• २०८१ बैशाख ७ शुक्रबार

“बुहारीले सगरमाथामा उक्लियौँ भन्दा मन सिरिङ भयो”

kharibot

तस्बीर : रासस

काठमाडौँ । “बुहारीले माथि उक्लियौँ भन्दा मन सिरिङ भएको थियो, केही भयो भने यो सानो नातिको के होला भनेर चिन्ता लाग्योे ।” 

पत्रकार बुहारी कल्पना महर्जनसहित प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ को टिमले सरगमाथाको सफल आरोहण गरेपछि स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेकी उनकी सासु भ्यान्चीले सुनाइन् । “बुहारीले सगरमाथाको चुचुरोमा पाइला राखेपछि डर खुसीमा परिणत भएको छ । पहिले पनि प्रयास गरेकी बुहारीको चिन्ताले उनी घर नर्फकदासम्म मन चिन्तित नै थियो,” उनले भनिन् । 

कल्पनाको यो दोस्रो प्रयास थियो । सन् २०१४ मा पनि कल्पनाले सगरमाथा चढ्ने प्रयास गरेकी थिइन्र्नु । पहिलो पटक स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनको इच्छा अधुरै रहेको थियो ।  त्यतिबेला कल्पना सात दिन कोमामा परेर सात हप्तामा साधारण अवस्थामा फर्किएकी थिइन् । उनले त्यो क्षण सम्झदै भनिन,“यसपटक पनि मलाई स्वास्थ्यमा समस्या देखिएको थियो, तर मैले यसपटक हिम्मत हारिन, मलाई यसपटक सगरमाथा चुम्नु नै थियो ।” 

बुहारीलगायतको टोली आज आउने भएपछि भ्यान्ची दिउँसो १२ बजे नै विमानस्थल आइपुगेकी थिइन् । “खुसीको वर्णन गर्नै सक्तिन, बुहारीले हाम्रो परिवार मात्र होइन देशलाई नै चिनाइन्, उनीप्रति हामीलाई गर्व छ ।” उनले भनिन । 

यस्तै पाँच बहिनीमध्येकी कान्छि रोजिता बुद्धाचार्यले सगरमाथा चढ्छु भनेपछि अरु चार दिदीले नजाउ भन्न सकेनन् । रोजिताकी दिदी अनिताले भनिन, “उसले जान्छु भनेपछि नाई भन्नै सकेनौँ तर मनमा नगए हुन्थ्यो भन्ने लागिरहन्थ्यो, मन परिवर्तन गरे हुन्थ्यो भन्ने लाग्थ्यो तर उनले हाम्रो डरलाई खुसी र गौरवमा परिणत गरिदिइन् ।” 

राष्ट्रिय समाचार समितिमा कार्यरत रोश बस्नेतकी दिदी सकुन्तला बस्नेतलाई पनि बहिनीसँगै सगरमाथा चढ्ने इच्छा थियो । उनले बहिनीहरूसँगै हाइकिङ पनि गरेकी थिइन् तर बच्चा सानो भएकाले जान तयार भईनन् । 

“अहिले जान सकिन, मलाई पनि सगरमाथा आरोहण गर्ने तिव्र इच्छा छ, अबको पाँच वर्षभित्र चढ्छु, केही साथीहरूले पनि रहर गरेका छन्, रोशाको टिमले हामीलाई थप प्रेरणा दिएको छ,” स्टाफ नर्स रहेकी सकुन्तलाले भनिन् । 

नेपाली पत्रकार महिलाको टोली विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आज काठमाडौँ फर्किएको छ । छोरीहरूले विश्वको सर्वोच्च शिखर चुमेर आउदाँ उनीहरूको हौसला बढाउन पञ्चकन्याका परिवारजन बाँजागाँजा, फूलमालासहित बिहानैदेखि विमानस्थलमा व्यग्र प्रतिक्षा गरिरहेका थिए । 

देउराली चाम्लिङ, कल्पना महर्जन, रोशा बस्नेत, प्रियालक्ष्मी कार्की र रोजिता बुद्धाचार्यमध्ये कार्की बाहेक चारजनाले सगरमाथाको सफल आरोहण गरी फर्किएका छन् । कार्कीलाई स्वास्थ्यमा समस्या देखिएपछि उनी फर्किएकी थिइन् । साथीहरूको सफलतामा सहभागी बन्न विमानस्थल पुगेकी कार्कीले अर्को पटक सगरमाथा आरोहण गर्ने बताइन् । 

सधैँ समाचारमार्फत जनतालाई सूसुचित गर्ने पत्रकार महिलालाई केही नयाँ गरौँ भन्ने लागेपछि सगरमाथा चढ्ने योजना बनाएका थिए । करिब एक वर्षको अभ्यास र तयारी पछि ठूलो समुह छाटिँदै पञ्चकन्याको समुहमा परिणत भएको आरोहण टोलीकी सदस्य रोशाले बताइन् । 

“धेरैलाई हामीले सफलता प्राप्त गर्छाँै भन्नेमा आशंका थियो, हामीले आंशकालाई शक्तिका रुपमा लिएका थियौँ,” उनले भनिन । 

पछिल्लो समय महिलाले सगरमाथाको सफल आरोहण गर्ने क्रम बढ्दो छ । आँट गरे असम्भव हुँदैन, त्यसका लागि कडा मिहेनत गर्नुपर्ने भनाईलाई उक्त टिमले सगरमाथाको सफल आरोहण गरेर पुष्टि गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै