• २०८१ बैशाख १३ बिहीबार

त्रिविमा कवि तुम्बेहाङ् लिम्बूको कवितासंग्रह भाङ्ना पर्खालको सयपत्री पुरस्कृत

kharibot

काठमाडौँ । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागमा नपालीभाषि भुटानी कवि तुम्बेहाङ् लिम्बूको कविताकृति भाङ्ना पर्खालको सयपत्रीलाई नेपाली भुटानी साहित्यतर्फ वर्ष २०१६ को उत्कृष्ट कृतिको रुपमा सम्मानित गरिएको छ ।

अमेरिकामा केन्द्रिय कार्यालय रहेको ग्लोबल भुट्निज लिट्रेररी अर्गनाइजेसनले २०१६ मै पुरस्कार घोषणा गरेको यो कृतिलाई अहिले त्रिविस्थित साहित्यिक सङ्गठन क्रियटिभ लिट्रेररी फोरमसँगको सहकार्यमा सम्मान गरेको हो ।

समीक्षक लीला लुँइटेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा लेखक राजन मुकारुङ, कवि उपेन्द्र सुब्बा, फिल्म निर्देशक प्रकाश आङ्देम्बे, कवि असीम सागर, प्राध्यापक महेश पौड्याल, प्राध्यापक राजकुमार बराललगायतका अतिथिहरुको उपस्थिति थियो ।

कार्यक्रममा कवि तुम्बेहाङ्लाई प्रमुख अतिथि लीला लुइँटेल, फोरमका संयोजक अनुप जोशी, तथा अतिथिहरुले संयुक्त रुपमा सम्मानित गरेका थिए ।

कार्यक्रममा भुटानी साहित्यमाथि आफ्नो मन्तव्य राख्दै समीक्षक लुइँटेलले भुटानी नेपाली साहित्यमा विशेषगरि कविता, महाकाव्य र गीत गजल नै बढी लेखिएको बताइन् । उनले भुटानमा नेपाली भाषाको विकासक्रमको बारेमा प्रकाश पार्दै भनिन्, “नेपाली जातीबाट प्रभावित भएर भुटानमा नेपालीहरुलाई लागिएको हो र त्यतिखेर देखि नै भुटानमा नेपाली भाषाको विकास भएको हो“ ।

कार्यक्रमा पुरस्कृत कवि लिम्बूले “भुटान”, “कतै तिमी ह्याक भएको त छैनौ”, “हाम्रो संघर्ष” लगायतका आफ्ना केहि कविता सुनाए । भुटानबारे कविता पढ्दै कविले भने :
संसार चिहाउने आँखीझ्यालसम्म यहाँ बन्द गरिएको छ
...शिर ठाडो गर्नु राष्ट्रघात हो

नेपाल र भुटानको साहित्यबारे बोल्दै लिम्बूले भने, “नेपाल आफ्नो देश हो यहाँ स्वतन्त्रता हुन्छ । हामी बाचेको मुलुकमा खुलेर यस्तो कार्यक्रम गर्न मिल्दैन । अझै पनि हामीलाई यस्तो किसिमको कार्यक्रम गर्न छुट छैन“ ।

लिम्बूले अर्को एउटा रुवाइयात यसरी सुनाए :

लामो समयको अन्तरालमा कविता सुनाउने मनसुवा जाग्ने गरेको छ
सुनाउँदै जाँदा समाज र देश परम्परा तोडेको आरोप लाग्ने गरेको छ
खै कविताको शास्त्रीय परिथि साँघुरो हो कि म नै नअट्ने भएको छु
तर मेरो गाउँ समाज र देशले मासँग यस्तै कविता माग्ने गरेको छ
 
सन्तोष निराले संचालन गरेको उक्त कार्यक्रममा उल्लेख्य संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो ।

नेपालीभाषी भुटानी लेखकको कृतिलाई विश्वविद्यालयमा सम्मान गर्नु अत्यन्तै ऐतिहासिक क्षेण भएको कार्यक्रमका अतिथि महेश पौड्यालले खरीबोटलाई बताए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै