• २०८१ बैशाख १३ बिहीबार

निजामती सेवामा समय सापेक्ष तालिम

kharibot

काठमाडौँ । राज्यका नीति तथा कार्यक्रमहरुलाई व्यावहारिक कार्यान्वयन मार्फत जनतालाई सेवा प्रदान गर्नमा निजामती प्रशासनले अग्रणी भूमिका निर्वाह गर्दछ । निजामती सेवाका कर्मचारीहरुको कार्यक्षमता र कार्यशैलिले समग्र राज्य प्रणाली प्रति आम जनधारणाको निर्माण गर्दछ ।

निजामती प्रशासनको कार्यप्रणालीलाई छरितो र कार्यसम्पादन क्षमता लाई दक्ष, अब्बल र कुशल बनाउनकालागि तालिम महत्वपूर्ण तत्वको रुपमा रहन्छ । तालिम बिना कर्मचारीको कार्यक्षमता भुत्ते हुन जान्छ । कुनै समयमा प्राप्त गरिएको तालिम सदैवलाई हुन्छ भन्ने पनि छैन । निजामती प्रशासनलाई सामयिक, सक्षम, सुदृढ र सेवमुलक बनाउनका लागि तालिम निरन्तर रुपमा जरुरी हुन्छ । शासकीय संरचनामा आएको परिवर्तन सँगै बढ्दो जनअपेक्षा, शासनका सहकर्ताहरु सँगको समन्वय, नवीनतम प्रविधिको प्रयोग गर्नुपर्ने आवश्यकता आदि कारणले तालिम गतिशील प्रक्रिया हो । वर्तमानका साथसाथै भविष्यको आवश्यकता र चुनौतीहरुलाई समेत सामना गर्न सक्ने सामथ्र्यवान जनशक्ति तयार गर्नु निजामती सेवाको आजको आवश्यकता हो । 

तालिम मानव संसाधन विकासको एक महत्वपूर्ण अवयव हो । कुनै पनि संगठनको लक्ष्य र उद्देश्य प्राप्तीकालागि भविष्यपरक नीति र कार्यक्रम जति आवश्यक हुन्छ,, सीप र क्षमतावान मानव स्रोत उत्तिकै अपरिहार्य हुन्छ । कर्मचारी संगठनको एक मात्र सजिव संसाधन भएको र अन्य संसाधनको परिचालनकर्ता भएकोले संगठनको जीवन्तता र गतिशीलताकालागि यसको व्यवस्थापन र परिचालनमा विशेष ध्यान दिन पर्ने हुन्छ । कुनै पनि संगठनको साखलाई उच्च राख्ने र अन्य संगठनसँगको प्रतिस्पर्धामा अग्रणी हुन त्यहा कार्यरत मानव संसाधनको क्षमताले निर्धारण गर्दछ ।

लेखक : भूपेन्द्र पाण्डेय 

राजनीतिक नेतृत्वले निर्माण गरेको नीति तथा कार्यक्रमलाई आम नागरिकको व्यावहारिक जीवनमा अनुभूत र उपभोगको लागि योग्य बनाउने दायित्व निजामती प्रशासनको हो । निजामती प्रशासन राष्ट्र निर्माणको दायित्व बोकेको महत्वपूर्ण संयन्त्र हो । यसको क्रियाशीलता, कुशलता र प्रखरतामा सिंगो मुलुकको भविष्यको समृद्धि र विकासको सपना जोडिएको हुन्छ । देशको नीति तथा कार्यक्रममा उनिएको सपनालाई मूर्तता प्रदान गर्दै आम नागरिकको विकासको तृष्णालाई सार्थकता प्रदान गर्ने सवालमा राजनीतिक कटिवद्धता मात्र होइन प्रशासनिक दक्षता उत्तिकै जरुरी हुन्छ । राजनीतिक उत्पादनको रुपमा रहेका नीति तथा कार्यक्रमको अधिकतम दोहन मार्फत नागरिकलाई सुख, शान्ति र समृद्धिको दिशामा अग्रसर गराउने क्षमताको विकासका लागि तालिम चाहिन्छ ।

नेपालको निजामती सेवामा विश्वविद्यालयको उत्कृष्ट डिग्री हासिल गरेर लोक सेवा आयोगको परीक्षा उत्तृण गरेका कर्मचारीहरु रहेका छन । तर निजामती प्रशासनको समग्र कार्य सम्पादन स्तर भने निकै कमजोर अवस्थामा रहेको छ । निजामती प्रशासन अनियमितता, ढिलासुस्ति र अकर्मण्यताको पर्याय जस्तै बन्न पुगेको छ । निजामती प्रशासनका उम्दा कर्मचारीहरुको क्षमताको अधिकतम उपयोग गर्ने सवालमा सिंगो प्रशासनिक प्रणाली नै चुकेको छ । विश्वविद्यालय तहमा आर्जन गरेको सैद्धान्तिक ज्ञानलाई कार्यक्षेत्रमा व्यावहारिक प्रयोगका दृष्टिकोणले असफल रहेको छ ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेस गरेको छ । लामो समय देखि विद्यमान केन्द्रिकृत र एकात्मक राज्य संरचनाबाट संघीय संरचनामा प्रवेश गरेको छ । संघीय, प्रादेशिक र स्थानीय तह गरी तीन तहको शासकीय संरचनाको अभ्यास गर्न र व्यवस्थापकीय, कार्यपालकीय र न्यायिक अधिकारको प्रयोग गर्न चुनौतीपूर्ण रहेको छ । नयाँ व्यवस्था अनुरुपको भौतिक संरचनाको निर्माण, संविधानको अनुसूचीमा उल्लेखित अधिकारहरुको कार्यान्वयन गर्न कानुनको निर्माण र कार्यान्वयन, कर्मचारी व्यवस्थापन लगायतका कार्य गर्न अझै पनि बाँकि नै रहेको छ । यस अवस्थामा कर्मचारीलाई तालिम बिना परिणाममुखि परिचालन र उपयोग गर्न सकिँदैन ।

निजामती सेवामा तालिमको व्यवस्था र अवस्था

निजामती प्रशासन संयन्त्रले सञ्चालन गर्ने कार्यका लागि के कस्तो शैक्षिक योग्यता, तालिम र अनुभव भएका कति जनशक्ति आवश्यक छन भन्ने कुराको अध्ययन गरी जनशक्ति योजना तयार गर्ने परिपाटीको विकास हुन सकेको छैन । निजामती सेवाका लागि आवश्यक योग्यता र सीपका जनशत्तिको प्रक्षेपण गरी सोको उत्पादनका लागि विश्वविद्यालय लगायतक प्रतिष्ठानहरुसँग समन्वय गर्ने सँस्कृतिको प्रारम्भ गरिनु पर्दछ ।

हाल निजामती सेवाको कार्य सम्पादनबाट नागरिक मात्रै होइन, राजनीतिक नेतृत्व र स्वयं कर्मचारी नै सन्तुष्ट हन सकेका छैनन् । यसको मतलब निजामती कर्मचारीहरुमा कि विषयगत ज्ञान र दक्षताको अभाव छ कि विज्ञता भएर पनि सोको प्रयोग गर्ने कौशलताको कमी छ । एउटै प्रकृतिको कामका लागि कार्यालय र व्यक्ति पिच्छे फरक फरक मापदण्ड रहनुको पछाडी तालिमकै कमीका कारणले हो । निजामती प्रशासनले मातहतका कर्मचारीलाई एकिककृत रुपमा तालिम प्रदान गर्ने नीति अख्तियार नगर्दा सम्म नागरिक मैत्री प्रशासनको अवधारणले सार्थकता प्राप्त गर्न सक्दैन ।

तालिमको माध्यमबाट कर्मचारीको प्रतिस्पर्धात्मक क्षमताको विकास भई एकातिर सरकारले कर्मचारीबाट अधिकतम लाभ लिने र अर्को तिर कर्मचारीले वृत्ति विकास, पदोन्नती लगायतका अवसरहरु प्राप्त गर्ने सम्भावनाको ढोका खुल्द छ ।

 

निजामती प्रशासनमा तालिम केवल सरकारको गरिमा अभिवद्धिको लागि होइन, कर्मचारीको वृत्ति विकासका लागि समेत उपयोगि हुन्छ । तालिमको माध्यमबाट कर्मचारीको प्रतिस्पर्धात्मक क्षमताको विकास भई एकातिर सरकारले कर्मचारीबाट अधिकतम लाभ लिने र अर्को तिर कर्मचारीले वृत्ति विकास, पदोन्नती लगायतका अवसरहरु प्राप्त गर्ने सम्भावनाको ढोका खुल्द छ । कर्मचारीमा अन्र्तनिहित क्षमताको प्रष्फुटन गराउने, उत्प्रेरणा र मनोबल उच्च बनाउने, सरकाराका नीति र कार्यक्रमप्रति प्रतिवद्ध बनाउने र लक्ष्य प्राप्तीलाई नै सर्वोपरी ठानी कार्योन्मुख गराउने एवं कामप्रति स्वउत्प्रेरित गराउने तथा आचरण, प्रवृति, व्यवहार र संस्कारलाई नागरिकमैत्रि बनाउने समय सापेक्ष तालिमले नै हो ।

निजामती प्रशासन माथि लाग्दै आएको जिम्मेवारी वोध नगर्ने, काम पन्छाउने, परिवर्तन विरोधि, सुविधाभोगि प्रवृति, लालफित्ताशाहि आदि जस्ता आरोपहरुलाई मिथ्या सावित गर्न निजामती प्रशासनमा नवीन व्यवस्थापकीय अवधारणाहरु अवलम्बन गर्नुपर्ने वाध्यता रहेको छ । अब परम्परागत कार्यपद्धति, कार्यसंस्कृति, प्रविधि, सोच र शैलिको प्रयोगले मात्रै प्रशासनिक संयन्त्रका दुर्गुणहरुको निराकरण गर्न सकिँदैन । स्खलित हुँदैै गएको निजामती सेवाको मूल्य मान्यतालाई पुर्नस्थापित गराई वर्तमान शासकीय प्रणाली अनुरुप निजामती प्रशासनको रुपान्तरण आवश्यक छ ।

आज निजामती प्रशासन उपलब्धी बिहिन व्यस्तता, अकर्मण्यता, अहंकार र दम्भले ग्रस्त छ । निजामती प्रशासन भित्र पनि पदिय र श्रेणीगत विभेदहरु रहेका छन । अधिकांश कार्यालय प्रमुखहरु कानुनको विवेक सम्मत प्रयोग भन्दा भनसुन र आवेश प्रेरित निर्णयबाट निर्देशित छन । कि निर्णय लिन सक्ने क्षमता नै नहुने कि अनिर्णित भई दायित्वबाट विचलित हुने प्रवृति उच्च प्रशासकहरुमा पाईन्छ । यि दुवै प्रवृति घातक हुन । खासमा कर्मचारीहरु त्यसमा पनि कार्यालय प्रमुखको जिम्मेवारीमा रहनेहरुलाई नेतृत्व सीप, निर्णय लिने क्षमताको विकास, विवाद समाधान, प्रयोग गर्ने कानुनहरु सम्बन्धी ज्ञान, क्षेत्रगत विषयको नवीनतम आयाम आदिको विषयमा तालिम चाहिन्छ । जसले उनिहरुलाई आफ्नो पदिय भूमिकाको संवेदनशीलता अवगत गराई दायित्वबाट विचलित हुन दिँदैन । कार्यलय प्रमुखहरु अन्य विषयगत कार्यलयहरुसँग समेत समन्वयमा काम गर्नुपर्ने हुनाले समन्वय सीप पनि चाहिन्छ । यसबाट जनतालाई एकिकृत रुपमा सेवा प्रदान गर्न एवं विकास निर्माण लगायतका कार्यलाई मितव्ययी र दिगो बनाउन टेवा प्रदान गर्दछ ।

एक किसिमले यो संस्था केहि व्यक्तिहरुलाई प्रशिक्षकको रुपमा जाँगिर खुवाउने थलोको रुपमा सीमित छ । आज सम्म यस संस्थाले कर्मचारीको बढुवाको लागि चाहिने सेवाकालिन तालिम बापत २ अंक उपलब्ध गराउने वाहेक निजामती प्रशासनको रुपान्तरणमा कुनै उल्लेख्य योगदान पुर्याउन सकेको छैन ।

कार्यलय प्रमुखको आचरण र व्यवहार मातहतका कर्मचारीकालागि अनुकरणीय र उत्प्रेरक हुनुपर्दछ । तर विद्यमान पदसोपानिक प्रणालीमा कर्मचारीहरु बीच विभेदको रेखा रहेको पाइन्छ । कर्मचारीहरुमा मौलाएको लोकप्रियताको तृष्णालाई पूर्ति गर्नका लागि आफ्नो प्राथमिक जिम्मेवारी भन्दा सस्तो र छिटो लोकप्रियता आर्जन गर्न सकिने कामप्रति बढी रुचि देखाउने प्रवृति हावि भएको पाइन्छ । अफ्नो मूलभूत दायित्वबाट विचलित भई सस्तो लोकप्रियताका लागि गरिने प्रचारबाजिबाट जनताको शान्ति, समृद्धि, विकास र सुशासनको आकांक्षा ओझेलमा परेको छ ।

नेपालमा निजामती कर्मचारीहरुलाई तालिम प्रदान गर्नका लागि नीति र संस्था नै नभएको होइन । पूर्व सेवा प्रवेश तालिम, सेवा प्रवेश तालिम, सेवाकालिन तालिम एवं पुर्नताजगि तालिम प्रदनका लागि नीतिगत र संस्थागत व्यवस्थाहरु गरिएका छन । वैदेशिक अध्ययन र तालिमका अवसरहरु समेत रहेका छन । निजामती कर्मचारी राष्ट्रिय तालिम नीति, २०७१ , निजामती सेवा ऐन, २०४९ लगायतका नीतिगत व्यवस्थाहरु रहेका छन । त्यस्तै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, राजस्व प्रशासन तालिम केन्द्र लगायतका विभिन्न विषयगत तालिम प्रदायक संस्थाहरु समेत रहेका छन् ।

सैद्धान्तिक रुपमा जे जस्तो व्यवस्था भए पनि न तालिमका विषयवस्तुहरु समय सापेक्ष बनाउन सकिएको छ न त तालिमका अवसरहरुको न्यायपूर्ण वितरण नै । तालिमहरु कठमाण्डौं केन्द्रित रहेका छन । निजामती कर्मचारीका लागि तालिम प्रदान गर्ने मुख्य अभिभारा बोकेका कर्मचारी प्रशिक्षण प्रतिष्ठान परम्परागत प्रविधि, पाठ्यसामाग्री र पुरातनवादि प्रशिक्षकहरुको जालोमा रुमल्लिएको छ । एक किसिमले यो संस्था केहि व्यक्तिहरुलाई प्रशिक्षकको रुपमा जाँगिर खुवाउने थलोको रुपमा सीमित छ । आज सम्म यस संस्थाले कर्मचारीको बढुवाको लागि चाहिने सेवाकालिन तालिम बापत २ अंक उपलब्ध गराउने वाहेक निजामती प्रशासनको रुपान्तरणमा कुनै उल्लेख्य योगदान पुर्याउन सकेको छैन ।

(लेखक पाण्डेय जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा, प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् )

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै