• २०८१ बैशाख ११ मंगलबार

ललितपुरलाई स्मार्ट सिटी बनाउदै छौं - उपमेयर गीता सत्याल  

kharibot

काठमाडौं । २०३४ सालमा काभ्रेको खोपासीमा जन्मिएकी गीता सत्याल आमा कमला सत्याल र बाबु ऋषिकेश सत्यालका चार छोरीमध्येकी माइली छोरी हुन्  । 

काभ्रेमा जन्मिएकी गीताको बाल्यकाल गाउँले रहनसहनअनुसार काभ्रेमा नै बित्यो  । उनलाई बाल्यकालमा पटक्कै स्कुल जान मन लाग्दैनथ्यो । उनको आमाले फकाएर पठाउनुपर्थ्यो र पनि उनी भने स्कुल नगई अन्त अन्तै हराउँथिन् । 

मध्यमवर्गीय परिवारमा जन्मिएकी गीताले जब पढाइबारे बुझ्न थालिन्, त्यसपछि भने स्कुल पनि राम्ररी जान थालिन् । उनले नर्सिङसँगै नेपालीमा मास्टर डिग्री हासिल गरेकी छिन् । एसएलसीसम्म काभ्रेमै पढेकी उनले काठमाडौंबाट मास्टर गरेकी हुन् । 

स्कुलबाटै राजनीति सुरु :

काभ्रेमा जन्मिएकी गीताको राजनीतिसँगको साइनो भने २०४६ मा स्कुलबाटै सुरु हुन्छ । अरुहरुले सडकमा जिन्दावाद र मूर्दावाद भनेको सुन्दा सुन्दै उनको रगतमा राजनीति मिसिइसकेको उनको भनाइ छ । उनले ६ कक्षामा पढ्दै गर्दा राजनीति सुरु गरेको बताइन् । जबकि त्यतिबेलासम्म उनलाई राजनीति नै थाहा थिएन । त्यसपछि २०४८ सालमा ८ कक्षा पढ्दै गर्दा जब उनले नेविसंघको सदस्यता लिइन्, त्यसपछि भने उनी सक्रिय रुपमा राजनीतिमा लागिन् । २०४६ सालमा बहुदलीय प्रजातन्त्र आएसँगै हरेक स्कुलमा विद्यार्थी संगठन गठन गर्ने,  सदस्यता वितरण गर्ने कार्य सुरु भयो । श्रीराम माविबाटै उनले कक्षा आठमा पढ्दै गर्दा  नेविसंघको क्रियाशील सदस्यता लिइन् । त्यसपछि महिला संघ जिल्ला सदस्य ललितपुर, सचिव, नेपाली कांग्रेस जिल्ला पार्टीको जिल्ला सदस्य हाल नेपाल महिला जिल्ला संघ ललितपुरको जिल्ला अध्यक्ष  र  ललितपुर महानगरमा उपप्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी छिन्  ।

उपमेयरको जिम्मेवारी :

गीता सत्यालले ललितपुर महानगरपालिकामा उपमेयरको रुपमा काम गरेको एक वर्ष भइसकेको छ  । उपमेयरको जिम्मेवारीभित्र न्यायिक समितिको संयोजक, बजेट योजना तर्जुमाको संयोजक, बजार अनुगमनको संयोजकको भूमिका निभाउँदै आएकी छिन् । त्यसैले त उनी उपमेयरको जिम्मेवारीभित्र धेरै काम पर्ने बताउँछिन् । तर त्यो भूमिका भएता पनि निरन्तर रुपमा अघि बढ्नुपर्ने काम अगाडि बढ्न नसकेकाले बल्ल अहिले मात्र सिक्वेन्स मिल्न थालेको उनको अनुभव छ । उनका अनुसार सरकारले ऐन, नियम, कानुन दिन सकेन, जसले गर्दा जति हुनुपर्ने हो त्यति काम गर्न सकिएको छैन । स्थानीय शासन ऐन आएपछि भने काम गर्न सहज भएको उनको भनाइ थियो  ।
 
एक वर्षमा भएका कामहरु : 

स्थानीय सरकार आएको एक वर्ष बितिसकेको छ  ।  एक वर्षको अवधिमा ६ महिना ट्रायलकै रुपमा बितेको बताउँदै गीताले पछिल्लो छ महिनामा भने धेरै काम भएको दाबी गरिन् । 

सुशासन कायम, सेवाग्राहीलाई सेवा लिन कुनै अलमल नहुने तथा दुःख पाउने अवस्था नभएको र सहज रुपमा सेवा पाउने वातावरण बनाएको, डिजास्टर व्यवस्थापनको लागि फायर फाइटिङको ट्रेनिङ प्रदान त्यस्तै, फोहोर व्यवस्थापनको लागि हरेक वडामा महिला समूहमा गएर तालिम प्रदान र फोहोर व्यवस्थापनको लागि रातो र हरियो बाल्टिनको अवधारणा ल्याएको र कुहिने  नकुहिने फोहोर छुट्याई कुहिने फोहोरलाई घरमा नै मलको रुपमा व्यवस्थापन गर्ने र नकुहिने फोहोरलाई बिक्री गरेर मोहोर बनाउने काम सुरु गरेको उनले बताइन्  । 

त्यस्तै पुनर्निर्माणमा पनि भएकाले काम गर्न सकिएन भनेर निराश भएकी उनले हाल भने धेरै काम भएकामा उत्साहित भएको बताइन्  । भूकम्प गएको तीन वर्ष बितिसेको छ तर पुननिर्माणको काम सकिएको छैन । ललितपुरको पुनर्निर्माणको काम ६० प्रतिशत सकिएको र  बाँकी ४० प्रतिशत काम भइराखेको उनको भनाइ छ । अब एक महिनाको अवधिमा कृष्ण मन्दिर, नारायण मन्दिर लगायत धेरै देवलहरुको पुनर्निर्माण  सक्ने गरी काम अघि बढाएको उनले बताइन्  ।  

आगामी योजनाहरु : 

स्थानीय तह आएको एक वर्ष भइसकेको छ । जन चाहनाअनुसार काम भएन भन्ने गुनासो आइरहेको छ । सोही कारण सम्पूर्ण ललितपुरलाई समृद्ध, स्थानीय महिलाहरुलाई  उद्यमी, आर्थिक रुपमा सम्पन्न र स्वरोजगार सिर्जना गर्ने लक्ष्य रहेको उनले बताइन्  ।

ललितपुर महानगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गर्ने आफुहरुको योजना रहेको बताउदै उनले स्मार्ट सिटी भनेको जनताको आवश्यकता पूरा गर्नु हो र यो सम्भव पनि रहेको बताइन् । 

त्यसैले त उनलाई लाग्छ आर्थिक रुपमा महिला सक्षम नभएको र विभेदको कारणले महिला पछि परेका छन्  । आफ्नो मन नै परिवर्तन नभई समाज परिवर्तन हुन सक्छ भन्ने लाग्दैन् उनलाई  ।  सदियौँदेखि पित्तृसत्तात्मक सोच परिवर्तन हामीले सोचे जस्तै छिटो परिवर्तन हुन अझै समय लाग्ने उनको निष्कर्ष छ । 

सबै महिलाहरु उपप्रमुख र पुरुषहरु प्रमुख भएकाले यहाँ पनि अझै पितृसत्तात्मक सोच हावी भएको भन्ने लाग्छ उनलाई । तर अब महिलाहरु प्रमुखमा आउनुपर्छ भन्ने लाग्छ उनलाई  ।

मेयरसँगको सहकार्य :

एक वर्षको समय सँगै काम गरेका मेयर र उपमेयर बीचको सहकार्य एकदम राम्रो रहेको उनले सुनाइन् । सहकार्य र सहमतिमा कामहरु हुने गरेको पनि उनको भनाइ छ । 
महिलाको राजनीतिक सहज छैन :

बाल्यवस्थादेखि नै राजनीतिमा होमिएकी गीतालाई महिलाको राजनीति सहज छ भन्ने लाग्दैन  । तर सहजता ल्याउन घर परिवारको ठूलो भूमिका हुन्छ भन्ने लाग्छ उनलाई  । आफ्नै विगत फर्केर  हेर्दा उनले आफ्नो श्रीमानबाट ठूलो सहयोग पाएको बताउदै राजनीतिमा यहाँसम्म आउनुमा आफ्ना श्रीमानको ठुलो योगदान रहेको बताइन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै