• २०८१ बैशाख १३ बिहीबार

बजेट कार्यान्वयनको बलियो अनुगमन गर्छौँ : अर्थमन्त्री डा. खतिवडा, ८ प्रतिशत वृद्धि गाह्रै छ : सेजन 

kharibot

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले मंगलबार ल्याएको बजेट वित्तीय संघीयता कार्यान्वयन गर्ने पहिलो बजेट भएकाले यसको कार्यान्वयनको पनि बलियो अनुगमन गर्ने बताएका छन् ।

बुधबार अर्थ मन्त्रालयमा बजेट वक्तव्यबारे पत्रकारसम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले नयाँ प्रकारले बजेट तर्जुमा गरेको दाबी गर्दै काम र रोजगारीलाई ध्यान दिएकोले बजेट कार्यान्वयनमा चनाखो हुने बताएका हुन् । 

उनले भने, ‘नयाँ अनुहार हेरेर बजेट ल्याएका छौँ, अब काम र रोजगारीलाई प्राथमिकता दिनुपर्छ ।’ सबैलाई लाभ दिने बजेट ल्याएको दाबी गर्दै उनले बजेट वक्तव्यका महत्वपूर्ण बुँदाहरुबारे चर्चा गरे । सरकारले मंगलबार ल्याएको बजेटअनुसार आगामी आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि हुने दाबी गरेको छ ।

पत्रकारहरुले पुँजीगततर्फ कम बजेट विनियोजन गरिएको भन्दै आर्थिक वृद्धि ८ प्रतिशत कसरी पुग्ला भनी गरेको प्रश्नको उत्तर दिँदै अर्थमन्त्री डा. खतिवडाले सरकारले कडाइका साथ कार्यान्वयनको अनुगमन गर्ने, कृषि उत्पादन वृद्धि गर्ने, लगानी प्रवद्र्धन गर्ने तथा करको दायरा बढाइएकोले समेत उक्त लक्ष्यको नजिक पुग्ने दाबी गरे ।

मेलम्ची, राजमार्गहरुको सुदृढीकरण, नयाँ सडक स्थापना आदिले आर्थिक वृद्धि हासिलमा ठूलो योगदान मिल्ने उनको भनाइ थियो । उनले सेवा क्षेत्र र उद्योगबाट यथेष्ट फाइदा लिनसकिने बताउँदै उद्योग क्षेत्रमा विद्युत् उपलब्ध गराउन सकिए आर्थिक वृद्धि हासिल गर्न गाह्रो नभएको प्रतिक्रिया दिए ।

यस्तै उनले विद्युत् उत्पादनबाट पेट्रोलियम पदार्थको भार समेत कम गर्ने गरी सरकारले काम गर्ने बताए ।  

८ प्रतिशत आर्थिक वृद्धिमा शंका : सेजन 
यस्तै सोही कार्यक्रममा बोल्दै आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्ष पुष्पराज आचार्यले सरकारले राखेको आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य भेट्टाउनेमा शंका रहेको बताए । बजेटबारे धारणा राख्दै उनले समग्रमा बजेट राम्रो भएको प्रतिक्रिया दिएका थिए ।

उनले सरकारले काम, खाद्य र स्वास्थ्य सुरक्षाको सम्बोधन बजेटमार्फत गरेकाले पनि बजेट राम्रो ल्याएको बताए । आचार्यले समग्रमा बजेट छरितो भएको धारणा राखेका थिए । बजेटले रोजगारी सिर्जना, उत्पादन वृद्धिलाई जोड दिएको उनको भनाइ थियो । 

सरकारले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कुल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट विनियोजन संघीय सदनमा प्रस्तुत गरेको थियो । कुल विनियोजनमध्ये चालूतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात् ६४.३ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात् २३.९ प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात् ११.८ प्रतिशत रहेको छ ।

उक्त बजेटमध्ये राजस्वबाट ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख र वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५५ लाख व्यहोर्दा ४ खर्ब २५ अर्ब २ करोड ८२ लाख न्यून हुने भए पनि सरकारले वैदेशिक ऋणबाट झण्डै साढे २ खर्ब जुटाउने जनाएको छ । त्यति गर्दा पनि अपुग हुने १ खर्ब ७२ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने सरकारको लक्ष्य छ । 

वृद्धभत्ता नबढे पनि सुविधा बढाएका छौँ : अर्थमन्त्री 
यसैबीच, अर्थमन्त्री डा. खतिवडाले वृद्धभत्ताको रकम मात्रै नबढेको भन्दै अन्य सुविधा थप गरिएकाले वृद्ध भत्ता नबढेको भन्न नमिल्ने बताए । सामाजिक सुरक्षाको दायरा फराकिलो पारेको उनले बताए ।

ज्येष्ठ नागरिकको लागि बीमा तथा अन्य सुविधा थप गरिएकोले रकम नबढे पनि हिसाबकिताब निकाल्दा बढेजस्तै भएको उनको भनाइ थियो । सरकारले ७० वर्षभन्दा माथिका वृद्धवृद्धालाई १ लाखको बीमा गरिदिने बजेटमा उल्लेख गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै