• २०८१ बैशाख १३ बिहीबार

यातायातको प्रदुषण मापन गर्न ‘डिजेल स्मोक मिटर’ र ‘ग्यास एनलाइजर’ ल्याइदै

kharibot

काठमाडौं । सरकारले यातायातको प्रदुषण मापन गर्नका लागि दुई वटा उपकरण खरिद गरी ल्याउने तयारी गरेको छ । यातायात व्यवस्था विभाग भ्याटबाहेक एक करोड ५० लाख रुपैयाँको लागतमा ४० थान ‘डिजेल स्मोक मिटर’ र ‘ग्यास एनलाइजर’ खरीद गरेको छ ।

जापानबाट ल्याइने ती उपकरण खरिद गरिसकेको र असारसम्ममा ती उपकरण आउने विभागले जनाएको छ । सार्वजनीक तथा निजी सवारी साधनहरुबाट निस्कने धुँवा परिक्षणका लागि विभागले ती उपकरणहरु ल्याउन लागेको विभागका प्रवक्ता तुलसीराम अर्यालले जानकारी दिए । उनले आगामी असारमा उपकरण आउने र सोही महिनामा यातायात कार्यालयका साथै ट्राफिक प्रहरीलाई समेत उपकरण सञ्चालनका विषयमा तालिम दिइने बताए ।

सरकारले आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकासहित मुलुकभरका सबै महानगरपालिका र उपमहानगरपालिकाभित्र सञ्चालनमा आएका सवारी साधनमा हरियो स्टीकर अनिवार्य लागू गर्ने निर्णय गरेसँगै ती मेसिनहरु खरिद गरिएको छ । सहरी जनसंख्या बढ्दै जाँदा लगभग सोही अनुपातमा वृद्धि भएका सवारी साधनले फाल्ने धुँवाका कारण अहिले मुलुकका मुख्य सहरी इलाकाका साथै प्रदुषित सहरको रुपमा रुपान्तरण हुँदै गएका छन् । 

यातायात साधनबाट निस्कने धुँवाका कारण वायु प्रदुषणमा अत्यधिक मात्रामा असर गरेपछि  कार्बन मोनोअक्साइड, हाइड्रो कार्बन, नाइट्रोजन अक्साइडको मात्रा मापन गरिने छ । सोहीअनुसार हरियो स्टिकर अनिवार्य गरिने विभागले जनाएको छ । साउन १ गतेदेखि विभागले हरियो स्टिकर प्रयोग गर्न अनिवार्य व्यवस्था लागू गर्दै छ । त्यसका लागि उपकरण खरिद गरिएको छ । 

पुराना र अन्य सवारी साधनबाट निस्कने धुँवा तथा प्रदूषण नियन्त्रण गर्ने लक्ष्य विभागले राखेको छ । विभागले गत वैशाख १ गतेदेखि नै ‘प्रदूषण मापदण्ड’भित्र नपरेका सवारी साधनलाई काठमाडौं उपत्यका र सम्पूर्ण महानगरपालिका तथा उप–महानगरपालिकाहरूभित्र सञ्चालनमा पूर्ण बन्देज लगाउने निर्णय गरेको थियो । आवश्यक पूर्वाधार खरिद गर्न ढिलाइ भएपछि विभागले साउन १ गतेदेखि यो व्यवस्था लागू गर्ने भएको छ । 

आगामी साउन १ गतेदेखि हरियो स्टिकर नभएका सवारीहरु सञ्चालनमा विभागले पूर्ण बन्देज लगाउने छ । हरियो स्टिकर लगाएका सवारी साधनहरु वातावरण अनुकुल मानिन्छन् । अहिले पनि हरियो स्टिकर प्रयोग गरेर सवारी साधनहरु सञ्चालन हुने भए पनि त्यो तेति प्रभावकारी मानिएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै