• २०८१ बैशाख ६ बिहीबार

बजेटले काट्यो आम जनताको पकेट : आयकर, जंकफुडदेखि सवारी साधनको मुल्य बढने

kharibot

काठमाडौँ । जनताको अभूतपूर्व समर्थन पाएर बनेको अहिललेको कम्युनिष्ट पार्टीको सरकारले आफ्नो अफिलो बजेट ल्याएको छ । मंगलबार संसदमा बजेट सार्वजनिक भएपछि यस बारे राजनीतिक दल, मिडिया, पत्रकार र आम मानिसहरु विभिन्न माध्यमबाट प्रतिक्रिया दिइरहेका छन् । सत्ता पक्षका सांसद, नेता देखि सरकारका मन्त्री र प्रधानमन्त्री स्वयंले पनि यस बजेटले समृद्धिको बाटो पहिल्याएको दाबि गरिरहेका छन् ।

बजेटका विषयमा टेक्निकल कुरा भन्दा पनि आम मानिस र धेरै जसोको भनौ अहिलेसम्मकै शक्तिशाली सरकारले ल्याउने बजेट कस्तो होला ? भन्ने कौतुहलता थियो । के के कार्यक्रम ल्याउला ? क-कसलाई राहत देला भन्ने थियो नै ।

तर सरकारले बजेट अघि र चुनावका बेला गरेका ठुला ठुला घोषणा अनुसार भन्दा फरक बजेट ल्याएर सबैलाई जिल्ल त बनायो नै अब आम मानिसको पकेट पनि केहि हदसम्म रित्तिने भएको छ । सरकारले आफ्ना बाचा अनुसारका कार्यक्रम बजेटमा ल्याउन असफल भएको देखिएको छ भने विभिन्न क्षेत्रमा करको दायरा बढाएर आम जनताको पकेट रित्ताउने काम गरेको छ  । देशमा रोजगारको अभाव, आम्दानीका स्रोतको अभाव हुदै गएका बेला सरकारले जागिर गर्ने देखि आम उपभोक्ताले उपभोग गर्ने बस्तुमा करको दायरा बढाएर आउदा दिनमा झन् महँगी बढ्ने भएको छ  ।

जागिर गर्नेको कर बढेको छ, इन्टरनेट महँगो हुदै छ, आम मानिसले चढ्ने मोटरसाइकलदेखि चार पांग्रे गाडीको मुल्य बढ्ने भएको छ, रक्सी, चुरोट र बियरको मुल्य बढ्ने भएको छ ।

आयकरको व्यवस्था :

बजेटमा व्यवस्था गरिएको अब व्यक्तिले साढे ३ लाख बार्षिक आय हुनेले सम्म १ प्रतिशत आय कर तिर्नु पर्छ जुन पुरानै व्यवस्था हो । साढे ३ देखि साढे ४ लाख कमाउनेले सुरुको साढे ३ लाखमा १ प्रतिशत र बाँकीमा १० प्रतिशत आयकर तिर्नु पर्छ । 

त्यस्तै साढे ४ देखि साढे ६ लाख कमाउनेले सुरुको साढे ३ लाखमा १ प्रतिशत, साढे ३ देखि साढे ४ लाखसम्म (१ लाखको ) १० प्रतिशत र बाँकीको र लाखमा २० प्रतिशत आय कर तिर्नुपर्छ । जबकी यसअघि साढे ४ देखि २५ लाखसम्मको आम्दानीमा यस्तो कर २५ प्रतिशत थियो ।

त्यस्तै साढे ६ देखि २० लाखसम्म कमाउनेले साढे ३ लाखमा १ प्रतिशत, साढे ३ देखि साढे ४ (१ लाख) मा १० प्रतिशत, साढे ४ देखि सोढ ६ लाख (२ लाख) मा २० प्रतिशत कर तिर्नुपर्छ । त्यसपछि बाँकीको कमाइमा ३० प्रतिशत कर तिर्नुपर्ने नयाँ व्यवस्था गरिएको छ ।

यसरी हेर्दा सरकारले गरेको नयाँ व्यवस्था अनुसार बार्षिक ६ लाख सम्म आम्दानी हुनेलाई केहि राहत दिएको छ भने त्यो भन्दा बढी आम्दानी हुनेको पकेटबाट अहिले दिइरहेको भन्दा बढी रकम जाने भएको छ ।

तपाइको कमाई बार्षिक ७ लाख छ भने थप ५ हजार, ८ लाख छ भने थप १० हजार, ९ लाख छ भने थप १५ हजार, १० लाख छ भने थप २५ हजार, १५ लाख छ भने थप ५० हजार र २० लाख छ भने थप ७५ हजार सरकारलाई कर तिर्नु पर्ने भएको छ ।

जंकफुड, इनर्जी ड्रिंकदेखि वाइनको मुल्य बढ्ने :

सरकारले इनर्जी ड्रिंक र जंकफुडमा अन्तशुल्क बढाएको छ । जंकफुडमा यसअघि लिइदै आएको प्रति किलोको ७ रुपैयाँ ५० पैसाबाट अब १५ रुपियाँ पुगेको छ । त्यस्तै इनर्जी ड्रिंकमा पहिलो पटक प्रति लिटर २५ रुपियाँ अन्त शुल्क लगाएको छ । यसबाट इनर्जी ड्रिंकको मुल्य पनि बढ्ने भएको छ ।

त्यस्तै १२ प्रतिशतसम्म अल्कोहल भएको स्वदेशी वाइनको मुल्य पनि अब बढ्ने भएको छ । यस अघि प्रति लिटर ८० रुपियाँ  कर लिइदै आएकोमा अब १२० रुपियाँ कर पुगेको छ ।

रक्सीमा भन्दा बियरमा बढी अन्तशुल्क :

सरकारले मंगलबार सार्वजनिक गरेको बार्षिक बजेटमा बियरमाथि लाग्दै आएको अन्तशुल्क ३० प्रतिशतले बृद्धि गर्ने घोषणा गरेपछि अब बियर महँगो हुने भएको छ ।
जसका कारण अब बियर पारखीहरुले प्रतिलिटर बियरको मूल्यमा झण्डै ३५ रुपैयाँ बढी तिर्नुपर्ने छ ।

नेपालमा उत्पादन हुने बियरमा अहिले एक लिटरमा ११५ रुपैयाँ अन्तशुल्क लाग्दै आएकोमा ३० प्रतिशत बृद्धिपछि १५० रुपैयाँ पुगेको छ । 

बजेटले सरकारको राजश्वमा भारी बृद्धि भएपनि बियर उपभोक्ता पकेटबाट भने अब झन् धेरै पैसा जाने भएको छ ।

अघिल्ला वर्षहरुमा सरकारले सामान्यतयाः वार्षिक ८-१० प्रतिशतसम्म अन्तशुल्क बृद्धि गर्ने गरेकोमा यस पटक बियरमा एकैपटक ३० प्रतिशत बृद्धि गरिएको छ ।
सरकारले गरेको अन्तशुल्कमा बृद्धिले हालै देखिएको नेपाली बियरको बजार बिस्तारमा असर हुनसक्ने बताइएको छ ।

त्यस्तै सरकारले रक्सी र चुरोटको अन्तशुल्कमा भने जम्मा २० प्रतिशत बृद्धि गरेको छ ।

मोटरसाइकलको मुल्य बढ्ने :

सरकारले लगाएको नयाँ करका आधारमा अब १५० सीसीसम्मका बाइकमा ५ हजार रुपैयाँ मूल्य बढ्ने देखिएको छ । अन्तशुल्कमा हेरफर नगरिए पनि सडक दस्तुरमा ५ हजार बढेको हो ।

तर, १५० सीसी भन्दामाथिका मोटरसाइकलको मूल्य भने अहिलेको तुलनामा धेरै नै बढ्ने देखिएको छ ।

बजेटमार्फत् १ सय ५० सीसीदेखि २ सय ५० सीसीका बाइकको अन्त:शुल्क १० प्रतिशत बढाएर ५० प्रतिशत पुर्या्इएको छ। 

बजेटमा ५ सय सीसी नाघेको तर ८ सय सीसी ननाघेको रेसिप्रोकेटिङ इन्टरनल कम्बसन प्रिष्टोन इन्जिन भएको बाइकमा ४० प्रतिशत अन्त:शुल्क बढाएर ८० प्रतिशत पुर्याोइएको छ।

मोटरसाइकल कम्पनीहरुका अनुसार अब १५० सीसीभन्दा माथि र २५० सीसीभन्दा तलका बाइकमा ३० हजारसम्म मूल्य बढ्ने देखिएको छ ।

त्यसैगरी २५० देखिमाथि ४०१ सीसीसम्मका मोटरसाइकल ५० देखि ७५ हजारसम्म बढी मुल्य तिर्नु पर्ने देखिन्छ ।

कारको मुल्य पनि बढ्ने :

मोटरसाइकलसँगै चार पांग्रे गाडीको मुल्य पनि बढ्ने भएको छ । नया बजेट अनुसार सरकारले ६० प्रतिशत रहेको अन्तशुल्कलाई सात प्रतिशत पुर्याएको छ । सरकारले हजार सिसिका गाडीमा एक प्रतिशत सडक दस्तुर मात्र बढाएको छ जसअनुसार हजार सिसिका गाडीको मुल्य २० हजारसम्म बढ्न सक्ने देखिएको छ ।

त्यस्तै १००१ देखि १५०० सिसिसम्मका गाडीमा एक देखि देश लाख र १५ सय देखि २ हजार सिसिसम्मका गाडीमा ४ लाख सम्म मुल्य बढ्ने सक्ने देखीएको छ । त्यस्तै २ हजार देखि २५ सय सिसि सम्मका गाडीमा २० देखि २५ प्रतिशतसम्म मुल्य बढ्ने सक्ने देखिन्छ ।

त्यस्तै २५ सय देखि ३ हजार सम्म ३३ प्रतिशत कर बढेको छ भने ३ हजार भन्दा माथिको गाडीमा ४३ प्रतिशत कर बढेको छ । यस हिसाबले पनि यी सेगमेन्टमा कम्तिमा पनि ३० प्रतिशत मुल्य बढ्ने देखिन्छ ।
 

 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै