• २०८१ बैशाख ७ शुक्रबार

नलगाड जलविद्युत्का लागि छुट्याएको रकमले मुआब्जा दिनै नपुग्ने

kharibot

जाजरकोट । सरकारले आगामी वर्षको बजेटमा ४१० मेगावाटको नलगाड जलविद्युत् आयोजनाका लागि नाम मात्रको बजेट विनियोजन गरेको स्थानीयवासीले गुनासो गरेका छन् । 

विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणको चरणमा रहेको आयोजनालाई समेत कम प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दा जाजरकोटवासी चिन्तित बनेका छन् । 

आयोजनाको मुआब्जा वितरणका लागि करीब तीन अर्ब बजेट माग गरिएकामा रु डेढ करोडमात्र विनियोजन भएको छ । आयोजनाका लागि पाँच हजार ४०० रोपनी जग्गाको मुआब्जाका लागि रु दुई अर्ब ७३ करोड रकम माग गरेकामा सरकारले रु डेढ करोड मात्र विनियोजन गरेको कम्पनीका कार्यकारी प्रमुख नरेन्द्रसिंह भण्डारीले बताए । 

कम बजेट विनियोजन हुँदा डिपिआर, मुआब्जा वितरण र कन्स्ट्रक्सन पावर निर्माणलगायत कार्य अलपत्र पर्ने भण्डारीले बताए  । ‘नलगाड हाइड्रोपावरको सब प्रोजेक्टका रूपमा रहेको चार मेगावाटको ताँसुगाड जलविद्युत् आयोजना निर्माणका लागि रु एक अर्ब बजेट प्रस्ताव गरेका थियौँ तर रु एक करोड पनि विनियोजन भएन । 

चालू आर्थिक वर्षसम्म ३०५० रोपनीको मात्र मुआब्जा वितरण भएको उनको भनाइ छ । आगामी आवका लागि विनियोजित रु एक करोड ५० लाखले २५ रोपनी जग्गाको मुआब्जा पनि दिन नपुग्ने उनको भनाइ छ । मुआब्जा वितरण र कन्स्ट्रक्सन पावर निर्माण कार्य एकर दुई वर्षभित्र पूरा नभए आयोजनाले गति नलिने उनले बताए । 

आगामी आवको बजेट हेर्दा नलगाड हाइड्रोपावर छिट्टै पूरा नहुने अवस्था नदेखिएको स्थानीय लक्ष्मण सिंह बताए । “अबको पाँच÷सात वर्षमा आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखे पनि बजेट विनियोजनको अवस्था हेर्दा २० वर्षसम्म पनि बन्ने देखिँदैन” सिंहले भने । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै