• २०८१ बैशाख १२ बुधबार

जानकी मेडिकल कलेजको सम्पूर्ण सेवा ठप्प, कर्मचारीहरुलाई २५ करोड तलब दिन बाँकी

kharibot

जनकपुरधाम । विवादका कारण पटक पटक चर्चामा रहँदै आएका जनकपुरस्थित जानकी मेडिकल कलेजका कर्मचारीहरुले कलेज तथा अस्पतालका सम्पूर्ण सेवा ठप्प पारेका छन् ।  

संचालक समिति जानकी मेडिकल कलेजको समस्या समाधान गर्ने तर्फ ध्यान नदिएको भन्दै कर्मचारीहरु आन्दोलित भई सम्पूर्ण सेवा ठप्प पारेका हुन् । शुक्रबार एक पत्रकार सम्मेलन गरी कर्मचारीहरुले मेडिकल कलेजको समस्या समाधान गरी यस कलेजलाई जीवन्त राख्न नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ ।

पत्रकार सम्मेलनमा एशोसिएट प्रोफेशर वीरेन्द्र झाले संचालक समितिले नै कलेजलाई धाराशायी पार्ने खेलमा लागेपछि आफूहरु आन्दोलन गर्न बाध्य भएको बताए । उनले पटक पटक भएको सम्झौतालाई संचालक समितिले लत्याउँदै आएकोले नेपाल सरकारका साथै प्रदेश सरकार तथा स्थानीय सरकारलाई गुहारेको बताए ।  

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. २ रमदैया स्थित जानकी मेडिकल शिक्षण अस्पतालमा कर्मचारीले महिनौ देखिको नपाएको तलव, भत्ता अविलम्ब दिनुपर्नेलगायतका ६ बुँदे माग राखी गत वैशाख २३ गतेदेखि धर्नामा समेत बसेका छन् । 

उनीहरुले कर्मचारी सरुवा तथा बर्खास्त गरिएका कर्मचारीहरु अविलम्ब फिर्ता हुनुपर्ने, २०७४-चैत १२ गते मेडिकल कलेजका सञ्चालक गणेश लामा र कामेश्वर साहबीच भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने, कलेजमा वर्षौदेखि कार्यरत कर्मचारीलाई प्रक्रिया पुर्याई स्थायी गरिनुपर्ने, पठन पाठन नियमित हुनुपर्ने लगायतका माग राख्दै उनीहरु हडतालमा उत्रेका हुन् ।

विगत १४ महिना देखि तलब–भत्ता तथा ५० महिनाको संचय कोष समेत जम्मा नभएको भन्दै कर्मचारीहरुले अस्पतालको आकस्मिक सहित उपचार सेवा ठप्प पारेका छन् । गत वैशाख २३ गतेबाट चरणबद्ध रुपमा आन्दोलन शुरु गरेका कर्मचारीले जेठ १६ गतेबाट सबै सेवा ठप्प पारेका छन ।  

जानकी मेडिकल कलेजमा कार्यरत चिकित्सक, कर्मचारी लगायत ४०० कर्मचारीहरुको १४ महिनाको तलव भत्ता गरी झन्डै  २५ करोड रुपैया बाँकी रहेको छ । समयमा तलब भत्ता नदिँदा मेडिकल कलेजमा ताला बन्दी सहित आन्दोलनका कार्यक्रम पहिले देखि नै हुँदै आएकाले मेडिकल कलेजको अवस्था दयनीय हुँदै आएको छ । कलेजबाट १ सय २० जना कर्मचारीले राजिनामा दिई सकेका छन । उनीहरुको राजिनामा स्वीकृत भएपनि अहिलेसम्म बाँकी तलब पाउन नसकेको प्रोफेशर झाले जानकारी दिनुभयो । अस्पताल प्रशासनमा लगाईएको तालाबन्दी संगै सो कलेजमा चिकित्साशास्त्रमा अध्ययनरत ३ सयभन्दा बढी विद्यार्थीहरुको अध्ययन अध्यापन समेत प्रभावित भएको छ । 

एमबीबीएसमा अध्ययनरत छात्र अमित कुमार सिंह कलेज संचालक समिति तथा चिकित्सक कर्मचारी बिचको विवादका कारण आफूहरुको भविष्य नै अन्यौलमा परेको दुखेसो पोखे ।

उनले अस्पताल बन्द हुँदा आफूले परीक्षा समेत दिन नसक्ने बताए । त्रिभुवन विश्व विद्यालयले एमबीबीएस अन्तिम वर्षको परिक्षा जेठ १९ गतेबाट लिने कार्यतालिका रहेपनि अस्पताल नै बन्द भएपछि आफुहरुको भविष्य नै अन्यौलमा परेको छात्र सिंहले बताए ।  

जानकी मेडिकल कलेजद्वारा नै सञ्चालित जनकपुर स्थित ब्रह्मपुरीमा रहेको जानकी मेडिकल सिटी अस्पताल पनि कर्मचारीले तलब नपाएकै कारण कर्मचारीहरुले पटक–पटक तालाबन्दी गर्दै आएका थिए ।

कलेज तथा अस्पताल संचालनमा नरहेको महिनौ बिति सक्दा समेत कलेजको १ अर्वभन्दा बढी ऋण तिर्न बाँकी रहेको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै