• २०८१ बैशाख ८ शनिबार

राजधानीमै लामो दूरीका सवारी साधन पाउन मुस्किल

kharibot

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन नसक्दा सडकमा सवारी साधन पाउन मुस्किल हुन थालेको यात्रुको गुनासो छ । 

विभागले सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन कुनै काम नगरेको सडकमा सवारी साधन कुरिरहनुभएका रामचन्द्र सिम्खडाले बताए । सरकारले एकाधिकार हटाएपछि काठमाडौँमै सवारी साधन पाउन नसकिएको उनको भनाइ छ । 

यातायात समिति खारेजीमा परेपछि समयसारिणी बन्द भएको छ । यसअघि समितिले राखेका कर्मचारीले समयसमयमा सवारी साधन गुडाउने गरेका थिए । हाल काठमाडौँका छोटो मार्गमा सवारी साधन पर्याप्त पाइन्छ ।

लामो मार्गमा भने सवारी साधन पाउन घण्टौँ कुर्नुपर्छ । बिहान बेलुकीको समय तालिकासमेत छैन । यसका कारण बिहानै चाँडो र बेलुकी अबेरसम्म त सवारी नपाएर हिँड्नु परेको दक्षिणकालीकी यात्रु रश्मिला पौडेल बताउँछन् । 

सार्वजनिक यातायात सुधारका पक्षमा आवाज उठाउँदै आएका रामबहादुर थापा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालय तानेपछि समस्या भएको बताउँछन् ।

‘यातायात एकाधिकार सिन्डिकेट लाई निरन्तरता दिन महानिर्देशकको सरुवा गरिएको हो, अन्यथा सुधारका पक्षमा काम गरेर सार्वजनिकरुपमा स्याबासी पाएका महानिर्देशकको सरुवा किन गरियो ?’, उनले भने । 

यातायात व्यवस्था कार्यालयले ‘रुट परमिट’ दिए बाहेकका स्थानमा पनि पछिल्लो समय सवारी साधन चल्न थालेका छन् । यसको अनुगमन गर्न नसकिएको विभागका प्रवक्ता तुलसीराम अर्यालले बताउनुभयो । यस्ता गुनासा आउन थालेकाले अनुगमन गर्ने तयारी भएको उनले सुनाए । 

मन्त्रालयले गठन गर्ने भनी सार्वजनिक गरिएको कार्यदलले प्रतिवेदन दिएपछि यातायात क्षेत्रका धेरै समस्या समाधान हुने विभागले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै