• २०८१ बैशाख ७ शुक्रबार

एक खर्ब ५४ अर्बको पेट्रोलियम पदार्थ आयात: नेपालको कुल निर्यात ६६ अर्ब !

kharibot

काठमाडौं । नेपालले चालू आर्थिक वर्ष २०७४/७५ को १० महिनामा एक खर्ब ५४ अर्ब नौ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । यातायातका साधनको बढ्दो खपतसँगै पेट्रोलियम पदार्थको प्रयोग पनि उत्तिकै मात्रामा वृद्धि हुँदै गएपछि र केही पूर्वाधारका कामका कारण पनि पछिल्लो समयमा पेट्रोलियम पदार्थको आयात उच्च विन्दुमा पुगेको छ ।

नेपालले एक खर्ब रुपैयाँ बराबरको पनि व्यापार गर्न नसकेको अवस्थामा अहिले पेट्रोलियम पदार्थ किन्न सक्ने गरी नेपालले आफ्ना वस्तु तथा सेवाहरु बाह्य बजारमा निर्यात गर्न सकेको छैन । अहिले सवारी साधनहरुको बढ्दो प्रयोगका कारण व्यापार घाटामा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा उच्च रहेको छ । मुलुकभर सार्वजनिक सवारी साधनमात्रै दुई लाखभन्दा बढि सञ्चालनमा छन्, भने निजी सवारी साधन पनि लाखौँमा सञ्चालन हुँदै आएका छन् । 

वषौंदेखि चुलिदै आएको वैदेशिक व्यापार घाटा चालू आर्थिक वर्षको १० महिनामा नौ खर्ब १५ अर्ब ९० करोड तीन लाख १७ हजार रुपैयाँ पुगेको छ । भन्सार विभागको चालू आर्थिक वर्षको १० महिनाको तथ्यांकअनुसार नेपालको कुल वैदेशिक व्यापार १० खर्ब ४९ अर्ब १९ करोड ९१ लाख रुपैयाँ पुग्दा नेपालबाट भने ६६ अर्ब ६४ करोड रुपैयाँका वस्तु तथा सेवाहरु निर्यात भएका छन् । वैदेशिक व्यापारमा प्रायः जसो नेपालको कुल निर्यात एक खर्ब पनि पुग्न सकेको छैन । 

गत आर्थिक वर्ष २०७३/७४ को १० महिनामा नेपालको कुल वैदेशिक व्यापार आठ खर्ब ६८ अर्ब २२ करोड ६१ लाख रुपैयाँ थियो, भने गत आर्थिक वर्षमा नेपालले १० महिनामा ६० अर्ब ९५ करोड ३० लाख रुपैयाँका वस्तु तथा समानहरु निर्यात गरेको थियो । निर्यातमा सानो अंश सुधार भए पनि पर्याप्त मात्रामा नेपालले अझै पनि वैदेशिक व्यापारमा आफ्नो हिस्सा बलियो बनाउन भने सकेको छैन ।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै