्बिनीको होटलमा एकाउन्टेन्ट र कान्छो भाइ भने बैँकको जागिरे छन्  ।

स्वर्गीय हजुरबुवा जोगराज श्रेष्ठ (जो पूर्वडीएसपी थिए) सँग उनी एकदमै नजिक थिए । हजुरबुबाको विभिन्न ठाउँको सरुवासँगै उनी पनि हजुरबुबासँगै धेरै ठाउँ गए । हजुर बुबाको त्यो साथ र संगतबाट नै उनलाई प्रहरीप्रति कता कता लगाव बसेको उनी बताउँछन् । प्रहरी परिवारको भएको कारण र उनको आफ्नो खेलकुदप्रतिको रुचि र लगावकै कारणले उनलाई प्रहरी पेसाप्रति नै रुचि जाग्न थाल्यो । यो दिउँसोको संकेत बिहानीले गरेजस्तै साबित भयो उनको जिन्दगीमा ।

श्रेष्ठको हजुर बुबाले पाएका मेडल, राजाहरुसँगका तस्बिर, पुराना प्रहरी पोसाकहरुले उनलाई आकर्षण गर्न थालेको थियो । आफ्नो जीवनकै प्रेरणा बनेका उनका हजुर बुबाका यी सबै चिजले उनको भविष्य वास्तवमा डोर्याउनथालिसकेको थियो । उनको मनमस्तिष्कमा प्रहरी पोसाकमा सजिएको एक होनहार जवान अनुपम श्रेष्ठ झल्किन थाल्यो । वास्तवमा यो उनको भावी जीवनको एउटा सुन्दर तस्बिर थियो, उनको मानसपटलमा खिचिएको । 

चञ्चल स्वभाव अनि कुनै पनि समस्या र अवरोध नभएको उनको बाल्यकालले कुनै अप्ठ्यारोको सामना गर्नुपरेन । उनी जति खुल्ला, चञ्चल र मिजासिला थिए त्यतिकै बदमासी पनि गर्न भ्याउँथे । एकपटक सुपरम्यान बनेर हाम्फाल्न खोज्दा सिँढीबाट लडेको खत उनको आँखामाथि ताजै छ, जसलाई देखाएर उनी हामीलाई आफू बदमास रहेको भन्न भ्याउँछन् । यो उनको घाउको खत मात्र नभएर बाल्यकालीन याद दिलाउने अमिट छाप नै बन्न पुगेको छ । 

राजधानी काठमाडौँमा जन्मिएकाले पनि उनको बाल्यकाल त्यति दुःखले नभरिएको हामी सहजै अनुमान लगाउन सक्छौँ । झन् त्यतिबेलाको प्रहरी परिवारमा हुर्किएका अनुपमको बाल्यावस्था साँच्चै अनुपम नै नरहने कुरै भएन । त्यसैले त उनले बोर्डिङ स्कुलमा पढ्न पाए, इच्छाएको कलेजमा अध्ययन गर्न पाए । उनले अंग्रेजीमा डिग्री पास गरेका छन्  । 

उनी सम्झिन्छन्, ‘२०५८ सालमा इन्पेक्टरको दरखास्त आह्वान भएको थियो, त्यतिबेला माओवादीको जनयुद्ध चरमोत्कर्षमा थियो । सोही कारण मलाई परिवारबाट नजान आग्रह गर्दा पनि मैले डरसँग आत्मसमर्पण गरेर प्रहरीप्रतिको लगाव, झुकाव वा प्रेम जे भनौँ, नकार्न सकिनँ र अन्ततः दरखास्त दिएँ ।’ 

जीवनको नयाँ अध्याय प्रहरी प्रवेशसँगै सुरु भयो अनुपमको । २/३ वर्ष छनोटको चरण भएको कारण २०६१ सालबाट उनले खुल्ला प्रतियोगिताबाट प्रहरी निरीक्षकमा नियुक्ति पाए । यसै क्रममा उनले विभिन्न युनिटमा बसेर धेरै ठाउँको अनुभव सम्हाल्ने मौका पाए । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, हेडक्वाटर्स मानव स्रोत विकास विभाग,  महानगरीय कार्यालय रानीपोखरी हुँदै महानगरीय प्रहरी अपराध महाशाखासम्म पुग्दा एउटा सक्षम प्रहरी बन्ने मौका पाए ।

अपराध अनुसन्धानकर्मी भएर काम गरे । युएन सेवामा १४ महिना सुडानको डार्फरमा र हाल अहिले महानगरीय प्रहरी वृत्त गौशालामा ११ महिनादेखि डीएसपीको रुपमा कार्यरत छन् श्रेष्ठ ।

लामो समयदेखि प्रहरी पेसाको अनुभव बटुलेका अनुपम प्रहरी र जनताबीचको सम्बन्ध मान्छेको सोचाइअनुसार फरक हुने बताउँछन्  । व्यक्तिको धारणामा प्रहरी कसरी बसेको छ, सोही अनुसार दुई पक्षको सम्बन्ध भर पर्ने भए पनि श्रेष्ठको अनुभवमा भने प्रहरीहरुले कार्य क्षेत्रमा गर्ने काम बुझ्न र बुझाउनसके प्रहरी र जनताबीचको सम्बन्ध सधैँ सुमधुर हुन्छ भन्ने सकारात्मक धारणा छ । 

उनी कुनै केस बुझ्न र बुझाउन नसक्ने भएकाले सम्बन्ध नराम्रो हुने बताउँछन् ।  ‘पारदर्शी रुपले काम गर्ने हो र कम्युनिकेसन गर्ने हो भने सम्बन्ध राम्रो हुन्छ’, उनी भन्छन् । प्रहरीसँग खाली समय नहुने भएकाले कार्यालयमा आउने सेवाग्राहीबाहेकका स्थानीयसँग जाने, भेट्ने र गफ गर्ने समय नभएको उनी स्वीकार गर्छन् । तर अरुले गरेको कुरा, आफूले गरेको काम र अफिसले दिएको सुझाव सुन्दा उनलाई आफ्नो र जनतासँगको सम्बन्ध  राम्रो नै छ भन्ने लाग्छ ।  

प्रहरी प्रशासन र जनताबीचको सम्बन्ध  

सामान्यतया प्रहरी प्रशासन र जनताबीचको सम्बन्ध राम्रो छ भन्ने लाग्छ उनलाई  । सेवाग्राही धेरै किसिमको केस लिएर आउँछन्, जुन कतिपय आफ्नो अधिकार क्षेत्रभित्र पनि पर्दैन । तर आफूले पीडामा परेका जनतालाई सोही किसिमको सहयोग गर्नुपर्छ भन्ने उनको बुझाइ छ ।

हेरेकामध्ये उनलाई गर्व लाग्ने केसहरुमा पशुपति भिजनको होटलभित्रको हत्या,  बालिकाको बलात्कारको घटनामा संलग्नलाई समाती कारबाही गर्न सफल भएको केस हो ।

उनका अनुसार सामान्यदेखि जटिलसम्मका केसहरु प्रहरीकहाँ आइपुग्छन्, किनकि प्रहरी नै पीडित नागरिकको पहिलो आधार हो । कसैले तलब नपाएको, कसैले पारिवारिक पीडामा परेको, कसैले हेपेको भन्ने खालका समस्या समेत प्रहरीमा आइपुग्छ, यस्तो समस्याको समाधान पनि सजिलो त छँदै छ, यसले प्रहरी र नागरिकलाई एकआपसमा भावनात्मक रुपमा पनि जोड्ने उनी बताउँछन् । सामान्य दुःख पर्दा पनि नागरिकले प्रहरीलाई सम्झिनु स्वयं प्रहरीकै लागि पनि नागरिकसँग सम्बन्ध विस्तार गर्ने पहिलो खुड्किलो रहेको उनी स्वीकार्छन् । 

प्रहरी भनेको जनताको सेवक हो । संगठन वा प्रहरी कर्मचारी भइसकेपछि कसैलाई दुव्र्यवहार गर्ने, अनादर गर्ने कुनै नीति, नियम, कानुन छैन । तर एक÷दुई जनाको कारण प्रहरीप्रति नकारात्मक धारणा रहने गरेकोमा उनको स्वीकारोक्ति छ । उनी त्यसलाई सुधार्नुपर्ने औँल्याउँछन् । 

श्रेष्ठले सल्टाएका केसहरु

लामो समयदेखि जनताको सेवा गर्दै आएका अनुपमले आफ्नो जीवनमा धेरै केस हेरेका छन् । हेरेकामध्ये उनलाई गर्व लाग्ने केसहरुमा पशुपति भिजनको होटलभित्रको हत्या,  बालिकाको बलात्कारको घटनामा संलग्नलाई समाती कारबाही गर्न सफल भएको केस हो ।

प्रहरीलाई विभिन्न लोभलालच देखाएर कर्तव्यबाट डिस्टर्ब गर्न पैसाको अफर नआएको होइन, तर उनले त्यसरी आउनेलाई पैसासहित पक्राउ गरी कारबाही गरेका छन् ।

पशुपति क्षेत्रमा लागूऔषधको नियन्त्रणमा कमी ल्याउन श्रेष्ठले धेरै मिहिनेत गरेका छन् । यसमा उनी र गौशाला प्रहरी सफल भएको छ ।  ठूला ठूला बिजनेस हबदेखि ससाना क्षेत्र, मेनपावर, धार्मिक संस्थाहरु प्रहरीको लागि चुनौतीपूर्ण रहेको उनको अनुभव छ ।  

नियम नमान्ने, कानुन हातमा लिनेलाई निकै कडा भएर उनको संगठन प्रस्तुत हुने गरेको छ । वास्तवमा प्रहरी भनेको सामूहिक दायित्व हो, यसमा उनको संगठन सफल भएको उनी सगौरव बताउँछन् । यस्ता खाले केसहरुमा कारबाहीको संख्या, मुद्दा मामिलाको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा तीन गुणाले बढेको प्रहरीको तथ्यांक छ । जति कारबाही गर्न सफल भयो त्यति नै समाजमा कानुनको स्थापना हुँदै जान्छ । 

खाजा घरको नाममा हुने विकृति हदैसम्म नियन्त्रण गरेको वृत्तले २५ जना सञ्चालकलाई कारबाही नै गरिसकेको छ । 

गौशाला प्रहरीले सूचनाको स्रोत बढाएको छ भने वृत्तले तीन महिनाको अन्तरालमा डेढ किलोभन्दा बढी सुन बरामद गरेर सम्बन्धित निकायमा समेत बुझाइसकेको छ । त्यस्तै अवैध रुपमा वैदेशिक मुद्रा बिक्रीवितरण गर्नेलाई समेत पक्राउ तथा नियन्त्रण गरेको छ । खाजा घरको नाममा हुने विकृति हदैसम्म नियन्त्रण गरेको वृत्तले २५ जना सञ्चालकलाई कारबाही नै गरिसकेको छ । 

त्यस्तै, डान्स बारको नाममा अनैतिक गतिविधिमा निगरानी बढाएको छ भने ग्राहक ठग्ने धेरैलाई कारबाहीको दायरामा ल्याएको छ । गुण्डा गर्दी नियन्त्रणमा त वृत्तले शून्य सहनशीलता अपनाएको छ । प्रहरीको यस्तो चुस्ततालाई  श्रेष्ठ निरन्तर प्रक्रिया भएको बताउँछन् । अपराधहरुविरुद्ध निर्मम भएर प्रस्तुत हुने प्रहरी स्वभावलाई आफूले निरन्तरता दिएर कार्यान्वयनमा जुटेको श्रेष्ठको दाबी छ । 

त्यस्तै, उनी रहेको वृत्तको कार्यक्षेत्रमा पर्ने फुटपाथ व्यवस्थित गर्न प्रहरीले महानगरसँग सहकार्य गर्दै आएको, जनचेतनाका कार्यक्रमलाई तीव्र पारेको, अपराध अनुसन्धानलाई चुस्त पारेको उनी बताउँछन् । 

योजनाहरु 

श्रेष्ठ आफूलाई व्यक्तिभन्दा ज्यादा प्रहरी ठान्छन् । त्यसकारण पनि उनलाई आफ्नो व्यक्तिगत इच्छापूर्तिभन्दा संगठनलाई सफल पार्ने महत्वाकांक्षा छ । फेरि उनको महत्वाकांक्षा दुनियाँले सोच्ने सपनाको संसार जित्नेजस्तो पनि छैन ।

उनको कार्यक्षेत्र गौशाला प्रहरी वृत्त र यसले हेर्ने वरपरको वस्तुस्थिति, सुरक्षा र शान्तिपूर्ण वातावरण कायम गर्न प्रहरीले गर्ने जनसेवा नै उनको महत्वाकांक्षा हो । सोही कारण उनी पशुपति क्षेत्रलाई लागूऔषधरहित बनाउन चाहन्छन् । त्यसमा वृत्तले प्रभावकारी कदम चालेको र चालिरहने उनको भनाइ छ । 

उनलाई आफ्नो व्यक्तिगत इच्छापूर्तिभन्दा संगठनलाई सफल पार्ने महत्वाकांक्षा छ । फेरि उनको महत्वाकांक्षा दुनियाँले सोच्ने सपनाको संसार जित्नेजस्तो पनि छैन ।

यसका लागि दुई उपाय रहेको उनी बताउँछन् । एक त प्रहरी शून्य सहनशीलता भएर अपराधनियन्त्रणमा लागिरहने र अर्को जनचेतना विस्तारलाई तीव्र पारी जनतालाई पनि प्रहरीको क्रियाशीलतामा सहयोगी बनाउने ।

तर यो सबैका लागि पनि प्रहरी आफूचाहिँ साधनस्रोत सम्पन्न हुनुपर्छ नभए अस्वस्थ शरीरले दौडेर मेडल त्यसै जित्न सक्दैन । गौशाला प्रहरी वृत्त बलियो हुने भनेको साधनस्रोत पर्याप्त हुनु हो, तर यहाँ त्यसको अभाव भने खड्किएको छ । भवन, ब्यारेकलगायतको अभाव टड्कारो छ । 

हजुरबाको याद 

खरीबोटसँग आफ्नो जीवनलाई पुनः एकपटक सिंहावलोकन गरेका श्रेष्ठले जसको प्रेरणाबाट आफ्नो करिअर बनाएर अगाडि बढिरहेका छन्, उनै आफ्ना हजुरबुबा भने अहिले यो संसारमा छैनन् । उनका लागि प्रहरीसेवासँग साइनो गाँसिदिने हजुरबुबाको मृत्यु निकै दुःखद यादगार हो ।

आफू राष्ट्रसंघीय मिसनमा कर्तव्यपरायण रहेकै बेला उनले हजुरबुबा गुमाउनुपरेको थियो । त्यसो त उनको जिन्दगीको सुखद क्षण पनि छ । जब उनका एक छोरा र छोरीको जन्म भयो, त्यो क्षण उनी आफ्नो जिन्दगीकै सबैभन्दा खुसीको क्षण मान्छन् ।

सम्बन्धित समाचार

जनतासँग सधैँ नजिकिन चाहने डीएसपी अनुपम श्रेष्ठ 

काठमाडौं । २०३६ सालमा आमा ईश्वरी श्रेष्ठ र बाबु कृष्ण कुमार श्रेष्ठको जेठो  सन्तानको रुपमा काठमाडौँमा जन्मिएका हुन् अनुपम श्रेष्ठ । उनका दुई भाइ छन् । उनका दुई भाइमध्ये माइला