• २०८१ बैशाख १३ बिहीबार

चक्रपथमा मोनोरेल सञ्चालन सम्भाव्यता अध्ययन गर्ने जिम्मा चाइना रेल वेलाई

kharibot

काठमाडौँ । काठमाडौं र ललितपुर महानगर घेरेको चक्रपथमा मोनो रेल सञ्चालन सम्भाव्यता अध्ययन गर्न चीनको चाइना रेल वे २५ औं व्युरो ग्रुप कम्पनीलाई जिम्मा दिइएको छ

शुक्रबार भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र रेल वेका महाप्रवन्धक लि होङ्गकीले अध्ययन सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्नुभए पछि काम रेल वेको जिम्मामा पुगेको हो । 

सो अवसरमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, महानगरका प्रमुख प्रशासकीय अधिकृत यादव कोइरालालगायत अधिकारी सहभागी हुनुहुन्थ्यो । महानगरले मोनोरेल सञ्चालन सम्बन्धि प्रकाशन गरेको आशय पत्रमा रेल वे ग्रुपले वैशाख २० गते महानगरमा इच्छापत्र बुझाएको थियो । 

यसका आधारमा महानगरको वैशाख २४ गतेको प्रमुख स्तरीय निर्णयबाट आज (शुक्रबार) रेल वे कम्पनीसँग सम्झौता गरिएको हो । यस सम्झौता अनुसार — रेल वे कम्पनीले चक्रपथमा मोनो रेल चलाउन आर्थिक, प्राविधिक तथा दिगोपना जस्ता पक्षमा अध्ययन गर्ने तथा प्राप्त सम्भावनाका उपयुक्त विकल्पहरु शिफारिस गर्नेछ । 

सम्झौता समारोहमा बोल्दै, महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नै पालामा मोनोरेल सञ्चालन गर्ने प्रतिवद्धता दोहोराए । मोनो रेल चलाउँछौं भनेकै एक बर्ष भइसक्यो । विधि मिलेपछि काम गर्ने बाटो खुल्छ । काम थालनी भएपछि रेल सञ्चालन हुन समय लाग्दैन, हामी त्यही दिशामा लक्षित छौं, मेयर शाक्यको भनाइ थियो । 

सोही अवसरमा बोल्दै ललितपुर महानगरका प्रमुख चिरीवाबु महर्जनले, आफू महानगरबासीलाई सरल जीवन यापन गर्ने सुविधाको, सुन्दर उपहार दिन लागि रहेको बताए । अहिलेको चक्रपथमध्ये १० किलोमिटर खण्ड आफ्नो भूगोलमा रहेको जनाउँदै मेयर महर्जनले यस क्षेत्रमा काम गर्न आवश्यक वातावरण तयार पार्न आफू तत्पर रहेको बताए । 

मोनोरेल निर्माण, व्यवसथापन तथा सञ्चालन कार्यले काठमाडौंसँगै ललितपुर महानगरको समृद्धिसँग पनि उत्तिकै सम्बन्ध राख्छ । त्यसैले सम्भाव्यता अध्ययनबाट प्राप्त सूचना र प्रगतिका हरेक सवालमा ललितपुर महानगरसँग सहकार्य गरिनेछ । कार्यक्रममा महानगरको सार्वजनिक निजी साझेदारि इकाइका प्रमुख, महेश काफ्लेले बताए ।

मोनोरेल निर्माण, सञ्चालन, व्यवस्थापन तथा यसको दिगोपना अध्ययनका मूख्य आधार रहेका छन् । यो अध्ययन गर्दा नेपालको प्रचलित कानून र यसले गरेका व्यवस्थाका आधारमा गरिनेछ ।

सम्झौता पत्रमा हस्ताक्षर गरिसकेपछि आफू काठमाडौंको सहरी यातायात व्यवस्थापनमा थप जिम्मेबार भएको बताउँदै कम्पनीका महाप्रवन्धक, होङ्गकीले तोकेको समयमा काम सम्पन्न गर्न आफू प्रतिवद्ध रहेको जनाए । 

सम्झौताअनुसार, पहिलो महिना अध्ययन आधार तयार गरेर थालनी हुने सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन ६ महिनामा पेश हुनेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै