• २०८१ बैशाख १२ बुधबार

बालकृष्ण ढुंगेललाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट, आजै पेशी

kharibot

काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई रिहा गर्न सरकारले तयारी गरेको भन्दै त्यस विरुद्ध सर्वोच्च अदालतमा विहिबार रिट दायर भएको छ । 

ढुंगेललाई रिहा नगर्न भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् । सरकारले ढुंगेल लगायत अन्य कैदीलाई जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर रिहा गर्ने तयारी गरेको छ । गम्भीर अपराधमा संलग्न भएका भन्दै अदालतले पीडितका लागि खतरा भएको ठहर गरेका व्यक्तिलाई असल चालचलन भन्दै कैद मिनाह गर्न खोज्नु न्याय र विधिको शासन विपरीत भएको रिटमा उल्लेख छ । 

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रपति कार्यालय, कारागार व्यवस्था विभागलाई विपक्षी बनाईएको छ । रिटको पेशी आजका लागि तोकिएको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ढुंगेललाई गत कात्तिक १४ गते ललितपुरबाट पक्राउ गरे लगत्तै जेल चलान गरिएको थियो । ढंगेललाई अहिले डिल्लीबजार कारागारमा राखिएको छ । ढुंगेललाई सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । 

गत कात्तिक ७ गते सर्वोच्चले एक साताभित्र ढुंगेललाई पक्राउ गर्न नेपाल प्रहरीका तत्कालीन आईजीपी प्रकाश अर्याललाई आदेश दिएपछि ढुंगेल पक्राउ परेका थिए । 

कारागार नियमावलीमा ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनको आधारमा कैदीलाई छाड्न सक्ने प्रावधान छ । २०६१ मा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद फैसला गरेको थियो । सो मुद्दामा पुनरावेदनबाट सफाई पाएपनि सर्वोच्चले जिल्ला अदालतको  फैसला सदर गरेको थियो ।  

जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा माफी दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्तब्य ज्यान मुद्दामा सजाय काटिरहेका ढुंगेललाई ४० प्रतिशत कैद सजाय भुक्तान गरेको र असल चालचलन देखाएको भन्दै उनी सहित करीब ८ सय जनालाई बाँकी कैद सजाय मिनाहा गर्न सिफारीस गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै