• २०८१ बैशाख ८ शनिबार

रसिया विश्वकपको समुह ए : रसिया, उरुग्वे, इजिप्ट र साउदी अरब  

kharibot

काठमाडौँ । विश्वकप फुटबलमा सहभागी ३२ देशलाई ८ समुहमा बिभाजन गरेर लिग चरणका खेलहरु खेलाइदै छ । हरेक समुह रहेका टिमले एक अर्कासँग एक एक पटक खेल्ने छन् । समुहमा शिर्ष २ टिम अर्को चरणमा पुग्ने हुनाले हरेक समुहबा २ टिमको पहिलो चरण मै विश्वकपको यात्रा सकिने छ ।

यस्तैमा समुह ए बारे केहि चर्चा गरौ । समुह ए मा आयोजक रसिया, दुई पटक विश्वकप जितेको उरुग्वे, साउदी अरब र इजिप्ट रहेका छन् । आयोजकका हिसाबले रसियाको दोस्रो चरणमा पुग्ने सम्भावना रहेपनि उरुग्वे यस समुहमा बलियो टिम देखिन्छ । त्यस्तै प्रिमियर लिगका स्टार खेलाडी मोहमद सलाह इन्जुरीबाट निस्केमा इजिप्टपनि सशक्त भएर प्रस्तुत हुन् सक्दछ । त्यस्तै साउदी अरबले पनि अभ्यास खेलमा जर्मनीजस्तो ठुलो टिमविरुद्ध राम्रो खेलेकाले कम आक्न भने सकिदैन । 

यस समुहका खेलहरु जुन १४ मा रसिया र साउदी अरब, जुन १५ मा इजिप्ट र उरुग्वे, जुन १९ मा रसिया र इजिप्ट, जुन २० मा उरुग्वे र साउदी अरब त्यस्तै जुन २५ मा उरुग्वे र रसिया तथा साउदी अरब र इजिप्ट खेल्ने छन् ।

अब टिम अनुसार चर्चा गरौ :

रसिया : 

रसिया हाल फिफा वरियतामा ७०औ स्थानमा रहेको छ । यस अघिका विश्वकपमा समुह चरणभन्दा अगाडी पुग्न नसकेको रसिया यस पटक घरेलु मैदानमा खेल्ने भएका कारण दोस्रो समुहमा पुग्ने विस्वास गरिए पनि टिम त्यति बलियो भने मानिएको छैन । 

रसियाका पुर्वखेलाडी स्टेनस्लभ चेरचेसोभ म्यानेजर रहेको रसियालाई यस विश्वकपमा घरेलु दर्शकको दबाबका बीच राम्रो प्रदर्शन गर्नुपर्ने अतिरिक्त दबाब रहेको छ । विश्वकपको इतिहासमा अहिलेसम्म २०१० को आयोजक दक्षिण अफ्रीकामात्र समुह चरणबाट बाहिरिएको थियो भने रसिया दोस्रो टिम हुन् अवश्य चाहदैन । 

रसिया टिमका प्रमुख खेलाडीको कुरा गर्दा गोल किपर इगोर अकिनफीभ रहेका छन् । ३२ बर्षिय गोलकिपर इगोर टिमका कप्तान पनि हुन् । उनले मैत्रीपूर्ण खेलहरुमा केहि गल्ति गरेका थिए भने विश्वकपमा सो गल्ति नदोहोराउने आशा गरिएको छ ।

त्यस्तै रसिया टिममा युवा खेलाडी अलेकस्याण्डर गोलोभिन उदाउदा खेलाडीको रुपमा रहेका छन् । २२ बर्षिय गोलोभिन रसियाकै क्लब सिएसकेए मस्कोबाट व्यवसायिक फुटबल खेल्दछन् । उनलाई रसियाको युवापिढीको उत्कृष्ट खेलाडी मानिएको छ ।

साउदी अरबिया :

समुह ए को अर्को टिम हो साउदी अरेबिया । फिफा वरियतामा ६७औ स्थानमा रहेको साउदी अरबका म्यानेजर स्पेनका जुआन एन्टोनियो पिज्जी रहेका छन् जसले २०१६ को कोपा अमेरिकामा चिलीको म्यानेजर पद सम्हालेका थिए । 

साउदी अरबलाई जाइन्ट किलर टिमको रुपमा पनि हेरिएको छ । साउदी अरब उद्घाटन खेलमा आयोजक रसियासँग खेल्दै रहेकाले सुरुमै आफुलाई कसरी प्रस्तुत गर्छ भन्ने कौतुहलता रहेको छ । यस टिमका मुख्य खेलाडी मोहमद अल साहलावि रहेका छन् । उनले विश्वकप छनौटमा १६ गोल गर्दै धेरै गोल गर्ने खेलाडी बनेका थिए । सह्लावीले म्यान्चेस्टर युनाइटेडमा पनि तीन साता प्रशिक्षण लिएर विश्वकपको तयारी गरेका छन् । उनलाई साउदी अरबको प्रमुख खेलाडीको रुपमा हेरिएको छ ।

त्यस्तै यस टिममा २३ बर्षिय फहाद अल मुवाल्लादलाई उदाउदा खेलाडीको रुपमा हेरिएको छ । साउदीका लागि १० खेल खेलेका अहाद ला लिगामा लेभांटेमा लोनमा गएका छन । 

इजिप्ट : 

यस समुहको अर्को टिम इजिप्ट हो । फिफा वरियतामा ४५औ स्थानमा रहेको इजिप्टमा अर्जेन्टिनी हेक्टर कुपर म्यानेजर रहेका छन्, जसले भ्यालेन्सियालाई सन २००० र २००१ मा लगातार च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका थिए । 

यस टिमलाई दोस्रो चरणमा सजिलै पुग्ने टिमको रुपमा हेरिएको छ । आफ्ना प्रमुख खेलाडी मोहमद सलाहको इन्जुरीबाट फर्किने व्यग्र प्रतिक्षा गरेको इजिप्टले सलाह टिममा आएमा सजिलै दोस्रो चरणमा जाने अनुमान गर्न सकिन्छ ।

यस टिमका प्रमुख खेलाडी २८ बर्षिय मोहमद सलाह नै हुन् । हालै इजिप्टमा भएको निर्वाचनमा दश लाख मतदाताले सलाहको नाम लेखेर भोट खासाले पछि मत रद्ध भएको थियो । यसबाट पनि उनि इजिप्टका लागि कति ठुला खेलाडी हुन् सजिलै अनुमान लगाउन सकिन्छ । लिभरपुलबाट व्यवसायिक फुटबल खेल्ने सलाह विश्वकप अघि नै टिममा फर्किने विस्वास गरिएको छ ।

त्यस्तै यस टिममा २३ बर्षिय ट्रेजेगुयटलाई उदाउदा खेलाडीको रुपमा हेरिएको छ । उनको असली नाम महमाउद इब्राहिम हसन हो तर उनले आफ्नो नाम फ्रान्सका पुर्व राष्ट्रिय खेलाडी ट्रेजगुयटको नामबाट राखेका छन् ।

उरुग्वे :

यस समुहको सबैभन्दा बलियो टिम उरुग्वे हो । फिफा वरियतामा १६औ स्थानमा रहेको उरुग्वे यसअघिको विश्वकपमा दोस्रो चरणमा पुगेर बाहीरिएको थियो । पछिल्लो १२ बर्षदेखि उरुग्वेको राष्ट्रिय टिमलाई कोचिंग गरिरहेका अनुभवी ओस्कार ताबारेज उरुग्वेका म्यानेजर रहेका छन् । राष्ट्रिय टिमका लागि १४१ खेलमा म्यानेजर बनि सकेका ओस्कारको अनुभवले पनि उरुग्वेलाई यस विश्वकपमा अगाडी पुर्याउने विश्वास गर्न सकिन्छ ।

यस टिममा बार्सिलोनाबाट खेल्ने लुइस स्वरेज, पिएसजीबाट खेल्ने एडिसन कभानी जस्ता स्टार खेलाडी रहेका छन् । स्वरेज यस टिमका प्रमुख खेलाडी हुन् । आक्रामक फुटबल खेल्ने टिम भनेर चिनिएको उरुग्वेका लागि स्वरेजले ९८ खेलमा ५१ गोल गरेका छन् । बार्सिलोनामा उत्कृष्ट फर्ममा रहेका स्वरेजले ला लिगा र कोपा डेल रेको उपाधि जिताउन महत्वपूर्ण भुमिका खेलेका थिए ।

यस टिममा इटालीको लिगमा युभेन्टसबाट खेल्ने २० बर्षीय रोड्रीगो बेन्टानचुरलाई उदाउदा खेलाडीको रुपमा हेरिएको छ । उरुग्वेको अन्तिम दुई क्वालिफायर खेल खेलेका रोड्रीगो दुवै खुट्टाले खेल्न सक्ने प्रतिभावान खेलाडीको रुपमा हेरिएको छ । उरुग्वेले समुह चरण सजिलै पर गरि अन्तिम १६ हुदै क्वाटरफाइनलसम्म पुग्ने टिमको रुपमा हेरिएको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै