• २०८१ बैशाख १४ शुक्रबार

नेपालले पहिलो एकदिवसीय सिरिज नेदरल्याण्डविरुद्ध खेल्ने 

kharibot

काठमाडौँ । नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट नेदरल्यान्डसँग खेल्ने भएको छ ।

दुई खेलको एकदिवसीय सिरिज १ र ३ अगस्टमा नेदरल्यान्डमा हुने भएको छ । खेल हुने मैदान भने अझै तय नभएको नेदरल्यान्डका प्रशिक्षक रायन क्याम्बेललाई उद्धृत गर्दै क्रिकेटसम्बन्धि अनलाइन क्रिकबजले उल्लेख गरेको छ ।

नेपाली क्रिकेट व्यवस्थापनले भने नेदरल्याण्डसँग एकदिवसीय सिरिजका विषयमा कुराकानी भैरहेको बताएपनि अझै सबै कुरा फाइनल भने नभएको खरिबोटलाई बताएका छन् ।  

नेदरल्यान्डका प्रशिक्षक रायनले नेपाललाई उनीहरूको पहिलो एकदिवसीय खेलका लागि स्वागत गर्दै छौँ भन्दै क्रिकवजलाई नेपालसँग सन्दीप लामिछानेजस्ता विश्वस्तरीय खेलाडी रहेको उल्लेख गरेका छन् ।

नेपालले गत मार्चमा जिम्बावेमा भएको विश्वकप छनोट प्रतियोगिताबाट एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको थियो । नेदरल्यान्डले गत डिसेम्बरमा विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि पाएपछि पुनः एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको हो । नेदरल्यान्डले सन् २०१४ को विश्वकप छनोट प्रतियोगितामा क्यानडासँग अन्तिमपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो । सो प्रतियोगिताबाट उसले एकदिवसीय मान्यता गुमाएको थियो ।

गत मार्चमा जिम्बावेमा भएको विश्वकप छनोटमै नेपाल र नेदरल्यान्डबीच पछिल्लोपटक एकदिवसीय प्रतिस्पर्धा भएको थियो । सो खेलमा नेपाल ४५ रनले पराजित भएको थियो ।

एकदिवसीय सिरिजअघि दुवै देशले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) को घरेलु मैदान लर्ड्समा त्रिकोणात्मक टी-२० खेल्नेछन् । २९ जुलाईमा हुने प्रतियोगितामा दुई देशसँगै एमसिसीले पनि प्रतिस्पर्धा गर्नेछ ।

क्रिकवजले लेखेको समाचार 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै