• २०८१ बैशाख १२ बुधबार

आयल निगमद्वारा अमलेखगंजबाट ट्याँकरमा लकिङ प्रणाली सुरु

kharibot

बारा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बोक्ने ट्याँकरहरुमा लकिङ प्रणाली शुरु गरेको छ । 

बाराको अमलेखगंजस्थित नेपाल आयल निगमको मध्यमाञ्चल क्षेत्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर र निगमका कार्यकारी निर्देशक शुशिल भट्टराईले संयुक्त रुपमा लकिङ प्रणालीको शुरुवात गरेका हुन् । 

भारतको रक्सौल र बरौनीबाट लोड भएर अमलेखगंज स्थित क्षेत्रीय डिपोमा आउँने ट्याँकरहरुबाट हुँने पेट्रोलियम पदार्थको चुहावट नियन्त्रणका लागि निगमले लकिङ प्रणाली शुरु गरेको हो । 

बाराका प्रमूख जिल्ला अधिकारी विजयनारायण मानन्धरले लकिङ प्रणालीको शुरुवात गर्दै नेपाल आयल निगमले शुरु गरेको नयाँ प्रविधिले चुहावट नियन्त्रण र लागत कम गर्न मद्दत पुग्ने भन्दै आयल निगमको कार्यको प्रशंसा गरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक शुशिल भट्टराईले लकिंङ प्रणाली अब सबै ट्याँकरहरुमा लागु गरिने जानकारी दिए । हाल रक्सौल र बरौनीबाट लोड हुँने ट्याँकरहरुमा शुरु गरिएको यो प्रविधिलाई अन्यत्र पनि लागु गरिने उनले बताए । 

रक्सौलबाट अमलेखगंज , पोखरा , काठमाण्डौं , जनकपुर लगायतका क्षेत्रमा समेत पेट्रोलियम पदार्थ जाने गरेको र चुहावट प्रमुख समस्या देखिएकाले लकिङ प्रणालीको आवश्यक्ता रहेको बताए । 

नेपाल आयल निगम शुद्धिकरण अभियानमा रहेको र आन्तरिक सुधारका लागि चालिएको यो कदममा असहयोग गर्ने जोसुकैलाई पनि कारवाही गरिने कार्यकारी निर्देशक भट्टराईले बताए । ‘हामि आन्तरिक सुधारको अभियानमा छौं, यसमा असहयोग गर्न खोजे निगमका कर्मचारी , ढुवानी व्यवसायी र अन्य पक्षलाई हामी कारवाहीको दायरामा ल्याउँने छौं , यस कारण सबैले आयल निगमको अभियानलाई सघाउँन आवश्यक छ’कार्यकारी निर्देशक भट्टराईले भने ।

नेपाल आयल निगमले थालेको लकिङ प्रणालीलाई व्यवस्थित बनाउँने कार्यमा सहयोग गर्न कार्यकारी निर्देशक भट्टराईले सम्बद्ध सबै पक्षलाई आग्रह गरे । 

नेपाल आयल निगमको मध्यमाञ्चल क्षेत्रीय प्रमुख प्रदिप यादवको सहजीकरणमा सम्पन्न कार्यक्रममा भारतीय आयल निगमका एस.ए.खान , एस.एस.वोस , एस.श्रीवास्तव , नेपाल पेट्रोलियम डिलर्स एशोसियसनका अध्यक्ष लिलेन्द्र प्रधान , एशोसियसनका महासचिव विश्व अर्याल , बाराकी प्रहरी प्रमुख मीरा चौधरी , मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाकी प्रमुख किरण बज्राचार्य , नेपाल आयल निगमका आपुर्ती विभागका निर्देशक विरेन्द्र गोईत लगायतको उपस्थिती रहेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै