• २०८१ बैशाख ८ शनिबार

सिरहामा सीतापुर बजारको स्वरुप फेरिँदै

kharibot

लहान /  अतिक्रमित र कुरुप बजारको रुपमा परिचित सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका– ६ सीतापुर बजार अहिले आफ्नो पहिचान फेर्न लागेको छ । 

सम्बन्धित निकायको उपेक्षाका कारण कुरुप बनेको सीतापुर बजारको स्वरुप स्थानीय तहमा जनप्रतिनिधि आएसँगै फेरिन लागेको हो । सडक अतिक्रमण गरी स्थानीयवासीले घर र पसल बनाउनुका साथै जथाभावी रुपमा फोहोर फाल्न थालेपछि कुरुप बनेको हो । 

सीतापुर गाउँपालिका–६ का वडाध्यक्ष राजेश्वर साह सुडीले सीतापुर बजारस्थित आफ्नो घर र पर्खाल भत्काएर सडक अतिक्रमण हटाउने अभियान शुरु गरेका हुन् । स्थानीयवासीले पनि सडकमा पर्ने आफ्नो पर्खाल र घर आफै भत्काउन थालेका छन् । 

जनप्रतिनिधि आएसँगै गणेशपुर–सीतापुर–नर्गीसम्मको सो सडकलाई २२ फिटबाट ३४ फिटको बनाउन थालिएपछि बजार फराकिलो र सुन्दर बन्न लागेको छ । चालु आर्थिक वर्ष २०७४÷७५ को वडास्तरीय योजनाअन्तर्गत उक्त सडकको दुई किलोमिटरसम्मको सडक स्तरोन्नतिसँगै माटो र ग्राभेलको काम धमाधम भइरहेको स्थानीयवासी पप्पु यादव बताउछन्  । 

सडक साँघुरो हँुदा यातायातका साधन आवागमनमा असहज हुनुको साथै दुर्घटना हँुदै आएको थियो । दुई दशकसम्म जनप्रतिनीधि नहँुदा विकास निर्माण ठप्प भएको थियो । जनप्रतिनिधि आएपछि गाउँपालिकामा विकासको लहर सिर्जना भएको स्थानीयवासी शंकर साहको भनाइ छ । 

“सडक, नाला र बिजुलीबत्तीलगायत पूर्वाधारको विकासमा गाउँपालिका र वडा कार्यालय लागिपरेका छन्,” साहले बताए । 

लहान नगरपालिकादेखि करीब पाँच किलोमिटरको दुरीमा सीतापुर बजार पर्छ । वडास्तरी विकास योजनाबाट सडक स्तरोन्नति र नाला निर्माणको काम भइरहेको वडाध्यक्ष सुडीले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै