• २०८१ बैशाख ८ शनिबार

जनप्रतिनिधिको एकवर्ष : रत्ननगरमा ‘कल्चरल भिलेज’ बनाइने

kharibot

रत्ननगर, चितवन ।  चितवनको रत्ननगर नगरपालिकाले नगरको विकासकालागि महत्वाकांक्षी योजना अघि सारेको छ । 

जनप्रतिनिधिले शपथ लिएको एक वर्ष पूरा भएको अवसरमा नगरप्रमुख नारायण वनले बिहीबार नगरको विकासको खाका प्रस्तुत गरे ।  एक वर्षमा नगरपालिकाले प्लटिङ् रोक्ने, जग्गा बाँझो राख्नेलाई कारबाही गर्ने र सार्वजनिक जग्गा संरक्षण गर्नेलगायत काम गरेको छ । 

विहीवार सार्वजनिक सुनुवाइका क्रममा विकासका कार्यक्रमबारे जानकारी दिँदै नगरप्रमुख वनले भने, “नगर अब विकासमा अगाडि बढ्छ, नतिजामुखी काम हुन्छ ।” 

रत्ननगरलाई कस्तो बनाउने भनेर स्वदेशी तथा विदेशी विज्ञसँग नगरपालिकाले छलफल गरिरहेको उहाँले बताउनुभयो । नगरप्रमुख वनका अनुसार पर्यटकीय नगर भएकाले रत्ननगरमा ‘कल्चरल भिलेज’ निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढेको छ । विभिन्न जातजातिका घर निर्माण गरेर आएका पर्यटकले कुन घरमा बस्न चाहन्छन् त्यहाँ राख्न सकिने गरी कल्चरल (साँस्कृतिक) घर बनाइने नगरपालिकाले योजना अघि सारेको छ । 

यस्तै, रत्ननगर बकुलहर अस्पताललाई ५१ श्ययाको अस्पताल बनाउने, सौराहा चोकमा बसपार्क बनाउने, नमूना सडक निर्माण गर्ने योजना नगरपालिकाले अघि सारेको छ ।अहिलेसम्म ६० बिगाहा सार्वजनिक जग्गा खोजी गरी संरक्षण गरेको भन्दै नगरप्रमुख वनले अझै बाँकि २०० बिगाहा जग्गा भएकाले सबै खोजेर संरक्षण गर्ने बताए । 

सभाहल, रंगशाला, सिटीहल, आधुनिक बसपार्क र स्मार्ट सिटी, शीतभण्डार निर्माणमा समेत नगरपालिका अघि बढेको वनको दाबी छ । नगरपालिकाका हरेक सेवा सूचना प्रविधिमैत्री बनाउन लागेको भन्दै उहाँले अब ‘पेपरलेस’ (कागजबिना नै कामकाज हुने) नगर बनाउने दाबी गरे । 

नगरपालिकाको योजनाअनुसार खाली जमिनमा वृक्षारोपण गरिनेछ । ट्राफिक व्यवस्थापन चुस्त पारिनेछ । दिगो फोहर व्यवस्थापनमा समेत ध्यान दिएर काम अगाडि बढेको छ । कयरखोलाको कोरिडोर क्षेत्रको विकासमा समेत नगरपालिकाले ध्यान केन्द्रित गरेको छ । यसका लागि गुरुयोजना निर्माणको तयारीमा लागेको वन बताए । 

नगरप्रमुख वनले अब युवालाई विदेश नै जानुनपर्ने, यहीँ स्वरोजगार हुनका लागि ४÷५ प्रतिशतमा कृषि ऋण उपलब्ध गराइने बताए । नगरपालिकाले जिपिएस सिष्टम लागू गर्न लागेको छ । सुुशासन कायम राख्न अधिकतम प्रयास गरिने भन्दै वनले भने, “जनप्रतिनिधि, कर्मचारीले रु एक मागे पनि भन्नुहोस्, ठाउँका ठाउँ कारबाही हुन्छ ।” 

नगरपालिकाकी उपप्रमुख विमला दुवाडीले सर्वसाधारणको सुझाव र आवश्यकताअनुसार विकासका कार्यक्रम अघि बढ्ने प्रतिबद्धता जनाए । 

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले विकासको आधार नै सडक भएको भन्दै बाटोको विस्तार र कालोपत्रेमा ध्यान दिन सुझाव दिए । चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडीले नगरपालिकालाई समृद्ध बनाउन व्यवसायीको सहयोग रहने बताए । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय सहकोषाध्यक्ष सोम सापकोटाले स्मार्ट सिटी बनाउनका लागि पहिले रत्ननगरलाई वाइफाइ फ्रि जोन बनाउन नगरप्रमुख वनलाई सुझाव दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै