• २०८१ बैशाख ८ शनिबार

काँग्रेसको अबको बाटो  : ‘फेयर’ राजनीति गर्ला कि संकीर्णता पालिरहला ? 

kharibot

काठमाडौं / काँग्रेसले हातसाथ दिएर सत्तामा पुर्याएका एमाले र माओवादीले आफ्नो ‘ओरिजिन’ चिनेर सँगै चुनावमात्र लडेनन्, बरु एक नै भएर देखाए । एकतामा केही ढिलाइ भएको हो तर त्यो नहोला कि भन्दाभन्दै हुनपुग्यो । 

कुनै बेला एमालेलाई पार्टी नै होइन, काँग्रेसमा गएर विलय हुँदा ठीक हुने सल्लाह तत्कालीन माओवादी नेता प्रचण्डले दिएका थिए भने ओलीले पनि माओवादीविरुद्ध उस्तै शब्दले खेदो खन्थे । तर अहिले जुन राजनीतिक परिदृश्य हेर्न बाध्य भएको छ काँग्रेस, त्यसको उपज आफैँले गर्दा भएको भान भएको छ कि छैन होला ?  हुनुपर्ने त हो ।

किनकि ओली र प्रचण्डलाई मिलाउने बाटोको ट्रयाक खोलिदिने शेरबहादुर देउवा नै हुन् । यो यहाँ आरोप लगाउन खोजिएको नभई काँग्रेसकै नेताहरुले आफ्नो सभापतिविरुद्ध लगाउँदै आएका आरोपहरु हुन् । देउवाको सत्तालोलुप खेलमा कहिले ओलीलाई त कहिले प्रचण्डलाई उचाल्ने काम भएकै कारण उनीहरुको एकताको ‘डिजाइन’ भएको मान्ने नेताहरु नेपाली काँग्रेसमा धेरै छन् र एकता हुनुको धेरै कारण मध्ये यो एउटा कारण हो । 

१३ वर्षअघिसम्म प्रचण्ड र एमालेबीच भन्दा पनि प्रचण्ड र एमालेका केही नेताहरुबीच सायद एकताको बारेमा कहिले कहिले हँसीमजाक हुन्थ्यो, त्यो पनि ओलीसँग होइन, माधवकुमार नेपालहरुसँग, जोसँग प्रचण्डको सामीप्यता अलिक बढ्तै थियो । ओली र प्रचण्ड यसरी यो विन्दुमा आइपुग्ने आशा कसैसँग थिएन, न त कसैले अनुमान नै गरेका थिए । तर आएको अवसर फुत्किन नदिने र ‘रुटिन’मा छिरिसकेको काम फत्ते गर्ने लहडीले ओलीलाई र आफ्नो राजनीतिक अस्तित्व धरापमा परिसकेको अवस्थामा ‘सेफल्याण्डिङ’ खोज्ने क्रममा रहेका प्रचण्डलाई यो ऐतिहासिक मिलनविन्दुमा ल्याइपुर्यायो । 

देउवाविरुद्धको अतिवाद र अन्य नेताहरुविरुद्धको प्रतिवादमा अहिले कांग्रेस अल्झिएको छ । पार्टीमा पराइप्रायः देखिएका डा. शेखर कोइरालाहरु अहिले कांग्रेस नेतृत्वले विधान नचिनेको, सहमतिमा नआएको भन्दै छन् ।

अहिलेको यो स्थिति भनेको दुर्लभ हो । कम्युनिष्ट शक्तिसञ्चयको सुरुवात मात्र नभई यो एकता जनस्तरमा समेत कांग्रेसविरोधी धारको बलियो विस्तार हो । तर कांग्रेसले यसबाट अझै पाठ सिक्नेभन्दा संकीर्णता पालिरहने नेताहरुको व्यवहारले देखाइरहेको छ । कांग्रेसका प्रभावशाली नेताहरुले समेत यो एकतालाई आफूहरुको जनस्तरमा रहेको ‘लिगेसी’ धरापमा पर्ने रत्ति डर नदेखी यसको ‘खिसिट्युरी’ गरिरहेका छन् । प्रायशः चुनावमा पहिलो पार्टीको ‘लिगेसी’एमालेलाई बुझाएको कांग्रेस यतिखेर राष्ट्रिय राजनीतिको हरेक सरकारी पद खोसिएको अवस्थामा छ तर यसलाई न कांग्रेसका नेताले गम्भीर रुपमा लिएका छन् न त निर्मम आत्मसमीक्षा नै गरेका छन् ।

एकतापछिको ओली हुंकार बढ्नु स्वाभाविक हो तर गगन थापा जस्ता कांग्रेसी नेताले सस्तो लोकप्रियताकै लागि सार्वजनिक कार्यक्रममा एकता चाँडै भत्किन्छ, अनि थाहा पाउलास् भन्दै हिँड्नु कमजोरी हो । यसले कांग्रेसीहरु आफ्नो आङको भैँसी नदेखी अरुको आङको जुम्रा खोजिरहेको स्पष्ट हुन्छ । यस्तो प्रवृत्तिले कार्यकर्ताहरु खुसी होलान् तर जनतालाई थप चिढ्याउँछ । 

गत चैत ९ देखि लगभग १३ दिनसम्म बसेको कांग्रेस केन्द्रीय समिति बैठकले चुनाव हार्नुको कारण तत्कालीन माओवादी केन्द्र–एमालेबीचको गठबन्धनलाई ठहर्यायो तर त्यो परिस्थिति सृजना हुने कारणको आत्मसमीक्षा गर्न सकेन । चुनावको नतिजा सुरु भएलगत्तै आफ्नै नेताहरुविरुद्ध आलोचना गर्नमा कांग्रेसी युवाहस्तीहरुले आफ्नो क्षमता प्रयोग गरे तर आगामी कार्यदिशा यस्तो बनाऔँ र यो रणनीति प्रयोग गरौँ भन्ने साहस गर्न सकेनन् ।

फलतः कांग्रेसीहरु आआफ्नै संकीर्णता पाल्न व्यस्त देखिए । नाकाबन्दी नचिन्नेदेखि सत्ता पाउन मरिहत्ते गर्नेसम्म त चुकेकै थियो, तर अब विरोधी बलियो भइसक्दा समेत अझै पनि शक्तिशाली छु भनेर खोक्दै हिंड्ने नेताहरुको मनोवृत्ति अझै बाँकी नै देखियो । देउवाविरुद्धको अतिवाद र अन्य नेताहरुविरुद्धको प्रतिवादमा अहिले कांग्रेस अल्झिएको छ । पार्टीमा पराइप्रायः देखिएका डा. शेखर कोइरालाहरु अहिले कांग्रेस नेतृत्वले विधान नचिनेको, सहमतिमा नआएको भन्दै छन् । उनीहरुकै मतमा यस्तो तरिकाले कांग्रेसको भविष्य संकटमा पर्नसक्छ । 

फेरि गलत अडान लिदै काँग्रेस 
निर्वाचनमा किनारा लागेर विरोधीलाई एक बनाइदिएको कांग्रेसको कार्यशैली अझै उस्तै देखिएको छ । जनताले चिनेको नाकाबन्दी नचिनेर पाएको सजायको बेवास्ता गर्दै अहिले कांग्रेसले संसदमा फौजदारी अभियोग लागे पनि सांसद् निलम्बन हुन नहुने अडान तेस्र्याइरहेको छ । यो थप कांग्रेसलाई कमजोर पार्ने प्रवृत्ति नै हो ।

प्रजातन्त्रको नमूना मानिने देश अमेरिकामा यो वर्षमात्रै यौनिक अपराध गरेको आरोप मात्रै मिडियामार्फत बाहिरिँदा आधा दर्जन बढी सांसदले पद छोडे, राजीनामा दिए तर नेपालमा भने अभियोग लागेर पुर्पक्षमा गएको, दुई-तीन वर्षका लागि थुनामा परेको सांसद् पदमा निर्वाचित छ भने पनि उसलाई निलम्बन गर्न नहुने घिनलाग्दो अडान लिएर बसिरहेको छ । 

जनताले चिनेको नाकाबन्दी नचिनेर पाएको सजायको बेवास्ता गर्दै अहिले कांग्रेसले संसदमा फौजदारी अभियोग लागे पनि सांसद् निलम्बन हुन नहुने अडान तेस्र्याइरहेको छ । यो थप कांग्रेसलाई कमजोर पार्ने प्रवृत्ति नै हो ।

प्रतिपक्षमा छु भनेर विरोधका लागि विरोध गर्नेबाहेक अरु के हुनसक्छ यो ? जनताको लागि विधान बनाउने व्यक्ति जब आफैँ कलुषित हुन्छ, आरोपित हुन्छ, त्यसले बनाएको ऐन÷नियम अकलुषित, निर्देश जनताले मान्नुपर्ने ? यस्तो तर्कमा कांग्रेसको लिँडेढिपी केवल उँधो गति उँधै मतिशिवाय अरु केही हुनसक्दैन । मुखले रचनात्मक प्रतिपक्षको वकालत गर्ने तर व्यवहारले आफैँ फोहोरी खेलमा लागिरहने यस्तो प्रवृत्ति कांग्रेसकै लागि भावी दिनमा हानिकारक छ ।

जिम्मेवार सांसदले आरोप लागेपछि पदबाट बाहिरिएर त्यसको गरिमा जोगाउँदै आफूमाथिको अभियोगको विधानसम्मत प्रतिवाद गर्छ, न कि त्यसको खण्डन । हुन त यतिबेला आफ्ना धेरै ‘गुण्डा’ सांसदविरुद्ध संसदमा छानबिन हुने भयले कांग्रेस आत्तिएको धेरैले अनुमान पनि गरेका छन् । तर कांग्रेसले छवि सुधार्ने र जनप्रियता आर्जनमा फर्किने हो भने पार्टीभित्रका कसिंगरहरु बढारेकै राम्रो नभए जनताले चुनावमा बढारिदिनेछन् भन्ने हेक्का राखेको राम्रो हुने देखिन्छ । 

‘फेयर’ राजनीति गर्ने कि संकीर्ण विचार पालिरहने ? 
प्रतिपक्ष बलियो भएको र आफू कमजोर भएको अवस्थामा कांग्रेससामु अब ‘फेयर’ राजनीति गर्ने र संकीर्ण विचारलाई किनारा लगाउने चुनौती छ ।

पार्टीभित्रको आन्तरिक प्रजातन्त्र सुदृढ गरेर अगाडि बढ्ने बाटो छान्ने कि नेताविरुद्ध नेताले प्रतिवाद गरिरहने, हारको आरोप-प्रत्यारोपमा उत्रिरहने, पद हत्याउन गुट-उपगुटमै रमाइरहने भन्ने अर्को चुनौती छ । ढिलै भए पनि भारतीय नाकाबन्दीको परिणाम भोगेको महसुस कांग्रेसले गरेको छ, जुन ‘फेयर’ राजनीतिकै एक पाटो हो तर यो एकदमै ढिला गरी भयो । 

किनकि गल्ती महसुस हुनु भनेको जिम्मेवार हुँदै छु भन्ने संकेत हो । तर ‘फेयर’ राजनीतिको बाटोमा जान खोजेजस्तो गर्ने अनि अपराधी सांसदको पद जोगाउनुपर्छ पनि भन्ने पछिल्लो प्रवृत्तिले चाहिँ कांग्रेसको मूल्यांकन गर्नेलाई नै दुविधामा पारिदिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै