• २०८१ बैशाख ८ शनिबार

महानगरकी एक्ली वडा अध्यक्ष शोभा भन्छिन्-‘देशको सेवा पहिलो प्राथमिकता’

kharibot

काठमाडौँ महानगरपालिका वडा नं. १४ की वडा अध्यक्ष शोभा सापकोटा

काठमाडौं । २०१८ साल पर्वतको फलेबासमा आमा तील कुमारी उपाध्याय पौडेल र बाबु लक्ष्मीदत्त उपाध्याय पौडेलकी कान्छी छोरीका रुपमा जन्मिएकी हुन् शोभा सापकोटा । उनै शोभाले काठमाडौँ महानगरपालिकाको ३२ वडामध्ये एउटा मात्र १४ नं वडामा एमालेबाट महिला अध्यक्षमा चुनाव जितेकी हुन् । जनताका लागि काम गरेकै कारण चुनाव जितेको उनी दाबी गर्छिन् ।

काठमाडौँ महानगरपालिका वडा नं. १४ की निर्वाचित वडाध्यक्ष उनको पारिवारिक पृष्ठभूमि कांगे्रसको राजनीति थियो । उनका घरमा कट्टर कांग्रेस थिए । जसले गर्दा उनी पनि स्वाभाविक रुपमा कांग्रेस नै थिइन् । एउटा कट्टर कांग्रेसको पारिवारिक सदस्य कसरी एमाले बन्न पुग्यो भन्ने प्रश्नमा शोभा भन्छिन्, ‘म १५ वर्षकी हुँदा मेरो विवाह बाग्लुङमा भयो, माइती कांग्रेस भए पनि घरपट्टि एमाले कम्युनिष्ट पार्टीका रहेछन् । यसैले गर्दा म एमाले बनेँ ।’ आफूलाई एमाले बन्न घरमा कसैले दबाब नगरेको उनको भनाइ छ । घरमा कम्युनिष्ट सिद्धान्त मन पराउने भएको र बेलाबेला परिवारका सदस्यले कम्युनिष्ट किताब पढेको देख्दा आफूले पनि ती किताब पढ्नथालेको र विस्तारै कम्युनिष्ट पार्टी मन परेको उनको भनाइ छ । त्यसपछि २०४६ सालबाट उनी सक्रिय रुपमा एमालेमा लागिन् ।

महिलावादी श्रीमान् भएकाले राजनीति गर्न सहज भएको उनलाई लाग्छ । शोभालाई राजनीति गर्न घरमा कसैले नरोकेकै कारण उनी आजसम्मको राजनीतिक यात्रामा सफल भएकी हुन् । घरमा काम गर्नुपर्ने भएकाले र श्रीमान् सरकारी जागिरे भएकाले सँगै नेपालगञ्ज बसेको सुनाउँछिन् शोभा । सोही कारण उनले त्यहाँबाटै राजनीति सुरु गरिन् । त्यतिबेला भूमिगत हुनुपर्ने समय थियो । २०४२ सालमा भएको जनपक्षीय निर्वाचनमा एमालेबाट दिवाकर शर्मा घैँटो चिह्नमा उठेका थिए । उनी आउजाउ गर्ने तथा एमालेका विभिन्न पर्चा र पम्प्लेट लगाएका सामग्री देख्नथालेपछि उनलाई एमाले प्यारो लाग्दै गएको उनी बताउँछिन् ।  

शोभा भन्छिन्, ‘म १५ वर्षकी हुँदा मेरो विवाह बाग्लुङमा भयो, माइती कांग्रेस भए पनि घरपट्टि एमाले कम्युनिष्ट पार्टीका रहेछन् । यसैले गर्दा म एमाले बनेँ ।’ आफूलाई एमाले बन्न घरमा कसैले दबाब नगरेको उनको भनाइ छ ।

०४६ पछि सक्रिय राजनीतिमा

उनी २०४६ सालमा काठमाडौँ आइन् । त्यसपछि उनी पार्टीमा पूर्ण सक्रिय भएकी हुन् । हाल नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत भएकोले उनलाई यहाँ बसेर राजनीति गर्न सहज भएको उनको भनाइ छ । राम्रोसँग राजनीति काठमाडौँबाट सुरु गरेको र यहाँकै जनतासँग राम्रो परिचित भएका कारण हाल चुनाव जित्नसकेको उनी बताउँछिन् । २०६२-०६३ सालको जनआन्दोलनमा उनको हातखुट्टामा गम्भीर चोट लागेको थियो । उनले ६ महिनासम्म जेलजीवन समेत बिताएकी छिन् । सोही कारण उनी आफूलाई ‘जिउँदो सहिद’ भन्न रुचाउँछिन् । जनतासँग सामीप्य सम्बन्धका कारण उनीहरुकै लागि काम गर्दा धेरै खुसी लागेको उनी बताउँछिन् ।

निर्वाचित भएपछिका प्राथमिकताका काम

२० वर्षपछि भएको स्थानीय तहको चुनावबाट जनताले धेरै आशा गरेको र छिटै नै कायापलट गर्न नसके पनि आफ्नो प्राथमिकता भने १४ नं वडाको खानेपानी, ढल, बाटोको समस्या समाधान गर्ने तथा महिला दिदीबहिनीहरुलाई स्वरोजगार बनाउनेजस्ता कामहरु हुन पुगे । त्यसका लागि उनले कदम समेत चालिसकेकी छिन् । उनी भन्छिन्, ‘सुन्दर, हराभरा, धूलोमुक्त तथा उत्कृष्ट वडा बनाउने लक्ष्यपूर्तिका लागि काम सुरु गरिसकेको छु, केही त पूरा पनि भइसके ।’

१४ नं. वडाका वृद्धावस्थाका मानिसहरुलाई घरमै पुगेर स्वास्थ्य परीक्षण तथा भत्ता वितरणको काम सफल भइसकेको उनको भनाइ छ । पहिलो पटक प्राप्त २२ लाख बजेटले गल्ली गल्लीमा बत्ती राखेको, ढलको काम गरेको, ठाउँठाउँमा ढलान, ब्लक तथा बाटोको खाल्टाखुल्टी टाल्ने काम गरेको बताउने शोभाले दोस्रो चरणको बजेट ७५ लाखले पुनः चाँडै काम थाल्ने प्रतिबद्धता व्यक्त गरिन् । उनका अनुसार आफ्ना लागि सबै टोल बराबर हो ।

२० वर्षपछि भएको स्थानीय तहको चुनावबाट जनताले धेरै आशा गरेको र छिटै नै कायापलट गर्न नसके पनि आफ्नो प्राथमिकता भने १४ नं वडाको खानेपानी, ढल, बाटोको समस्या समाधान गर्ने तथा महिला दिदीबहिनीहरुलाई स्वरोजगार बनाउनेजस्ता कामहरु हुन पुगे ।

कलंकी चोकको फुटपाथको व्यवस्थापन

निर्वाचित भएलगत्तैबाट शोभाले सक्रियताका साथ जनताको समस्या सुन्न तथा समाधानमा लागिपरिन् । यसक्रममा उनले कलंकी चोकमा भएको फुटपाथ पसल हटाएकी छिन् । यसले वरपरको सौन्दर्य समेत थपेको छ ।

फुटपाथ पसल हटाउने उनको कुरामा धेरैले विरोध गरे, डर, धम्की देखाए पनि उनले काम गरेरै छाडिन् । फुटपाथ हटाए पनि त्यसलाई व्यवस्थित गर्न खाली जग्गाको व्यवस्था गरिएको र दैनिक २० देखि ५० रुपैयाँसम्ममा पसलेले तिर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । त्यस्तै उनले महिला सशक्तीकरणको लागि समेत केही रकम छुट्याएर काम सुरु गरेकी छिन् ।

पितृसत्तात्मक सोचले महिला पछि परे

नवनिर्वाचित महिला जनप्रतिनिध शोभालाई महिलाहरु पछाडि पर्नुमा समाजको पित्तुसत्तात्मक सोच नै मुख्य कारण हो जस्तो लाग्छ । उनी भन्छिन्, ‘समाजमा अहिले पनि महिलाहरुले केही गर्न सक्दैनन्, रातबिरात हिँड्नुहुन्न, घरायसी चौघेरामा बस्नुपर्छ भन्ने संकुचित धारणा छ ।’ उनको भाषामा यही संकुचित, पुरातनवादी र पित्तृसत्तात्मक सोचाइ व्याप्त भएकाले महिलाहरु हरेक क्षेत्रमा पछाडि परेका हुन् । यो स्थिति बदल्न आवश्यक रहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘महिलाले केही गर्न सक्दैनन् भन्ने सोचाइ अब परिवर्तन गर्नुपर्छ ।’

लक्ष्य

समाजसेवा तथा राजनीतिमा सक्रिय शोभाको एक मात्र लक्ष्य भनेको तन, मन र वचनले जनताको सेवा गर्ने हो । उनलाई जनताको सेवा गर्दा धेरै खुसी लाग्छ । उनी भन्छिन्, “मेरो लक्ष्य जनताको सेवा गर्ने हो जनताकै खुसीमा म खुसी हुन्छु ।’ पाँच वर्षसम्म देश र जनताकै लागि राम्रो काम गर्ने उनको मनसाय छ ।  

दुःख/सुख अनि रुचि

उनी जीवनमा धेरै खुसी भइन्, जब उनले चुनाव जितिन् । त्यो नै उनको जीवनको सबैभन्दा खुसीको क्षण हो भने आफ्नो सानो छोरो दुर्घटनामा परेको केही वर्ष अगाडिको क्षणले भने उनलाई झस्काउँछ । त्यतिबेला दुर्घटनाको खबर सुनेर उनी बेहोस नै भएकी थिइन् । त्यस्तै आफ्नो बाबुआमाको मुत्यु भएको समय पनि उनको दुःखको क्षण हो ।

सानोमा धेरै फिल्म हेर्न मन पराउने शोभाले फिल्म नहेरेको अहिले २० वर्ष भएको छ । आजकल कार्यव्यस्तताले फिल्म हेर्न नभ्याउने उनको भनाइ छ । उनलाई नारायण गोपाल लगायत पुराना गायकका गीतहरुले लोभ्याउँछ भने टिभीमा समाचार हेर्ने तथा रेडियो सुन्ने उनको बानी छ । उनी भन्छिन्, ‘एक्लै सानो आवाजमा रेडियो सुन्न मन पर्छ ।’

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै