• २०८१ बैशाख ७ शुक्रबार

रसुवागढी—केरुङ अब अन्तर्राष्ट्रियस्तरको नाका, तेस्रो देशका नागरिक पनि जान/आउन पाउने

kharibot

काठमाडौं / नेपाल र चीन जोड्ने रसुवागढी—केरुङ नाकाको स्तरोन्नति गरिएको छ । बुधबार नेपाली महावाणिज्यदूत गोविन्द बहादुर कार्की र तिब्बत सरकारका सहायक अध्यक्ष ल्युओ मेईले ल्हासामा संयुक्त पत्रकार सम्मेलन गरी रसुवागढी नाकालाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय नाका बनाइएको घोषणा गरेका हुन् ।   

चीनसँग जोड्ने सिन्धुपाल्चोकको तातोपानी नाका २०७२ सालको भूकम्पपछि पूर्णरुपमा बन्द रहेको अवस्थामा रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाका बनाइएको हो । यो घोषणासँगै अब रसुवागढी नाकाबाट नेपाल र चीनबाहेक तेस्रो देशका नागरिकले समेत प्रक्रिया पूरा गरी उक्त नाकाबाट आवतजावत गर्न पाउने भएका छन् । चीनले तातोपानीभन्दा रसुवागढीलाई नै बढी प्राथमिकता दिँदै आएको छ । तिब्बतको राजधानी ल्हासास्थित आयोजना गरिएको संयुक्त घोषणा कार्यक्रममा बोल्दै तिब्बत सरकारकी सहायक अध्यक्ष ल्युओ मेईले नेपाली महावाणिज्यदूतको उपस्थितिमा रसुवागढी—केरुङ नाकालाई अन्तर्राष्ट्यि नाकाको रुपमा घोषणा गर्न पाउँदा खुसी लागेको बताइन् । उनले चीनतर्फ उक्त नाकाको भौतिक पूर्वाधार पुनर्निर्माण तथा स्तरोन्नति कार्य लगभग पूरा भएको समेत बताइन् ।

ल्हासास्थित नेपाली महावाणिज्यदूत कार्कीले कार्यक्रममा बोल्दै रसुवागढी नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाउनपाएकोमा सन्तोष व्यक्त गरे । उनले यसबाट दुई देशबीचको व्यापार, पर्यटन, लगानी तथा जनस्तरको सम्बन्ध अझ बढ्ने टिप्पणी गरे । उनले तातापानी नाका समेत पुनः सञ्चालनमा ल्याउनुपर्ने भन्दै दुवै देशको सहमतिमा थप नयाँ नाकाहरु समेत खोल्दै जानुपर्ने विचार व्यक्त गरे । उनले नेपालले चीनको वान रोड वान बेल्ट (ओबोर इनिसिएटिभ)मा हस्ताक्षर गरिसकेको तथा दुवै देशबीच कनेक्टिभिटी, व्यापार, पर्यटन जस्ता कुरालाई जोड दिएको भन्दै आगामी दिनमा दुई देशबीच आर्थिक गतिविधि तीव्र हुने विश्वास व्यक्त गरे ।

नेपाल र जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्रबीच रहेको रसुवागढी–केरुङ नाका वि.सं. २०७१ मंसिर १५ देखि द्विदेशीय नाकाको रुपमा सञ्चालन हुँदै आएको थियो । उक्त नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउन नेपाल र चीनका परराष्ट्र मन्त्रालयहरुबीच गत जुन महिनामा नै कूटनीतिक पत्र आदानप्रदान भएको थियो । तातोपानी नाका भूकम्पले क्षतविक्षत पारेपछि अहिले बन्द छ । नेपालले बारम्बार खुलाउन पहल गर्न चीनलाई आग्रह गरे पनि चीनले भने रसुवागढीलाई बढी महत्व दिएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै