• २०८१ बैशाख १२ बुधबार

मौरीको चरन क्षेत्र व्यवस्थापनको माग

kharibot

फाइल तस्बीर

रत्ननगर, चितवन । नेपालका मौरीपालक किसानले मौरी चरन क्षेत्र व्यवस्थित हुन नसकेको बताएका छन् । 

भएका चरन क्षेत्रसमेत विभिन्न कारणले प्रभावित हुने गरेको भन्दै मौरीपालक किसानले चरन क्षेत्र व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन् ।

हालै सम्पन्न मौरीपालक महासंघको केन्द्रिय समितिका पदाधिकारीको शनिबार चितवनमा भएको शपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शिवप्रसाद पौडेलले चरन क्षेत्रको विकासका लागि राज्यले ध्यान दिनुपर्ने बताए । 

अहिले महासंघको ध्यान नै चरन क्षेत्रको विकास, किसानका लागि असल रानी र महको बजार प्रवद्र्धनमा रहेको भन्दै यसतर्फ गम्भीर हुन सरकारलाई आग्रह गरे । 

महासंघका पूर्वअध्यक्ष राजेन्द्र गौतमले पछिल्लो समयमा मह उत्पादनमा चेतना फैलँदै जानु सकारात्मक भए पनि कम गुणस्तरको मह आयातका कारण नेपालमा उत्पादित महले राम्रो बजार पाउन नसकेकाले नियन्त्रण जरुरी रहेको बताए । 

मौरी क्षेत्र हेर्दै आउनुभएका कृषि विकास मन्त्रालयअन्तरगत व्यावसायिक कीट निर्देशनालयका कार्यक्रम निर्देशक सहदेवप्रसाद हुमागाईंले महासंघले हरेक किसानलाई मौरीका लागि आवश्यक वनस्पति रोप्ने अभियानमा लगाउन सके महत्वपूर्ण उपलब्धि हुने बताए ।  

नेपालमा पाँच हजार बढी मौरीपालक किसान छन् । बर्सेनि करिब दुई हजार ४०० मेट्रिक टन मह उत्पादन हुन्छ । चितवनमा ८०० मेट्रिक टन मह उत्पादन हुने नवनिर्वाचित अध्यक्ष पौडेलले बताए । 

गत वैशाख २१ र २२ गते पश्चिम नेपालको कोहलपुरमा भएको केन्द्रीय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुलाई आज भरतपुरमा शपथ ग्रहण गराइएको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै