• २०८१ बैशाख ७ शुक्रबार

एनआईसी एशिया बैंकद्वारा सिरहाको भोक्राहामा आठौ शाखारहित बैंकिङ्ग सेवा सुरु

kharibot

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा सिरहा जिल्ला कल्याणपुर नगरपालिकाको भोक्राहामा बैंकले आठौ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

सो शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन प्रदेश नं. २ का प्रदेश सभा सदस्य माननीय सुरेश कुमार मण्डल र कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलले संयुक्त रुपमा गरेका छन् । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा मतिबुल राईनलाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरी सम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछन् ।

बैंकले हाल मुलुकभर २१६ शाखा कार्यालयहरु, २०३ एटिएम, ७ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

बैंकको वासलातको आकार रु १५९ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु. ११० अर्ब र कुल निक्षेप करिब रु. १३६ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा ग्राहकहरुको संख्या करिब ११ लाख ५० हजार रहेको जानकारी बैंकले दिएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै