• २०८१ बैशाख १३ बिहीबार

एकता बारे फोरमले गर्यो खण्डन, नेकपाका नेता भन्छन् – फोरम, नयाँ शक्ति र माओवादीसँग एकता  हुन्छ ! 

kharibot

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विचार र कार्यशैलीमा तुलनात्मक रुपमा नजीक संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी, नेकपा (क्रान्तिकारी–माओवादी) लगायत पार्टीसँग एकताका लागि अनौपचारिक वार्ता शुरु गरेको छ । 

विकास, समृद्धि, सुशासन र समाजवादोन्मुख लक्ष्यमा केन्द्रित हुँदै दुई तिहाइको सरकार बनाएको नेकपाले पार्टीलाई क्रमशः बृहत् बनाएर राष्ट्र निर्माणमा एकीकृत हुन पहल गरिरहेको छ । हालै दुई मन्त्रीसहित सरकारमा आएको उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको फोरमसँग एकताका लागि अनौपचारिक छलफल भइरहेको छ । सो प्रक्रियाले प्रदेश नं २ को सत्ता गठबन्धनमा हेरफेर हुन सक्ने समेत देखिएको छ । प्रतिनिधिसभामा फोरमका १५ सांसद् तथा नयाँ शक्तिका एक सांसद् छन् । 

यही जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकता भई दल दर्तासँगै विधान प्रकाशन र मातहतका कमिटीको एकताको आन्तरिक प्रक्रियामा जुटेको नेकपाले अन्य समूहसँगको एकतालाई खुला राखेर अनौपचारिक वार्ता चलाएको छ । नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने, “मुलुकको समृद्धिका लागि विगतमा फरक स्कुलिङबाट आएका र एक प्रकारले प्रतिष्पर्धी रहेका एमाले र माओवादी केन्द्रको ऐतिहासिक एकता सम्पन्न भइसकेको छ । अब अन्य कम्युनिष्ट र समूहसँगको एकताका लागि पनि हामीले खुला राखेका छौँ ।” 

नेता पौडेलले चन्द नेतृत्वको नेकपा र नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदूर किसान पार्टीबाहेक राजमोलगायत सबै कम्युनिष्ट पार्टी ढिलो चाँडो एकतामा आउने ठोकुवा गरे । उनका अनुसार मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका अधिकांश नेता पनि एकता र सहकार्यका लागि निरन्तर सम्पर्कमा छन् । 

उनले डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकताका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच एक चरण छलफल भइसकेको छ । डा भट्टराई र फोरमका अध्यक्ष यादवले सकेसम्म पार्टीको नाममा कम्युनिष्ट नराखी समाजवादी राख्न सुझाव दिएको बताए । फोरमले आफ्नो राजनीतिक दस्तावेजमा माक्र्सवादी सिद्धान्तलाई मानेकाले एकतामा अन्य समस्या नभएको पौडेलको भनाइ छ । 

गत असोज १७ गते एमाले र माओवादी केन्द्रको चुनावी तालमेलको घोषणा भएको दिन नयाँ शक्ति पनि सामेल भएकामा पछि तालमेलबाट अलग भएको थियो । “नेता डा भट्टराईलाई ल्याउनुपर्छ, एक्लो महावीर भएर कहीँ पुगिन्न, सबै एक भएर जानुपर्छ”, पौडेलले आज केही सञ्चारकर्मीसँग भने, “मुलुकको शासकीय स्वरुपका विषयमा पनि नेकपा, फोरम, नयाँ शक्तिबीच करीब समान मत छ । संविधान निर्माणका समयमा तत्कालीन माओवादी केन्द्र, फोरम र नयाँ शक्तिले कार्यकारी राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेका थिए भने तत्कालीन एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव गरेको थियो । अहिले सदन र सरकारमा दुई तिहाइ पुगेको छ, अनुकूल समयमा मुलुकको स्थिरताका लागि यो प्रणालीमा जानका लागि हामीले बहस पनि चलाइरहेका छौँ ।” 

नेता पौडेलले जनताको चाहना र आवश्यकता पूरा गर्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई साथमा लिएर तथा छिमेकी भारत र चीनसँग सम्बन्ध विस्तार गरी चुनावी साझा घोषणापत्र, सरकारको नीति तथा कार्यक्रम र बजेट एवं प्रधानमन्त्री ओलीका प्रतिबद्धतालाई पूरा गरी विकास र समृद्धितर्फ मुलुकलाई अगाडि बढाउनुको विकल्प नभएको बताए । 

उनले वर्तमान सरकारले सुरुङमार्ग, रेलमार्ग, द्रुतमार्ग, मदन भण्डारी मार्ग र केही ठूला परियोजना अगाडि बढाउन नीति तथा कार्यक्रम र बजेटमा समेत व्यवस्था गरेको छ भन्दै आगामी पाँच वर्ष विकासको आधार तयार पार्ने र अर्को पाँच वर्ष नेपाललाई मध्यम आय भएको मुलुकमा लैजाने सरकारको सोच रहेको बताए । उनले भने, “सरकार र सदनमा दुई तिहाइ समर्थन भएकाले न्यायालय र अन्य निकायले पनि विकास र समृद्धिका काममा कुनै अवरोध नगर्ला । यस अवसर र चुनौतीलाई सरकार र पार्टीको नेतृत्वले उपयोग गर्नुपर्छ ।”

तत्काल एकताको सम्भावना छैन – फोरम 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नवगठित दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले दुई पार्टी एकता हुन लागेको भनी प्रचारित हल्लामा कुनै सत्यता रहेको बताएका हुन् । 

केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यस्तो प्रचार गरिए पनि त्यसप्रति ध्यानाकर्षण भएको यादवको भनाइ छ । ‘संघीय समाजवादी फोरम नेपालको गत वैशाख २१ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दल÷पार्टीसँग एकीकरण गर्न सकिने निर्णय गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तर, यसबीच फोरम, नेपाल र नेकपाबीच एकीकरणको सन्दर्भमा तत्काल कुनै पनि सम्भावना नरहेको अवस्थामा पनि पार्टी एकीकरण हुन लागेको भन्दै सुनियोजित ढंगले जनतामा भ्रम सिर्जना हुने गरी प्रचार गरिँदै छ ।’ 

यी हल्लाहरु सत्य नभएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘यस्ता प्रायोजित एवं निराधार समाचारहरुमा कुनै सत्यता नरहेको तर्फ पनि सम्पूर्ण पार्टी पंक्ति र आमजनतालाई स्पष्ट पार्न चाहन्छौं ।’

 

राससका लागि प्रकाश सिलवाल र रमेश लम्सालको सहयोगमा 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै