• २०८१ बैशाख १३ बिहीबार

हत्या गरिएका भनिएका रुसी पत्रकार टेलिभिजनमा देखिए, हत्या गर्ने रुसी योजना असफल बनाउन नाटक गरेको खुलासा  

kharibot

किभ । रसियाली पत्रकार टेलिभिजनमा जीवितै देखिएका छन्  । युक्रेनको राजधानी किभमा ‘हत्या गरिएको’ बताइएका पत्रकार अर्काडी बाब्चेन्क टेलिभिजनमा नै देखिएका हुन् ।

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक मानिने ४१ वर्षीय अर्काडीको युक्रेनको राजधानी किभमा अज्ञात समूहद्वारा स्थानीय समयअनुसार मंगलबार साँझ हत्या भएको जनाइएको थियो ।

उनलाई टेलिभिजनमा देख्दा दिनभर उनको हत्याको विषयमा समाचार लेखेका सञ्चारकर्मी चकित बनेका थिए । युक्रेनको सुरक्षा निकायको मिलेमतोमा अर्काडीले हत्याको नाटक गरेका थिए ।

रसियाली एजेन्टहरूको षड्यन्त्र एक्सपोज गर्न अर्काडीले हत्याको नाटक रचेको युक्रेनको सुरक्षा सेवाका प्रमुख भास्ली हिस्तकले जानकारी दिए । रसियाले अर्काडीलाई हत्याको षड्यन्त्र बुनिरहेकाले सो नाटक मञ्चन गरिएको हिस्तकले जानकारी दिए । ‘रसियाली गुप्तचर निकायले पत्रकार अर्काडीको मृत्युको षड्यन्त्र गरेको युक्रेनी सुरक्षा सेवाले गोप्य सूचना पाएको थियो,’ उनले भने ।

रसियाली विदेश मन्त्रालयले पनि अर्काडी जीवितै रहेको पुष्टि गरेको छ । रसियालाई हत्याको आरोप लगाउन अनावश्यक प्रचारबाजी गरिएको विदेश मन्त्रालयकी महिला प्रवक्ता मारिया जाखारोभाले जानकारी दिइन् ।

रसियाले युक्रेनको कदमको निन्दा गरेको छ । यसअघि अर्काडी मंगलबार आफू बसेको फ्ल्याटको प्रवेशद्वारमा रक्ताम्य भएको अवस्थामा भेटिएको बताइएको थियो । उनको ढाडमा गोली हानिएको र उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको थियो । 

यस अघि बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भनी पहिचान बनाएका पत्रकार अर्काड़ी बबचेन्कोको गोली हानी हत्या गरिएको समाचार आएको थियो ।  राजधानी मस्कोमा रहेर पत्रकारिता गरिरहेका उनी त्यसपछि भागेर प्राग पुगेका र पछि किभमा बस्दै आएका थिए । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विरुद्धमा उनले केही समय अघि निकै समाचारहरु लेखेका थिए । उनी रुसका एकजना चर्चित र खोज पत्रकारको रुपमा काम गरिरहेका बताइएको थियो । युक्रेनबाट क्रिमिया टुक्रिएर रुसमा विलय भएदेखि नै पुटिनका आलोचक बनेका थिए । 

मस्को छोड्नुअघि उनले रुसको विपक्षी दलहरुको समर्थनमा प्रकाशित पत्रिका नोभिया गजेटामा काम गर्ने गर्दथे । उनी किभमा रहेर स्तम्भ लेख्ने कामगर्थे भने उनका लेखहरु निकै चर्चित हुने गर्दछन । 

उनले सन् २०१६ मा रुसमा दुर्घटनाग्रस्त एउटा रुसी सैनिक विमानको बारेमा आलोचनासहितको एक समाचार लेखेका थिए । त्यसपछि आफूलाई मार्ने धम्की आएको उनले बताएका थिए । त्यस लगत्तै उनले रुस छाडेको समाचार त्यतिबेला पनि आएको थियो । केही महिना प्राग बसेका उनी पछि युक्रेनको राजधानी किभमा सरेका र पछिल्लो एक वर्ष त्यहीँ बस्दै आएका थिए । 

सुरुमा यी पत्रकार सेनाका जागिरे रहेको र पछि त्यो जागिर छोडेर पत्रकारितातर्फ लागेको पाइएको छ । सेनामा भर्ना भएका उनी सन् १९९४ देखि २००० सम्मको चेचेन युद्धमा पनि खटेका थिए । 

रुसी राष्ट्रपति पुटिनका आलोचकहरु रुसमा बस्न नसक्ने अवस्था भएपछि युक्रेनमा बस्ने गरेका छन् । पुटिनका आलोचक अरूजस्तै बाब्चेन्को पनि छिमेकी देश युक्रेनमा बस्दै आएका हुन् । 

तर रुस विरोधी नेता र पत्रकारहरुका लागि पछिल्ला केही वर्षहरुमा किभ पनि एक असुरक्षित स्थान बन्दै गएको महसुश भएको बताइन्छ । दुई वर्षयता पुटिन विरोधी अरु पनि नेता र पत्रकार किभमा मारिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै