• २०८१ बैशाख १२ बुधबार

प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण : कुकुरदेखि पुरानो साइकलसम्म 

kharibot

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रधानमन्त्रीसहित १८ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद् गठन भएको तीन महिनापछि कार्यालयले मन्त्रिपरिषद् सदस्यको सम्पत्ति सार्वजनिक गरेको हो।

विवरणअनुसार  प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यका नाममा भक्तपुरमा २ र झापामा १ घर  छन्। ओलीको बैंक खातामा तलबभत्ता वापतको ४२ लाख र शाक्यको खातामा १० लाख रूपैयाँ छ। प्रधानमन्त्री ओलीसँग १८ तोला सुनका गहना छन्। शाक्यले २५ लाख रूपैयाँ सेयरमा लगानी गरेकी छन्।  झापाको पृथ्वीनगरमा रहेको १० कठ्ठा जमिन पनि उनकै नाममा छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुटवलमा भएको घर र जग्गा बेचेर काठमाडौंको शंखमुलमा २१ लाखमा किनेको छन् । उनले घर श्रीमतीका नाममा  राखेका छन् । ज्ञवालीसँग मात्र २ तोला सुन छ । पारिश्रमिक, पुस्तकको रोयल्टी र स्तम्भ लेखनबाट कमाएको २ लाख ५७ हजार ३८३ रूपैयाँ छ भने २५ सय पुस्तकलाई पनि उनले सम्पत्तिको रुपमा देखाएका छन् ।

गृहमन्त्री रामबहादुर थापाको बैंक खातामा ३ लाख रूपैयाँ छ । त्यो रकम रेष्टुरेन्टको पार्टनरसिपबाट पाएको उनले उल्लेख गरेका छन्। थापासँग ६ तोला सुन छ भने माओवादी पार्टीका नाममा रहेको एउटा गाडी पनि छ । उनले आफूसँग रहेका २ कुकुरलाई पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यस्तै चितवनको १ कठ्ठा ३ धुर जग्गा उनकी पत्नी नैनकला थापाको नाममा छ।

रक्षामन्त्री ईश्वर पोखरेल झापाको चन्द्रगढीमा १२ कठ्ठा जग्गा छ। टोखामा २३ आनामा बनेको घर श्रीमती मिरा पोखरेलको नाममा छ। उनको बैंकमा ७ लाख रुपैयाँ छ भने व्यक्तिगत सवारीसाधन देखाएका छैनन् ।

उर्जामन्त्री वर्षमान पुनसँग रोल्पाको रोल्पा नगरपालिकामा घर छ । उनले १५ तोला सुन र तलब भत्ताको तीन लाख पचास हजार बैंक खातामा रहेको उल्लेख गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको महोत्तरीमा एउटा घर छ भने ३ लाख ६७ हजार बैंक खाता जम्मा छ । रूपाकोट सामुदायिक एफएम खोटाङमा उनले ५ हजारको सेयर हालेका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको सिरहा र धनुषामा ४५ लाखमा किनिएका दुई घर छन् । सिरहा धनुषा र ललितपुर चाँपा गाउँमा झन्डै एक करोड तीस लाखमा किनिएको जग्गा छ भने उनले १६ तोला सुन र ७९ हजार ६ सय ९२ बैंक खातामा रहेको उल्लेख गरेका छन् ।

भौतिक पूर्वधार तथा यातायात मन्त्री  रघुवीर महासेठको धनुषा र ललितपुरमा श्रीमतीका नाममा घर छ । मन्त्री महासेठको सिन्धुली, ललितपुर र धनुषामा जग्गा, बैंक खातामा  ७२ लाख नगद र ५२ तोला सुन देखाएका छन् जसमा २५ तोला सुन उनले दाइजो पाएका उल्लेख गरेका  छन् । उनकी श्रीमती  जुली महतोको नाममा ४० करोड २ लाख २० हजारको सेयर छ।

श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टको  काठमाडौंमा ४० लाखमा किनेको घर छ भने गुल्मीमा २ वटा घर र दुईटा कटेरा छन् । उनले सात तोला सुन, बैंक खातामा ५४ हजार रूपैँया छ भने श्रीमती  प्रतीमा श्रेष्ठको बैंक खातामा ६ लाख ८२ हजार रुपैयाँ छ। त्यस्तै उनले गोरू २, भैंसी १,  गाई २  र बाख्रा ४ सम्पतिमा देखाएका छन् ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको जाजरकोटमा १ घर छ । उनले आफु चढ्ने स्कार्पियो गाडी नेकपा माओवादी केन्द्रका नाममा रहेको उल्लेख गरेका छन् । त्यस्तै उनीसँग नगद १५ लाख , बैंक खातामा २ लाख छ भने ७ तोला सुन र १० किलो  चाँदी  छ। उनले दुईटा सहकारीमा तीन लाख १० हजारको सेयर  हालेका छन्।

खानेपानी मन्त्री बीना मगरको चितवनमा पति प्रकाश र सासू सीता दाहालको नाममा तीन कठ्ठा जग्गा आफूसँग ५ तोला सुन र १६ तोला चाँदी रहेको देखाएकी छन् ।

कृषि भूमि तथा सहकारी मन्त्री चक्रपाणि खनालसँग कपिलवस्तु रूपन्देहीमा १५ कठ्ठा जग्गा छ । उनले आफूसँग ६ तोला सुन, बैंकमा ८ लाख १६ हजार रूपैया देखाएका छन् । श्रीमतीको बैंक खातामा ६ लाख ८० हजार  र १० लाख ३७ हजारको सेयर देखाएका छन् । उनकी श्रीमतीको नाममा स्कुटर पनि रहेको उल्लेख गरेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको कास्की र काठमाडौंमा तीन वटा घर छन्।  कास्कीमा उनको ९४.५ रोपनी जग्गा, ६० तोला सुन ३० किलो चाँदी रहेको उल्लेख गरेका छन् । उनको बैंक खातामा २४ लाख ५७ हजार रूपैयाँ छ भने तीस लाख २६ हजार सेयरमा लगानी गरेका छन् । उनेल २० लाखको कार रहेको उल्लेख गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको मोरङ विराटनगर १२ मा एक कठ्ठामा ५ कोठे घर छ। सर्लाही बसबरिया घरसमेत गरी चार बिघा  जग्गा छ । श्रीमती विमला पण्डितको नाममा ललितपुर भैंसेपाटीमा ४ आना जग्गा, श्रीमतीको नाउँमा १० तोला सुन र १५ तोला चाँदी रहेको उल्लेख अग्रेका छन् । लालबाबुको बैंक खातामा २५ लाख र विमलाको खातामा ३० लाख रकम रहेको र  एउटा पूरानो साइकल पनि सम्पत्तिमा उल्लेख गरेका छन् ।

अर्थमन्त्री युवराज खतिवडाको नाममा काठमाडौंमा पाँच आना जग्गा छ । श्रीमती कमला खतिवडाको नाममा १४ आनाका साथै श्रीमान् श्रीमतीको नाउँमा भक्तपुर, झापा, दोलखा  र काठमाडौंमा जग्गा रहेको उल्लेख गरेका छन् । खतिवडासँग दश तोला सुन र एक किलो चाँदीका गहना र एउटा कार रहेको उल्लेख अग्रेका छन् । खतिवडाले सावल सहकारी संस्थाको ५ हजार शेयरका किनेका भने बैंक खातामा १ करोड २४ लाख ९५ हजार नेपाली रूपैयाँ र नविल र सानिमा बैंकमा रहेको खतिवडाका खातामा  ६२ हजार ७ सय ३ अमेरिकी डलर रहेको उल्लेख गरेका छन् । उनले  ८० हजारको रंगीन टीभी, ६५ र ८५ हजार मूल्यका दुइटा मोबाइल सम्पतिको रुपमा उल्लेख गरेका छन् ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले कास्की पोखरा-लेखनाथमा दर्ता हुन बाँकी रहेको दुई रोपनी जग्गा दिलबहादुर सुनारको नाममा पैतृक सम्पत्ति देखाएका छन् । सावित्री सुनारको नाउँमा ललितपुरमा जग्गा तथा ५० तोला सुन रहेको छ। मन्त्री विश्वकर्माको बैंक खातामा १३ लाख छ भने अञ्जुकुमारी विश्वकर्माको नाममा सात लाख रहेको उल्लेख गरेका छन् । दिलबहादुर सुनारको नाउँमा कृषि विकास बैंक चार हजार सेयर रहेको उनले उल्लेख गरेका छन् । 

कानून न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले उषाकला राईको नाममा काठमाडौं गोकर्णेश्वर ८ मा तीन रोपनी जग्गा र घर भएको विवरण बुझाएका छन् । सिन्धुपाल्चोक, मोरङ, खोटाङ, काठमाडौमा गरी उषाकला राई र शेरबहादुरको नाममा १२३ रोपनीभन्दा धेरै जग्गा, त्यस्तै ३० तोला सुन छ भने बैंक खातामा एक लाख २८ हजार ९४२ रूपैयाँ रहेको उल्लेख गरेका छन् ।  उनले विभिन्न कम्पनीमा १५ लाखको सेयर किनेका छन् । उनीसँग कार र मोटरसाइकल पनि रहेको उल्लेख गरेका छन् । 

महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाको नाममा म्याग्दीको बेनी ८ मा सात रोपनी जग्गा छ। उनले आमाबाट सो जग्गा प्राप्त भएको उल्लेख गरेकी छन् । आमाले एक तोला सुन दिएको उल्लेख गरेकी उनले बैकमा १५ हजार रूपैयाँ रहेको विवरण पेश गरेकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै