• २०८१ बैशाख ७ शुक्रबार

च्याम्पियन्स लिग फाइनल प्रिभ्यु : रियल म्याड्रिड भर्सेज लिभरपुल 

kharibot

काठमाडौँ । यस बर्षको क्लब फुटबलको ठुलो प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा स्पेनिस क्लब रियल म्याड्रिड र प्रिमियर लिग क्लब लिभरपुल आज राति प्रतिष्पर्धा गर्दै छन् ।

फाइनल खेल नेपाली समय अनुसार राति साढे १२ बजेदेखि सुरु हुदै छ ।

युक्रेनको किभमा हुने फाइनलका लागि दुवै टीमले आ-आफ्नो तयारी गरिरहेका छन् । यस फाइनललाई क्रिस्टियानो रोनाल्डो भर्सेज मोहमद सलाहको रुपमा पनि हेरिएको छ ।

आफ्नो पछिल्ला बर्षको प्रदर्शन अनुसार रोनाल्डो यस सिजनमा प्रदर्शन गर्न संघर्ष गरिरहेका छन् भने सलाहले लिभरपुलमा यसै सिजनमा इटालीबाट लिभरपुलमा आएका सलाहले उत्कृष्ट प्रदर्शन गर्दै प्रिमियर लिगको गोल्डेन बुट समेत जितिसकेका छन् । 

रियल म्याड्रिडले पिएसजी, युभेन्टस र बायर्न म्युनिखजस्ता बलिया टिमलाई हराए फाइनलमा पुगेको छ भने पोर्टो, म्यानचेस्टर सिटी र एएस रोमा जस्ता टिमलाई पराजित गरेर फाइनलमा पुगेको हो ।

रियल म्याड्रिडले अहिलेसम्म १२ पटक च्याम्पियन्स लिग जितेर सबै भन्दा धेरै पटक यो उपाधि जित्ने रेकर्ड बनाएको छ । रियल ३ पटक फाइनलमा पुगेर उपाधि विहिन बनेको छ । यस अघि दुई पटक लगातार च्याम्पियन्स लिग जितेको रियलले ह्याट्रिक गर्ने उद्धेश्य सहित किभ पुगेको छ । 

यता च्याम्पियन्स लिगमा लिभरपुल २००७ पछि पहिलो पल्ट फाइनलमा पुगेको हो । यसअघि १९७७, १९७८, १९८१, १९८४ र २००५ मा च्याम्पियन्स लिगको उपाधि जितेको लिभरपुलले १९८५ र २००७ मा फाइनलमा पराजित भएको थियो । 

हाइलाइटस् : 
रियल म्याड्रिड लगातार तेस्रो पटक उपाधी जित्ने दाउमा 
लिभरपुलले यस सिजनको च्याम्पियन्स लिगमा कुल ४६ गोल 
फाइनल खेल २०१२ को युरोकप फाइनल भएको स्टेडियममा हुदै 
जिदान : लाइफमा दबाब हुन्छ, यसले जीवन राम्रो बनाउछ 
क्लोप : हामि लिभरपुल हौ, यो हाम्रो डिएनएमा छ  

 

लिभरपुलका खेलाडी एडम ललाना, जोएल मटिप, च्याम्बरलिन, गोमेज र एम्रे कान खेलका लागि उपलब्ध हुने छैनन् । लिभरपुलबाट सलाह र फिर्मिनो प्रमुख खेलाडी हुने छन् । 

त्यस्तै रियल म्याड्रिडबाट भने सबै खेलाडी उपलब्ध हुने छन् । रियलका लागि रोनाल्डो, बेल र बेन्जमाको बिबिसी जोडी मैदानमा एकै साथ उत्रिने सम्भावना रहेको छ ।

दुई टिमले खेलेका पछिल्ला खेलको कुरा गर्दा रियल म्याड्रिडले पछिल्लो खेल भिल्ला रियलसँग खेल्दै बराबरीमा रोकिएको थियो भने लिभरपुलले ब्राइटनसँग खेल्दै ४-० ले विजयी भएको थियो । त्यस्तै पछिल्ला १० खेलमा रियल म्याड्रिड ४ मा जित, ४ बराबरी र २ खेल हारेको छ भने लिभरपुलले ५ मा जित ३ बराबरी र २ खेल हारेको छ ।

च्याम्पियन्स लिगमा रोनाल्डोको रेकर्ड :

रोनाल्डोले यस सिजनको च्याम्पियन्स लिगमा १२ खेलमा १५ गोल गरेका छन् । च्याम्पियन्स लिगको एकै सिजनमा १५ गोल गर्ने रोनाल्डो एक मात्र खेलाडी हुन् । रोनाल्डोले च्याम्पियन्स लिगका तीन सिजनमा १५ गोल गरेका छन् । उनले २०१३-१४ सिजनमा १७ गोल गरेका थिए भने २०१५-१६ मा १६ गोल गरेका थिए । त्यस्तै यस सिजनमा १५ गोल गरिसकेका छन् ।

साथै रोनाल्डोले च्याम्पियन्स लिगमा लगातार ११ खेलमा गोल गर्ने रेकर्ड पनि बनाएका छन् । उनले गत बर्षको च्याम्पियन्स लिगको फाइनलमा गोल गरेका थिए भने यस सिजनका सबै खेलमा गोल गरेका छन् ।

च्याम्पियन्स लिगमा लिभरपुलका खेलाडीको प्रदर्शन  :

यस सिजनको प्रिमियर लिगमा लिभरपुलका लागि ३२ गोल गरेका इजिप्टियन स्ट्राइकर सलाहले च्याम्पियन्स लिगमा यस सिजनमा १२ खेलमा १० गोल गरेका छन् भने ४ गोल असिस्ट पनि गरेका छन् । त्यस्तै लिभरपुलबाट रोबोर्ट फिर्मिनोले पनि १२ खेलमा १० गोल गरेका छन् भने ८ गोल असिस्ट गरेका छन् । त्यस्तै लिभरपुलका साडियो मानेले १० खेलमा ९ गोल गरेका छन् ।

म्यानेजर के भन्छन् ?

जिनेदिन जिदान : फुटबल सामान्य छ । त्याँहा दुई टिम छन् र तपाइलाई आफ्नो विरोधी टिमको बारेमा बुझ्न जरुरी छ किनकी त्यो टिमले तपाइलाई दुखि बनाउन सक्छ । यस फाइनलमा हामि या लिभरपुल दुवै फेबरेट टिम होइनौ । यस्ता फाइनल जहिले पनि ५०-५० नै हुने गर्दछ । हामि खुशी छौ कै हामि यो अवसर पाएका छौ । हामीले अवसरको फाइदा लिने कोसिस गर्ने छौ । जीवनमा दबाब हुन्छ जसले जीवनलाई झन राम्रो बनाउछ ।

जर्गन क्लोप : हामीले सँगै काम गर्ने सम्झौता हुदा एउटा सम्झौता हुन्छ त्यो खेल हारेमा मेरो जिमेवारी हुन्छ र जितेमा खेलाडीको । त्यसैले खेलाडीको लागि गुमाउनुपर्ने केहि छैन । यस्ता खेलमा अनुभव ठुलो कुरा हुन्छ । त्यसैले रियल हामी भन्दा अलि बढी आत्मविश्वासी देखिएको छ । तर यस कुराले त्यति अर्थ राख्दैन किनकी खेल यहाँ अन्त्य हुदैन सुरु हुन्छ । हामि लिभरपुल हौ, यो राम्रो फुटबल टिम मात्र होइन, ठुला अवसरमा गरेर देखाउने हाम्रो डिएनएमा छ ।

के तपाइँलाई थाहा छ ?

रियल म्याड्रिडका स्टार रोनाल्डोले यस फाइनल जितेमा पाँच पटक यो उपाधि जित्ने च्याम्पियन्स लिगको इतिहासमा पहिलो खेलाडी हुने छन् ।
लिभरपुलका म्यानेजर क्लोपले म्यानेजरको रुपमा आफ्ना पछिल्ला प्रमुख ५ फाइनलमा हार बेहोरेका छन् ।
रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले यसै मैदानमा सन २०१२ को युरो कपको फाइनलमा स्पेनलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

 

हेड टु हेड :

रियल म्याड्रिड र लिभरपुलबीच अहिलेसम्म भएका ५ खेलमा लिभरपुलले ३ र रियल म्याड्रिडले २ खेलमा जित हासिल गरेको छ । जसमा पछिल्ला दुई खेलमा भने रियल म्याड्रिडले जित हासिल गरेको छ ।

यी दुई टिमबीच पहिलो पटक युरोपियन कप फाइनलमा मे २७ १९८१ मा भिडन्त भएको थियो, जसमा लिभरपुलले रियललाई १-० ले पराजित गरेको थियो ।

त्यसपछि सन २००९ को च्याम्पियन्स लिगको अन्तिम १६ का दुवै लिगमा लिभरपुलले रियललाई अपराजित गरेको थियो । पहिलो लिगमा लिभरपुलले १-० ले जितेको थियो भने दोस्रो लिगमा ४-० ले पराजित गरेको थियो ।

त्यसपछि सन २०१४ को च्याम्पियन्स लिगको समुह चरणको खेलमा रियलले लिभरपुललाई होम र अवे दुवै खेलमा पराजित गरेको थियो । यस खेलमा आफ्नो घरेलु मैदानमा लिभरपुल ३-० ले पराजित भएको थियो भने अवे खेलमा १-० ले पराजित भएको थियो ।

युट्युबमा लाइभ हेर्न पाइने :

लिभरपुल र रियल म्याड्रिडबीचको च्याम्पियन्स लिगको फाइनल खेल युट्युबमा लाइभ हेर्न पाइने भएको छ ।

युक्रेनको किभमा आज राती हुने च्याम्पियन्स लिगको फाइनल खेल युट्युबसहित अन्य अनलाइन प्लेटफर्म हरुमा नि:शुल्क हेर्न पाइने भएको हो ।

च्याम्पियन्स लिगको डिजिटल अधिकार पाएको बिटी स्पोर्ट्सले अनलाइनमा नि:शुल्क लाइभ गर्न सहमत भएको बताइएको छ । बिटी स्पोर्टका हाल ६५ लाख ग्राहक छन् भने अनलाइन ग्राहकको संख्या बढ्ने बताएको छ । लिभरपुल फाइनलमा पुगेकोले पनि बिटी स्पोर्टले फाइनल खेल नि:शुल्क अनलाइनमा लाइभ गर्न लागेको बुझाइ धेरैको रहेको छ ।

युट्युब र बिटी स्पोर्टले यस विषयमा समझदारी गर्दै संसारभर रहेका फुटबल फ्यानहरुलाई फुटबलसँग झन् जोड्न यसले मद्धत गर्ने बताएका छन् ।   

अन्त्यमा, विश्वकपको मुखैमा हुन लागेको च्याम्पियन्स लिग फाइनलमा तुलनात्मक रुपमा रियल म्याड्रिडको रेकर्ड राम्रो देखिए पनि लिभरपुलले यस सिजनमा गरेको प्रदर्शनलाई हेर्दा खेल निकै रोमान्चक हुने देखिन्छ । रोनाल्डो र सलाह, बेन्जामा र फिर्मिनो, माने र भास्क्वेजको लडाई रोचक हुने देखिन्छ । 

त्यस्तै दुवै टिमले आ-आफ्नो लिगमा पराजयको पिडालाई च्याम्पियन्स लिग जितेर बिर्साउन भरमग्दुर प्रयास गर्ने छन् । ला लिगामा प्रदर्शन गर्न नसकेका रोनाल्डो र प्रिमियर लिगमा चौथो भएको लिभरपुललाई सलाहले कसरी फाइनलमा खेल देखाउछन् रोचक हुने देखिन्छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै