• २०८१ बैशाख १३ बिहीबार

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको तोकिएको जग्गाभित्र उपमहानगरपालिकाले डिप बोरिङ गाड्दै

kharibot

बारा । बाराको टाँगियाबस्तीमा बन्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम एका तिर धमाधम अघि बढी रहँदा अर्को तिर सरकारी बजेट प्रयोग गरी खानेपानीका लागि धमाधम डिप बोरिङ्ग धसाउँने कार्य भईरहेको छ । 

जीतपुरसिमरा उपमहानगरपालिकाको लगानीमा वडा नं.१६ स्थित टाँगियाबस्तीमा डिप बोरिङ्ग धसाउँने काम राज्यलाई चुनौती दिदै शुरु गरिएको हो । 

सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि तोकिएको चार किल्ला भित्र कुनै संरचना निर्माण वा राज्यका तर्फबाट थप लगानी नलगाउँन भनिएपनि उपमहानगरपालिकाले २० लाखको लागतमा चार वटा खानेपानी डिप बोरिङ्ग धसाउँन ठेक्केदार पक्षसँग सम्झौता गरी धमाधम काम थालिएको छ । 

विमानस्थल निर्माण क्षेत्र भित्र डिप बोरिङ्ग धसाउँने काम बारे आयोजनालाई कुनै जानकारी समेत नदिई मनोमानी गरेको दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल आयोजना सिमरा बाराका वरिष्ठ अधिकृत एवंम् सुचना अधिकारी विजय यादवले बताए । 

यता मानव जीवनका लागि खानेपानी नभई नहुँने भएकाले उपमहानगरपालिकाको लगानीमा डिप बोरिङ्ग धसाउँने कार्य शुरु गरिएको जीतपुर-सिमरा उपमहानगरपालिकाका मेयर डा.कृष्ण पौडेलले बताए ।

भर्खरै वातावरणिय प्रभाव मुल्याङ्कनको प्रतिवेदन स्वीकृत भई यहाँ विमानस्थल निर्माणको ढोका खोल्न थप मद्दत पुगेको छ । उक्त प्रतिवेदन स्वीकृत पछि रुख कटानका लागि आवश्यक कार्य अघि बढ्ने कानुनी आधार समेत खुलेको छ । सो क्षेत्रमा पर्ने लगभग २५ लाख रुख कटान हुने अनुमान गरिएको विजय यादवले बताए । 

निर्माण गरिने विमानस्थलको पश्चिम सिमानामा पर्ने राजमार्गसँगैको पसाहा खोला किनारमा ७ सय ५० मिटर लम्बाईको तटबन्ध बनि सकेको छ । लाल बकैया खोलामा तटबन्धका लागि सर्भे र डिजाईनको काम भई रहेको छ । भने , चारै तिर तार घेरावाराको कार्य समेत तिब्रताका साथ भई रहेको छ । 

यस विमानस्थल निर्माणका लागि कूल ११ हजार ८ सय ७५ विघा क्षेत्रफल जमीन चाहिने हुँन्छ । विमानस्थल क्षेत्र भित्र पर्ने एक सय १० विघा लालपूर्जा भएका नम्बरी जग्गा अधिग्रहण गर्न आयोजना लागि परेको आयोजना सिमरा बाराका वरिष्ठ अधिकृत एवंम् सुचना अधिकारी विजय यादवले बताए । 

एक सय ४० जनाको मुआब्जा लिनका लागि निवेदन परेको जस मध्ये ५२ जनालाई मुआब्जा वितरण गरि सकेको सो मध्ये २१ जनालाई मुआब्जा वितरण गर्ने अन्तिम प्रकृयामा रहेको उनले बताए ।

यहाँ विमानस्थल निर्माणका लागि सात करोड ५० लाख तटबन्ध बनाउँन , जग्गा मुआब्जाका लागि २२ करोड र प्रशासनिक खर्च गरी अहिले सम्म ३७ करोड खर्च भई सकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै